झर्रोटर्रो : हनिमुन डे

झर्रोटर्रो : हनिमुन डे

नेकपा माकेका सुप्रिमो र नेपाली काङ्ग्रेसका डेउडापतिका बीचमा भएको भद्रसहमति अनुसारको नौमहिने आयु बोकेर निर्माण भएको नेपाल सरकारले गजबसँग आफ्नो सयदिने हनिमुन डे पुरा गरेको छ । विभिन्न किसिमका बिरोध र चुनौतीहरूको सामना गर्दै सत्ताको भत्ता डकारी रहेको सरकारले आफूले गरेका कामहरूको फेहरिस्त जनताका सामू राख्नका लागि पत्रकार भेटघाटको आयोजना ग¥यो । सयदिन पुगेकै अवसरमा डाकिएको पत्रकार भेटघाटमा सरकारले मन्त्रीहरू, सचिवहरू र सत्तापक्षका केही माननीय हनुमानहरूलाई साक्षि राखेर पत्रकारहरूका बीचमा हनिमुन डेको कुटिरो खोलेर सबै कुरा देखायो ।

पत्रकारहरूले खचाखच भरिएको आफ्नो कार्यकक्षको सभाहलमा प्र.म. हस्याङफस्याङ गर्दै पसे । बेलुका ४ बजेका लागि भनेर पत्रकारहरूलाई बोलाइएको थियो । आफूभने एक घण्टा ढिलो गरी ५ बजे मात्र सम्बोधन कक्षमा आए । निकै हतारमा भित्र पसेका प्र.म. आफ्नो कुर्सीमा बसे र पत्रकारहरूलाई आफ्ना सयदिने हनिमुनको कुटुरो कोटको खल्तीबाट निकाले । कुटुरो बाचन गर्नु भन्दा पहिला मौखिक रूपमै केही कुरा भने ।

‘मने हेर्नुस पत्रकार मित्रहरू

मैले तपाइँहरूलाई आज ४ बजे बोलाएको थिएँ तर म ५ बजे मात्र आइपुगेँ । यसले सरकार कति व्यस्त छ जनताको काम गर्न भन्ने कुराको पुष्टि गर्च । यो नै उपलब्धीको पहिले कास्टिङ हो । तपाइँ पत्रकारहरूले त्यसै काउछो लागेझैँ बुरुक्क बुरुक्क उफ्रिएर नानाथरीको उट्पट्याङ कुरा लेख्नुन्च । म ऐले पनि धेरैलाई भेटेर, कुराकानी गरेर, भाषण गरेर आएँ । बोल्दा बोल्दा म थाकेर पनि तपाइँहरूसँग कुरा गर्न आएको छु । यो दोस्रो र महत्वपूर्ण उपलब्धी हो ।’ यति भनिसके पछि उनले सरकारका हनिमुने कुटुरो खोले र बाचन गर्न थाले ।

‘पत्रकारहरू !

तपाइँहरू खाली सरकारको विरोध मात्र गर्नुहुन्च । म प्रमको हैसियतले के भन्चु भने तपाइँहरूले विरोध मात्रै होइन समर्थन गर्ने कला पनि सिक्नुस् । तपाइँहरूले लेख्न त जान्नुहुन्च तर सरकारको समर्थन गर्न जान्नुहुन्न । अब समर्थन गर्न पनि सिक्नुस् । म गणतन्त्र सरकारको पहिलो प्रधानमन्त्री भएको नाताले पनि यतिखेर दोस्रो पटक प्र.म.को जिम्मेवारीमा आएदेखि निकै चुनौती थपिएको छ ।

चारैतिर शत्रु नै शत्रुले घेरेका छन् । पहिला शत्रुले नेतालाई घेराबन्दी गर्दा कार्यकर्ताले छाती थापेर नेताको सुरक्षा गर्थे । हेडक्वार्टर ट्वाइलेट जाँदा पनि सुरक्षामा खिटिएका जनमुक्ति सेना र कार्यकर्ताहरूले ट्वाइलेटको चारैतिरबाट सुरक्षा गर्थे । यतिखेर कोही कार्यकर्ताले भनेको समेत टेर्दैनन् । नेताका गालामा थप्पड हान्दा पनि टुलुटुलु हेरेर रमाउँचन् । म कति जोखिमका बीचमा काम गरिरहेको छु ।’ यति भन्दा प्र.म.निकै भावुक पनि भए । बिगत सम्झे र गला अवरुद्ध पारे । सम्हालिँदै हातमा समाएको हनिमुने कुटुरो पढ्न थाले ।

‘तपाइँहरू सरकारले सयदिनसम्म केही गरेन भनेर आलोचना मात्रै गर्नुहुन्च । वास्तवमा मेरो अनुभवमा के छ भने तीन सय दिनमा पनि गर्न नसक्ने काम सरकारले सय दिनमै गरेको छ । यो हनिमुन डेको सुरुआतमै मैले गोत्रानुसारका मन्त्रीहरू अर्थमन्त्रीलाई चाइना र गृहमन्त्रीलाई भारत पठाएर दुई ठूला छिमेकीहरूसँगको सम्वन्ध सुधार गरेको छु । त्यसपछि म हाम्रा मुक्तिदाता ठूल्दाइको देश भ्रमण गरेर उनीहरूको अशिर्वाद थापेर आएँ । २५ बुँदे सहमती मार्फत् यस अघि भएका दुई देशबीचका सन्धि सम्झौता दृढतापुर्वक कार्यान्वयन गर्ने भनेका छौँ । यो पनि महत्वपूर्ण उपलब्धी हो । त्यस लगत्तै गोआमा पुगेर चाइना र भारतका बडेहस्तीहरूसँग हात मिलाएर उनीहरूलाई सिधा सिधा हेरर आएको छु ।

अझ चाइनाका बडेहस्तीले त म बसेकै ठाउँमा पुगेर मलाई भेट दिए । यसले हाम्रो सम्वन्ध उच्च स्तरमा पुगेको छ । यो काम पनि सयदिन भित्रै भएको छ । त्यसपछि हामीले भारतीय महामहिमलाई हाम्रो देशमा भव्यरूपमा लम्पसार परेर षाष्टाङ्ग प्रणाम ग¥यौँ, स्वागत, सत्कार र सम्मानमा २१ तोपको सलामी दियौँ । काठमाण्डुमा कफ्र्यु लगायौँ, देश पुर्ण रूपमा बन्द गरेर ठप्प पा¥यौँ । यो निकै महत्वको विषय थियो ।

यति मात्रै होइन उपलब्धीका पनि बहुआयाम छन् । हामीले संविधान संसोधन गरेर अबदेखि अङ्गीकृतलाई पनि देशका सम्वैधानिक पदमा पुगेर शासन गर्ने अवसर दिने वाचा गरेका छौँ । यसो भयो भने सुगौली सन्धिदेखि अर्धऔपनिवेसिक अवस्थामा रहेको हाम्रो मुलुक पूर्णरूपमा उपनिवेशिकमा फड्को मार्ने छ । छलाङ हान्ने छ । यो इतिहासकै सबैभन्दा ठुलो उपलब्धी हुने छ । यो कुरा त हुन्चै हुन्च । अब कोइ माइकालालले पनि रोक्न सक्ने छैन । यसो गर्नु हाम्रा लागि निकै गौरवको कुरो हो र यो आवश्यक पनि छ ।

अहिलेसम्म हामीलाई निर्देशन गरेर आएका मित्रहरूलाई प्रत्यक्ष रूपमा उनीहरूलाई नै सत्ता सुम्पिदिएपछि हामीलाई वैशाखी टेकेर सत्ता चलाउने झन्जट पनि रहँदैन । यो काम अहिलेसम्म कसैले गर्न सकेको थिएन । त्यहि भएर मैले तीनसय दिनको काम सयदिनमा नै सम्पन्न भएको छ भनेको हुँ । सैद्धान्तिक रूपमै यति ठूला उपलब्धी हासिल गरेका छौँ । यसलाई बुझ्ने आत्मसात गर्ने गिदीको विकास गर्नु जरुरी छ ।

पत्रकार मित्रहरू
यसका अतिरिक्त दैनिक मन्त्रालयहरू खोल्ने, भेटघाटमा आएकाहरूलाई भेट दिने, खादा ओढ्ने, माला लगाउने काम भएका छन् । विभिन्न सेमिनार र गोष्टीहरूमा भाषण गर्ने, उद्घाटन र सिलान्यास गर्ने, तलव भत्ता खाने खुवाउने जस्ता दैनन्दिनका अनगिन्ति काम पनि सम्पन्न भएका छन् । यो सयदिनमा न्युनतम पनि सय पटकसम्म त प्र.म.को हैसियतबाट म ट्वाइलेट पनि गएको छु । कयौँचोटी खोकेको र हाच्छ्युँ गरेको छु । बेलुका अलिकता रेडलेबल नलिइकन त म सुत्नै सक्दिन । त्यति व्यस्त भएर सरकारको कार्य सम्पादन गरेको छु ।’

यसरी उनले मन्तव्य दिँदै जाँदा मन्त्रीहरू, आफ्ना पार्टीका सांसदहरूले जोडले ताली बजाएर समर्थन गरे । पत्रकारदीर्घामा एकछिन निकैबेर हाँसोको फोहरा चल्यो । पत्रकारहरू खासखुस गर्न थाले । कोहीले प्रश्न सोध्नका लागि मुख उध्याउन थाले । यो दृश्य देखेर प्र.म.निकै हौसिए । रौसिए र केही सम्झँदै आफ्ना कुरा अघि बढाए ।
‘तपाइँहरूसँग मेरो केही गुनासो पनि छ । हुन त मैले सरकारको जिम्मेवारी सम्हालेदेखि तपाइँहरूलाई ककटेलको व्यवस्था गर्न सकेको छैन । यसमा मलाई अलिकता खिन्नताको महसुस पनि भएको छ ।

सुरुमै तपाइँहरूलाई ककटेलको व्यवस्था र अलिकता दशैँ तिहारमा खर्चपर्चको जोहो गरिदिन पाएको भए सायद तपाइँहरूले सरकारको आलोचना मात्र पनि गर्नुहुन्थेन भन्ने मलाई लाग्च । खयर जे होस् यसमा मलाई दुःख पनि छ । आगामी दिनमा त्यसको व्यवस्था पनि गरौँला । मैले यहाँ भन्न खोजेको कुरो के हो भने तपाइँहरूले त समाचार लेख्नुहुन्च, छाप्नुहुन्च, रेडियो टिभिबाट प्रशारण गर्नुहुन्च । तपाइँहरूलाई त भन्न, समात्न र ठेँडुकोमा हाल्न पनि सकिन्च । तर यो फेसबुक, टुइटर केकेजाति भन्नेले पो हैरान परेसान गरेका छन् । संसारको जुनसुकै कुनामा बस्यो अनि अन्ठसन्ठ तथानाम लेखेर हाल्दिन्चन् र त्यो भाइरल बनेर सबैलाई सताउँच । अझ मेरो त खोइरो नै खेनेर हैरान पारिसक्यो । त्यसलाई ठिक पार्ने जुक्ती तपाइँहरूले पनि खोजिदिनु प¥यो भन्ने मेरो आग्रह छ ।’
२७ कार्तिक २०७३

kailubraha73@gmail.com