‘‘साँच्चै भन्ने हो भने माक्र्सवाद कुनै जीवनहीन जडसूत्र नभएकोले, कुनै परिपूर्ण, बनिबनाऊ, अनुलंघनीय सिद्धान्त नभएकोले, बरु कार्यमा जीवन्त पथप्रदर्शक भएकोले यो सामाजिक जीवनका अवस्थाहरुमा आश्चर्यजनक ढंगले हुने आकस्मिक परिवर्तनको प्रतिबिम्बनसँग जोडिएको हुन्छ”–लेनिन, माक्र्सवादको विकासका खास विशेषताहरु–१९१०, प्रगति प्रकाशन मास्कोद्वारा १९६८ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १७, पृ. ४२ ।
१) विषय प्रवेश
कम्युनिष्टहरु माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दछन् । यो मार्गदर्शक सिद्धान्तले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ । मार्गनिर्देशक मान्ने र त्यसलाई लागू गर्ने कुरामा फरक प¥यो भने त्यो मालेमावादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नभएर यान्त्रिक तथा अधिभूतवादी आदर्शवाद हुन्छ । मार्गदर्शक सिद्धान्त अनुसार ठोस परिस्थितिको ठोस विश्लेषण भएन भने ठोस योजना नबन्दो रहेछ र क्रान्तिको लागि आएको अवसर पनि गुम्दो रहेछ । त्यसकारण माक्र्सले माक्र्सवादी सिद्धान्तको विकास मात्र गर्नुभएन, बरु विकसित सिद्धान्त लागू गर्न पनि ज्यान फालेर लाग्नुभयो । सन् १८४८–१८५० को फ्रान्सेली वर्गसंघर्षमा उहाँले निकै जोडले भाग लिनुभयो । तर त्यो असफल भयो । यो घटनाको समीक्षा गरेर उहाँले दुई पुस्तक लेख्नुभयो– एक, ‘फ्रान्समा वर्गसंघर्षः १८४८–१८५०’, दुई, ‘लुई बोनापार्टको अठारौं ब्रुमेर’ । त्यसरी नै १८७१ को पेरिस विद्रोह सफल पार्न उहाँले निकै परिश्रम गर्नुभयो र त्यो विद्रोह सफल पनि भयो । तर त्यो ७२ दिनभन्दा बढी टिक्न सकेन । यसलाई उहाँले ‘फ्रान्समा गृहयुद्ध’ लेखेर समीक्षा गर्नुभयो । त्यसरी नै लेनिनले रुसको देश, काल र परिस्थितिमा माक्र्सवादको प्रयोग र विकास गर्ने निकै ठुलो प्रयत्न गर्नुभयो । १९०५ को विद्रोह असफल भयो । रुस र विश्वको परिस्थितिलाई पछ्याउदै जाँदा पहिलो विश्वयुद्ध चलिरहेको बेला १९१७ को अक्टोबरमा त्यो कडी भेटियो । लेनिन र स्टालिनको नेतृत्वमा विश्वमा पहिलो वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भयो । त्यो विश्वसर्वहारावर्गको सदरमुकाम बन्यो । चीनमा माओले ४ मई, १९१९ को युवा विद्रोहमा भाग लिनुभयो । १९२१ मा चीन कम्युनिष्ट पार्टीको स्थापना भयो । १९२४ देखि उहाँले चिनियाँ क्रान्तिको पहलकदमी गर्नुभयो । चिनियाँ परिस्थितिको ठोस विश्लेषण गर्दै १ अक्टोबर १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र माओकै भाषामा ‘समाजवादतिर संक्रमण भयो’ । ल्यु साओची र तेङ साओपिङले ‘चीनमा पिछडिएको अर्थतन्त्र र उन्नत समाजवादी व्यवस्था अन्तरविरोधी’ हुने भएकाले अझै पूँजीवादको विकास गर्नुपर्दछ भन्दै वैज्ञानिक समाजवादी कार्यक्रममा बाधा पु¥याए । १९५६ देखि माओको नेतृत्वमा स्पष्ट रुपले समाजवादी कार्यक्रम गुणात्मक बन्यो । पुरानो विचारधारा, विरासत, संस्कृति, आनीबानी र चालचलन विस्थापन गरी नयाँ विचारधारा, विरासत, संस्कृति, आनीबानी र चालचलन स्थापना गर्न माओकै नेतृत्वमा १९६६ देखि महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरियो । यो क्रान्तिले विश्वक्रान्तिका लागि नयाँ हतियार प्रदान ग¥यो ।
नेपालमा कमरेड पुष्पलालको नेतृत्वमा २२ अप्रिल सन् १९४९ अर्थात् १० बैशाख वि.सं. २००६ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरियो । त्यसपछि एकातिर कम्युनिष्ट पार्टीको नेतृत्वमा किसान संघर्ष अघि बढ्न थालेको थियो भने अर्कोतिर नेपाली काँग्रेसले मुक्तिवाहिनी बनाएर सशस्त्र संघर्ष समेत अघि बढाएको थियो । उक्त संघर्ष अघि बढिरहेकै बेला राजा त्रिभुवन सपरिवार दिल्लीमा शरण लिन पुगे । जहाँनिया राणा शासनका मोहनशम्सेरलाई पनि दिल्ली बोलाइयो । तत्कालीन भारतीय प्रधानमन्त्री नेहरु, त्रिभुवन र मोहनशम्सेरबीच त्रिपक्षीय सम्झौता भइसकेपछि मात्र नेपाली काँग्रेसबाट विपीलाई बोलाएर त्यो सम्झौताको साँक्षी बनाइयो । पश्चिम नेपालको एउटा जनबोली सावित भयो–‘गर्ने–काज्ने पछ्यौंरा, टिमुरगाँडा अघ्यौंरा’ । आन्दोलनको अगुवाई गर्ने नेपाली काँग्रेस पछि प¥यो र जसका विरुद्ध संघर्ष भयो तिनै टिमुरगाँडा मोहनशम्सेर र त्रिभुवन क्रमशः प्रधानमन्त्री तथा राजा भए । बल्लबल्ल वि.पी. गृहमन्त्री भए । यो दिल्ली संझौताको विरोध गर्ने डा. के.आई. सिंहलाई सिंहदरबारभित्र थुनामा राखियो । उनले त्यहाँ रहेका एकहजार दुईसय सुरक्षाकर्मीलाई विश्वस्त बनाएर सिंहदरबार कब्जा गरे । त्यतिबेला कम्युनिष्ट पार्टीले कुनै पहल लिन सकेन । के. आई. सिंह टिक्न नसकेर चीनमा शरण लिन पुगे । वि.सं.२००८ देखि २०१२ सम्म पूर्वी नेपालको तराईमा स्वयं पुष्पलाल तथा निरञ्जनगोविन्द बैद्यको नेतृत्वमा र सुदूर पश्चिममा भिमदत्त पन्तको नेतृत्वमा धेरै महत्वपूर्ण किसान विद्रोहहरु भए, ती किसान विद्रोहहरुलाई हामी कम्युनिस्टहरुले न त क्रान्तिमा बदल्न सक्यौँ, न कुनै गतिलो समिक्षा गरेका छौँ । २०२८ सालमा पूर्वका क्रान्तिकारी युवाहरुले झापा विद्रोह गरे । त्यस विद्रोहका वाहकहरुले निम्नपूँजीवादी रुझान र यान्त्रिक कमजोरी गर्न सक्छन् । त्यस झिल्कोलाई आगोमा विकास गर्नुको साटो ‘उग्रवामपंथी भड्काव’ भनेर मोहनविक्रमको नेतृत्वमा पानी खन्याइयो । युवा विद्यार्थीहरुले २०३५÷३६ सालको आन्दोलन अघि बढाए । त्यसमा शिक्षक र अन्ततः आम जनता सहभागी भएपछि त्यो जनान्दोलन बन्यो । राजा विरेन्द्रले जनमत संग्रह घोषणा गर्न बाद्य भए । त्यतिबेला सापेक्ष रुपमा नेपाल कम्युनिस्ट पार्टी बलियो नै थियो । त्यसलाई क्रान्तितिर मोड्ने प्रयत्न नै गरिएन । २०४५÷४६ मा अर्को शक्तिशाली जनान्दोलन भयो । हामीले राजतन्त्रका विरुद्ध उठेको विद्रोहलाई राजा, ‘वाम’ र काँग्रेसको चारो बन्न दियौँ । यसबाट थोरै शिक्षा लिएर क्रान्तिकारीहरुबीच एकता गर्दै २०५२ देखि २०६३ सम्म क्रान्तिकारी कम्युनिस्टहरुले पहल लिई महान् जनयुद्ध संचालन गरे । यसमा नेकपा(माओवादी) भित्रैबाट गद्दारी भयो । माओवादीभित्रै घुसेका केही नेताहरुले अन्ततः भारतीय विस्तारवादसँग आत्मसमर्पण गरे ।
यसपाली जेनजेड “विद्रोह”ले दुई दिनमै संसार हल्लायो । देश जलेर खरानी भयो । यसमा हामी कम्युनिस्टहरु पूरै अलमलमा प¥यौं । साम्राज्यवादी तथा विस्तारवादी, यथास्थितिवादी र प्रतिगामीहरुले यो आन्दोलनलाई उपयोग गरे । अन्ततः जेनजेड पुस्ताका युवाहरुको रगतपसिना यथास्थितिवादी जेनएक्सको हातमा आएर अड्किएको छ । अब क्रान्तिकारी नेपाली कम्युनिस्टहरुले नेपाली जनाआन्दोलन, जनसंघर्ष र जनयुद्धको इतिहासको गहिरो समीक्षा गरी वर्तमान परिस्थितिको ठोस विश्लेषणसहित क्रान्तिको कार्यदिशालाई पूर्णता दिएर अघि बढ्नुपर्दछ ।
२) जेनजेडका ऐतिहासिक जराहरु
हंगेरीमा जन्मेका र जर्मनी तथा बेलायतमा काम गरेका समाजशास्त्री कार्ल म्यानहाइमले सन् १९२८ मा ‘पुस्ता सम्बन्धी समस्या’ शिर्षकको पुस्तक लेखेपछि पुस्ता वा जेनेरेशनको चर्चा शुरु भएको थियो । लामो अन्तरालमा सोभियत संघ विघटनपछि १९९१ तिर विलियम स्ट्रस र निल होवेले ‘पुस्ताहरु र अमेरिकी भविष्यको इतिहास’ लेखेपछि जेनेरेशन बढी चर्चामा आउन थाल्यो । सन् १९०१–१९२७ भित्र जन्मेर अत्यधिक महामन्दी र अत्यधिक संकट बेहोरेको पुस्तालाई ‘महानतम पुस्ता’(द ग्रेटेष्ट जेनेरेशन) भनिएको छ । १९२८–१९४५ सम्म जन्मेको पुस्ताले दोश्रो विश्वयुद्ध बेहो¥यो । यसले बढी परम्परागत र कानूनी मान्यतामा रही परिवर्तन खोजेकोले यसलाई मौन पुस्ता (साइलेन्ट जेनेरेशन) भनिएको छ । १९४६–१९६४ भित्र र दोश्रो विश्वयुद्धपछि जन्मेको तथा समाजप्रति सक्रिय पुस्तालाई बेबीवुमर्श भनिएको छ । त्यसबेलाको ब्यापक जन्मदरमा जन्मेको हुनाले त्यसलाई वुमर्श नाम दिइएको हो । १९६५–१९८० भित्र जन्मेको पुस्ता जो स्वतन्त्र तथा प्रविधि सम्बद्ध छ त्यसलाई जेन एक्स अर्थात् एक्स पुस्ता भनिन्छ । सन् १९८१–१९९६ भित्र डिजिटल युगमा हुर्केका र सामाजिक चेतना भएका पुस्तालाई सहश्राब्दी वा जेन–वाई भनेर चिनिन्छ । १९९७–२०१२ सम्म जन्मेको, इन्टरनेट लगायत सामाजिक सञ्जालमा डुबेको पुस्तालाई जेनजेड भनिएको छ । जन्मेदेखि नै विज्ञान र प्रविधिले घेरिएको २०१३ देखि हालसम्मको पुस्तालाई जेन–अल्फा भनिन्छ । यसरी पुस्ता विभाजन गरेर एउटा पुस्ताका विरुद्ध अर्कोलाई भिडाउनु भनेको वर्गसंघर्षलाई गोलमटोल पार्ने साम्राज्यवादी राजनीतिकै जारी रुप हो भन्ने कुरा भने हामीले बुझ्नैपर्छ । यसमा युवाहरु कहीं पनि अलमलमा पर्न हँुदैन । तर जेनजेड पुस्ता नै सबभन्दा ऊर्जाशील र सक्षम पुस्ता हो । यस पुस्ताबारे माओले भारी महत्व दिदै भन्नुभएको छ ः
“युवाहरु हो ! यो संसार तिमीहरुकै हो, हुन त हाम्रो पनि हो, तर अन्तिम विश्लेषणमा तिमीहरुकै हो किनभने तिमीहरु भनेका बिहान आठ–नौ बजेको सूर्य हौ, हामी अस्ताउदो सूर्य हौं । तिमीहरु फक्रँदो फूलहरु हौ, हामी झर्दो फूलहरु हौं ।” यो सम्बोधन माओले १९५७ मा पूर्व सोभियत संघको मास्कोमा गएर गर्नुभएको थियो जसबेला अन्तरराष्ट्रिय रुपमा साम्राज्यवादद्वारा निर्देशित आधुनिक संशोधनवाद र क्रान्तिकारी कम्युनिष्टहरुबीच भीषण दूईलाइन संघर्ष चलिरहेको थियो । माओको यो सम्बोधनमा युवाहरुभित्र विचारधारा विकास गर्ने बलवान ऊर्जा रहेको हुन्छ जुन हतियारले संशोधनवादी विचारधारालाई परास्त गर्दछ ।
जेनजेड पुस्ताले तेश्रो सहश्राब्दीपछि विश्वब्यापी आन्दोलन चलाउदै आएको छ । अरबियन देशहरुमा कलर मुभमेन्टका नामले प्रख्यात छ । सन् २०१० मा यो ट्युनिसियाबाट शुरु भयो । यसलाई ‘अरब वसन्त’ पनि भनिन्छ । यो इजिप्ट, लिबिया र सिरियासम्म फैलियो र २०१२ सम्म चल्यो । भ्रष्टाचार, बेरोजगारी, मानव अधिकार उल्लंघन र सत्ता दुरुपयोग यसका मुद्दाहरु थिए । यसैगरी २०११ मा अमेरिकाको न्यूयोर्कमा ‘अकुपाई वालस्ट्रिट’ नामक युवा आन्दोलन भयो । यो एक प्रतिशत र उनान्सय प्रतिशतबीचको असमानता, धनको श्रोतमा एकाधिकार र प्रणालीगत भ्रष्टाचार विरुद्धको आन्दोलन थियो । यो आर्थिक–सामाजिक आन्दोलन संसारभरी फैलियो । ‘हामी उनान्सय प्रतिशत’ यसको नारा थियो । हङकङमा चीनको नियन्त्रणले गर्दा अभिव्यक्ति स्वतन्त्रता हनन् भयो भन्दै त्यहाँका युवाहरुले २०१४–२०२० सम्म ‘छाता आन्दोलन’ चलाए । आन्दोलनलाई नियन्त्रण गर्न अश्रुग्यास र चिल्ली स्प्रे प्रयोग भएकोले त्यसलाई रोक्न छाता प्रयोग गरियो । यही कारणले यसलाई छाता आन्दोलन भनियो । २०१८ मा ग्रेटा थन्वर्ग नामक युवतीले स्वीडेनको संसदबाहिर जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई लिएर स्कूल हड्तालको आह्वान गरिन् र धर्ना बसिन् । २०२० मा अमेरिकामा जातीय विभेद र प्रहरी दमनका विरुद्ध ‘ब्ल्याक लाइब्स म्याटर’ नामक युवा आन्दोलन भयो । सामाजिक सञ्जालबाटै फैलिएको यो आन्दोलनले विश्वब्यापी समर्थन प्राप्त गरेको थियो । २०१९–२०२० मा इण्डोनेशियाका युवा विद्यार्थीहरुले संसदले भ्रष्टाचार नियन्त्रण आयोगको अधिकार घटाउने कानून पारित गरेपछि ‘रिफर्मासी डिक्रप्सी’(सुधारमा भ्रष्टाचार) नामक आन्दोलन चलाए । भ्रष्टाचार, प्रेस स्वतन्त्रता हनन्, वन विनाश र जलवायु परिवर्तन त्यसका मुद्दाहरु थिए । २०२०–२०२२ मा फिलिपिन्सका युवाहरुले कथित आतंकवादी ऐनका विरुद्ध ‘जंक टेरर ल’ नामक आन्दोलन चलाए जसलाई ‘युवा प्रतिरोध वा भावी फिलिपिन्सका लागि शुक्रवार’ पनि भनिन्छ । यसरी नै नजिकै दक्षिण एशियाको श्रीलंकाका युवाहरुले २०२२ मा गहिरो आर्थिक संकटलाई लिएर ‘अरागलय’ (सिंहाली भाषामा विद्रोह) चलाए । यसका मुद्दाहरु विदेशी मुद्राको अभाव, इन्धन, खाना, औषधि आदि थिए । राष्ट्रपति गोटबाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षले राजीनामा दिई देश छोडेर भागेपछि क्रमशः राष्ट्रपति रणिल विक्रमसिंघे र प्रधानमन्त्री डिनेश गुणवर्दने भएका छन् । त्यो अरागालयबाट कुनै गुणात्मक परिवर्तन भएको थिएन । अर्को छिमेकी देश बांगलादेशमा पूर्व कर्मचारीका छोराछोरीले कोटा प्रणालीमा जागीर पाउने परम्परालाई लिएर २०२४ को जुलाईमा युवा विद्यार्थीहरुको अगुवाईमा विद्रोह भड्कियो । १५ वर्ष राज गरेकी शेख हसिना वाजेद विद्रोहको सामना गर्न नसकेर भारतमा शरण लिन पुगिन् । त्यहाँ पनि अमेरिकी सरकारको म्यागा सेसे पुरस्कार प्राप्त व्यक्ति मोहम्मद यूनुस प्रधानमन्त्री भए । कुनै गुणात्मक परिवर्तन भएन । यहाँ उल्लेखित आन्दोलनहरु नेपालमा जेनजेड विद्रोहका प्रेरकहरु हुन् । शासकहरुले देशका जनता तथा तिनका छोराछोरीको समस्या कहाँ पुगेको छ र उनीहरु वर्तमानमा के चाहन्छन् भन्ने कुरा बुझेनन् भने देशलाई स्वर्ग बनाइदिने युवाहरुले खरानी पनि बनाइदिन सक्छन् । यो कुरा हामी क्रान्तिकारीहरुले राम्रोसँग बुझ्न जरुरी छ ।
३) नेपालमा जेनजेड “विद्रोह”
वि.सं. २०८२ साल भाद्र २३ र २४ गते चलेको युवा विद्रोह शोषक वर्गको राज्यसत्ता ध्वस्त पारेर शोषितवर्गको राज्यसत्ता स्थापनार्थ भएको विद्रोह (ष्लकगचचभअतष्यल) होइन । यो त साम्राज्यवादले करीब सोह्र वर्षदेखि गर्दै आएको गुप्त अभ्यास, सरकारको सतही र अदूरदर्शी सामाजिक सन्जालमाथि रोक लगाउने निर्णय र बर्षौंदेखि थुप्रिएको भ्रष्ट्राचारको परिण थियो । गलतका विरुद्ध विद्रोह गर्नु नैसर्गिक अधिकार हो । यस विद्रोहको कारणबारे स्पष्ट पार्दै भाद्र २९ देखि आश्विन १ सम्म बसेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राजनीतिक परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा प्रेस वक्तब्य दिंदा कावा महासचिव गौरवद्वारा संश्लेषण गरिएको छ –
‘‘लामो समयदेखि थु्रप्रिएको भ्रष्ट्राचार; शोषित–पीडित नेपाली श्रमजीवी जनताले पूर्ण मुक्तिको आशा गरेको महान जनयुद्ध र १९ दिने जनाआन्दोलनबाट खाएको धोका; नवऔपनिवेशिक आर्थिक–सामाजिक स्थितिले जन्माएको दलाल तथा नोकरशाही पूँजीवाद र त्यसको राज्यव्यवस्था; कहालीलाग्दो बेरोजगारीका कारण विश्व श्रमबजारमा पोखिएको युवा रगत पसिनाद्वारा आर्जित विप्रेषणमा गरिएको शासकवर्ग र म्यानपावर कम्पनीका मालिकहरुको भोजभतेर; शिक्षा, स्वास्थ्य र संचारप्रदायी संस्थाहरुको निजीकरण र तिनको ब्रह्मलुट; आकाशिदो कालोबजारी; सरकारी बजेटमा केन्द्रदेखि स्थानीय तहसम्म लुटखसौट; निजामती तथा जंगीअड्डाहरुमा दृश्य तथा अदृश्य भ्रष्टाचार; डिजिटल युगमा सामाजिक संजालमाथि प्रतिबन्ध यो विद्रोहका लागि नियमिततामा जम्मा भएको बारुद हो भने यतिबेलै साम्राज्यवादबाट निर्देशित जेनजेडको एउटा समूहले आगो झोसिदिनु आकस्मिकता हो ।’’
एकपटक दार्शनिक प्रवर्ग नियमितता (चभनगबिचष्तथ) र आकास्मिकता(अयलतष्लनभलअथ) लाई बुझ्ने कोसिस गरौँ । यहाँ उद्धृत पार्टीको धारणामा उल्लेखित घटनाहरु नियमितताका अभिव्यक्तिहरु हुन् भने अकस्मात विस्फोट भए जस्तो लाग्ने जेनजेड “विद्रोह” आकस्मिकता हो । आखिर आकस्मिता भनेको नियमित घटनाहरुको क्रमभंगता, गुणात्मक छलाङ्, महाविपत्ति र रुपान्तरण हो । नियमितताको अध्ययन गहिरो र गतिशली भएन भने भावी दिनमा के होला भनेर अनुमान समेत गर्न सकिदैन । यसले गर्दा आकस्मिक घटनाहरुको परिणामले हामी आफ्नै छातीमाथि परेड खेल्दै गएको थाहा पाउन सक्दैनौं । हामीले वि.सं.२०७९ माघ १४ गते ‘रोजगारी अनुमति व्यवस्था’ (इपिएस्) अन्तर्गत ललितपुरको ग्वार्को बालकुमारी स्थित कोरियन भाषा केन्द्र अगाडि कोरियन भाषाका लागि परीक्षा दिने अनुमति नपाएको भन्दै युवाहरु भड्किएको घटनालाई पनि यसमा जोड्नुपर्छ । त्यस घटनामा सुजन राउत र विरेन्द्र शाह प्रहरीको लाठीचार्ज र गोलीबाट मारिएका थिए भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइएको थियो । अर्को घटना राप्रपाको नेतृत्वमा वि.सं.२०८१ चैत्र १५ गते काठमाण्डौको तीनकुनेमा घटेको थियो । त्यो पछि अनियन्त्रित भएर बानेश्वर, कोटेश्वर र जडीबुटीसम्म पुगेर लुटपाट तथा तोडफोडमा पुगेको थियो । यस घटनामा फोटो पत्रकार सुरेश रजकलाई जडीबुटीमा जलाएर मारिएको थियो भने प्रदर्शनकारी सविन महर्जन गोली लागेर मरेका थिए । जसरी यी घटनाहरुमा युवाहरु विद्यमान व्यवस्थाबाट आक्रोशित भएर आन्दोलित भए तर उनीहरुलाई देश नवऔपनिवेशिक बनाइरहेका साम्राज्यवादी तत्वहरुले आफ्नो कुत्सित स्वार्थमा भड्काए त्यसरी नै जेनजेड “विद्रोह” लाई साम्राज्यवादीहरुले आफ्नो स्वार्थमा भड्काएका छन् । यस घटनाले कम्युनिस्टहरुलाई नियमित घटनामा अद्यावधिक रहन र नियमितताको तापक्रम मापन गरीरहन सिकाएको छ । लेनिन नियमितताको तापक्रम मापन गर्न सिपालु भएकोले नै सफल हुनुभएको हो । त्यही कुरा माओमा पनि लागू हुन्छ ।
जेन–जेड वा समग्र युवा पुस्ता रुढीवादी संस्कार र सँस्कृतिमा टाँसिएको हुदैन, यो विज्ञान, प्रविधि, खासगरी सूचना प्रविधिसहित स्वच्छ रक्तसन्चार भएको पुस्ता हो । समाजशास्त्रीहरुले १३–२८ बर्षका पुस्तालाई यसमा राखेका छन् । यो युवा पुस्ताले नै समाजमा व्याप्त अन्धविश्वासलाई चुँडाल्न सक्छ र नयाँ–नयाँ आविस्कार गर्न सक्छ भन्दै माओले भन्नुभएको छ– “युवाहरुले बृद्धहरुलाई उछिनेका र उच्च प्रकारका शिक्षितलाई अशिक्षितले उछिनेका कैयौं उदाहरणहरु छन्”–आठौँ पार्टी महाधिवेशनको दोस्रो सत्रमा भाषण– १९५८ मे ८–२३, श्रमिकवर्ग प्रकाशन हैदरावाद भारतद्वारा सन् १९९५ मा प्रकाशित माओ चुनिएका रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ ८, पृ.७९ ।
उहाँले सयौँ युवाहरुको उदाहरण दिदै माक्र्स र लेनिनसम्म पुगेर भन्नुभएको छ –
‘‘माक्र्सले आफ्नो प्रौढ वा बृद्ध उमेरमा माक्र्सवादको सृजना गर्नुभएको थिएन, बरु आफ्नो युवा उमेरमा माक्र्सवादको सृजना गर्नुभएको थियो । जसबेला उहाँले कम्युनिस्ट घोषणापत्र लेख्नुभयो त्यसबेला उहाँ २९ वर्षको हुनुहुन्थ्यो । लेनिन १९०३ मा बोल्शेविकवाद स्थापना गर्दा ३२ बर्षका हुनुहुन्थ्यो’’–उही, पृष्ठ ८१ ।
माओका यी सबै भनाइहरुले मानिसको ऊर्जावान उमेर भनेको युवा उमेर नै हो भन्ने कुरा प्रमाणित गरेका छन् । तर माओले युवा भनेर जेनजेडलाई मात्र होइन, समग्र युवालाई सम्बोधन गर्नुभएको छ ।
यहाँ जेनजेड विद्रोहको कारक केपी ओली सरकार नै बन्यो । पहिले सांघाई मेला तथा ‘जापानी अतिक्रमणका विरुद्ध चिनियाँ जनयुद्धको प्रतिरोध र विश्व फासीवादी युद्ध विरोधी विजयको ८० औँ बर्षगाँठ’ मा भाग लिन ओली २०२५ को सेप्टेम्वर पहिलो हप्ता चीन पुगेका थिए । त्यहाँ चीनले सांघाईमा विश्वमेला र बेइजिङमा बिशेष सैन्य परेडको आयोजना पनि गरेको थियो । त्यस अवसरमा प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच तथा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको थियो । त्यहाँबाट प्रधानमन्त्री फर्केपछि मन्त्री परिषदको बैठकले दर्ता नभएका सामाजिक संजालका नेपालमा चलिरहेका धेरै जसो संचारमाध्ययमहरु बन्द ग¥यो । एकातिर चीनले आयोजना गरेको फासीवादी युद्धविरोधी समारोहमा अमेरिका तथा जापान विरोधीहरुसँग भेटघाट गरेका समाचारहरु प्रकाशनमा आएपछि पश्चिमा साम्राज्यवादीहरु उत्तेजित भए भने अर्कोतिर सामाजिक सञ्जालका धेरै जसो संचार माध्यमहरु बन्द भएपछि डिजिटल युगमा हुर्केर व्यस्त भएको जेनजेड पुस्ता आक्रोसित भयो ।
वि.सं. २०८२ को २३ र २४ गते, अर्थात् ८ र ९ सेप्टेम्बर २०२५ नेपालको इतिहासमा अविस्मरणीय दिन बन्न पुगे । लामो समयदेखि थुप्रिएको भ्रष्ट्राचार, वाक् तथा प्रकाशन स्वतन्त्रतालाई प्रमुख मुद्दा बनाएर जेनजेड पुस्ता स्वतस्फूर्त भाद्र २३ गते विद्रोहमा उत्रियो । सामाजिक संजालमै संगठन र संघर्षको योजना बनाएको यो पुस्ताको स्वतस्र्फूत तथा स्वतन्त्र विद्रोहलाई आफ्नो नियन्त्रणमा लिएर स्वार्थ सिद्ध गर्न पश्चिमा साम्राज्यवादी र दक्षिणको विस्तारवादी तत्वहरु त्यसमा शुरुकै दिनदेखि घुसपैठ भए । प्रतिगामी तत्वहरु गत बर्षको फागुनदेखि नै तयारीमा थिए । साम्राज्यवादी तथा विस्तारवादी र प्रतिगामी तथा प्रतिक्रियावादीहरु योजनाबद्ध लागेका थिए । २३ गते बानेश्वरमा एम्बुलेन्सबाट गोली चल्यो । त्यो गोलीबाट केही युवाहरु ढले । त्यसमा प्रहरीले अन्धाधुन्दा गोली चलायो । यसबाट सयौं घाइते भए र केही घण्टाभित्रै दर्जनांैको मृत्यु भएको घोषणा अस्पतालहरुले गर्न थाले । घुसपैठको पुस्टि निवर्तमान प्रधानमन्त्री र स्वतन्त्र रुपमा जनताको अभिव्यक्तिबाट पनि हुन्छ । घुसपैठ भएपनि र प्रहरीले गोली चलाएर भएपनि गोलीकाण्डको जिम्मेवार त सरकार नै हो ।
दोस्रो दिन भाद्र २४ गते जेनजेड विद्रोह ६ दर्जन शहिदहरुको रक्तबीजका रुपमा देशब्यापी बन्न जान्छ । त्यसको नेतृत्व र योजना भने साम्राज्यवादी तथा विस्तारवादी र प्रतिगामीहरुको हातमा जान्छ । संसदवादी नेताहरुका निवास र संसदवादी दलका कार्यालयहरु, मन्त्रीपरिषदको कार्यालय रहेको सिंहदरबारदेखि महानगर, नगर र गाउपालिकासम्म, सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म, भाटभटेनी लगायतका केही ब्यापारिक केन्द्रहरु, प्रहरी परिसरदेखि चौकीसम्म कैयांै स्कूल र कलेजहरु अग्निज्वालामा भष्म भएका छन् । कुनै पनि गैरसरकारी संस्थाहरु रहेका भवनहरु, कुनै पनि राजदुुतावासहरु, कुनै पनि दलाल पूजीपति र तिनका ब्यापारिक केन्द्रहरु, कुनै पनि भ्रष्ट नोकरशाहहरुका निवासहरु यो अग्निज्वालाको जिभ्रोले चाट्न पाएन । राज्यसत्ताको मेरुदण्ड सेना र सुरक्षा निकाय संसदीय नेताहरुलाई गिरफ्तार गरी ब्यारेकमा बन्द गर्नु बाहेक अरु सबैमा रमिते बन्यो । यसबाट प्रष्ट बुझिन्छ इमान्दार र स्वतस्फूर्त जेनजेड विद्रोह कसको हातको खेलौना बन्यो ।
२४ गते साँझदेखि सेनाले राज्यसत्तालाई आफ्नो नियन्त्रणमा लिन खोज्यो । सेनापतिद्वारा सम्बोधन गरियो । २५ गतेदेखि जेनजेडका वास्तविक नेताहरु ओझेलमा र अलमलमा पर्न थाले भने नक्कलीहरु र साम्राज्यवादबाट पालितपोषितहरुले दादागिरी प्रस्तुत गरेको देखियो । सरकार बनाउने प्रक्रियामा जंगी अड्डाबाट उनीहरुलाई नै बोलाएको देखियो । अझ उनीहरुलाई दुर्गा प्रसाईं र रास्वपा मार्फत आउनुहोस् भनेको पनि सुनियो । यस्तो बेला सेनाको परमाधिपति समेत रहेका राष्ट्रपति सुरक्षाका लागि भनेर ब्यारेकमा कैद थिए । वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपतिले ‘मलाई जेनजेड विद्रोहका नाममा मारे मार, म राजीनामा पनि दिन्न र संसद पनि विघटन गर्दिन’ भनेको कुरा बाहिर ल्याए । अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलको अडान, राज्यसत्ताका विभिन्न निकायमा रहेका देशभक्त र न्यायप्रेमीहरुको संघर्ष, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबीच आपसी संघर्ष तथा संझौताले देश यथास्थितिवादमा अड्केको छ । नेपाली जनताको सचेतनताको मात्रा बढेको छ । नेपाली जनता र नेपाली युवा प्रतिगमनकारी र साम्राज्यवादीहरुका चालबाट परिचित भएका छन् ।
४) जेनजेड “विद्रोह” का शिक्षाहरु
(क) सर्वप्रथम, जेनजेड “विद्रोह” लाई अभिनन्दन गरौं जसले नेपालको समग्र परिस्थितिलाई पर्दाफास गरिदिएको छ । दलाल संसदीय राज्यव्यवस्थाका अवयवहरु सरकार, सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र र कारागारका मुख्य–मुख्य अधिकारीहरु कसरी साम्राज्यवाद र विस्तारवादका दास हुँदा रहेछन् भन्ने कुरा चटकेहरुको पछि पनि दौडन पछि नपर्ने नेपालीहरुलाई राम्रोसँग थाहा भयो । अमेरिका, भारत र यूरोपेली गुप्तचर संस्थाहरु यी सत्ताका विभिन्न अवयवमा रहेका दासहरु मार्फत कसरी घरआँगनमै आएर खेल्दा रहेछन् भन्ने कुरा पनि ज्ञात भएको छ । यहाँको राज्यसत्ता गैरसरकारी संस्थाहरुको चंगुलमा नराम्रोसँग फसेको कुरा पनि हामी सबैलाई स्पष्ट भएको छ । जनयुद्ध र जनान्दोलनहरु ती साम्राज्यवादी र विस्तारवादीहरुको कब्जामा पर्दारहेछन् भन्ने कुरा पनि स्पष्ट भएको छ । विचरा जेनजेड युवाहरुको रगत–पसिना पानीमा मिलाउदा समेत उनीहरु हेरेकोहे¥यै भए । अब पनि हामी नेपाली जनता र जेनजेडले देशभित्र रवि लामिछाने र बालेन शाह जस्ता चटकेहरुको चटक पटक–पटक विभिन्न रुप तथा रंगमा प्रकट भइरहन्छ भन्ने कुरा नबुझीकन तिनकै पछि लाग्यौं भने हामी ती चटकेको नक्कली वस्तु किनिरहन्छौं र वेवकूफ भइरहन्छौं ।
(ख) जतिसुकै शक्तिशाली विद्रोह वा क्रान्ति भएपनि विद्रोहवाहकसँग सही विचारधारात्मक तथा राजनीतिक कार्यदिशा, गतिशील, प्रभावशाली तथा परिपक्व नेतृत्व, देशव्यापी प्रभाव भएको पार्टी र विद्रोह वा क्रान्तिको ठोस योजना र लक्ष्य भएन भने आफैले सल्काएको आगोमा आफै खरानी हुने कुरा सुनिश्चित जस्तै हुन्छ । विचार र लक्ष्यलाई बेवास्ता गरेर जेनजेडले संगठन बनाएको थिएन । परिणामरुवरुप, साम्राज्यवादीहरुले आफ्नो विचार अनुसार विद्रोहलाई कब्जा गरेर आफ्नो लक्ष्य पूरा गरे ।
(ग) आज जसरी मानव बुद्धि–विकास कृत्रिम बुद्धि (एआई) मा भएको छ त्यसरी नै क्रान्ति र विद्रोहको तागत विज्ञान तथा प्रविधि सुसज्जित जेनजेडमा भएको छ । जुन पार्टीसँग युवा शक्ति केन्द्रीत हुन्छ त्यसले नै विद्रोह सम्पन्न गर्दछ । त्यसकारण क्रान्तिकारीहरुको त्यतापट्टि गम्भीर ध्यान जानुपर्दछ ।
(घ)विद्रोह वा क्रान्ति पुरानो राज्यसत्ताको अन्त र नयाँ राज्यसत्ताको स्थापनाका लागि हुन्छ । जेनजेड विद्रोहमा संलग्न युवा नेताहरुले राजनीति र राजनीतिक पार्टीलाई घृणा गरे । आखिर राज्यसत्ता र राजनीति भनेको विद्यमान अर्थ व्यवस्थाको केन्द्रिय अभियव्यक्ति हो । अर्थतन्त्र आधार हो भने राजनीति, सँस्कृति, कला, साहित्य, धर्म यही आधारमा जन्मेको उपरीसंरचना हुन् । राजनीति यी सबैको निर्देशक हो । युवाहरुलाई राजनीतिप्रति घृणा गर्न सिकाएर आफू राज्यसत्ताको सिंहासनमा बस्नु साम्राज्यवादी र पूजीवादी शासकहरुको पुरानै धन्दा हो । जेनजेड विद्रोहबाट उठेको सिंहासनमा ती महानुभावहरु विराजमान भएका छन् जसले युवा पुस्तालाई राजनीति भनेको फोहरी खेल हो भनेर सिकाउँदै थिए । राजनीति गर्नुहुन्न भनेर राजनीति गर्नेहरु मुर्दावाद !
(ङ) राज्यसत्ता बदल्नु भनेकै सरकार परिवर्तन गर्नु हो भनेर भ्रम सृजना गरिरहेका संसदवादी कम्युनिष्टहरुले यसपाली मीठामीठा डल्ला खाएका छन् । पुरानो राज्यसत्ता सरकार, सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र र झ्यालखानाको योग हो । आमूल परिवर्तकारीहरुले यो योगलाई ध्वस्त नपारीकन नयाँ राज्यसत्ता स्थापना गर्न र टिकाउन सकिन्न भन्ने कुरा ती कथित कम्युनिष्टहरुले त्यसबेला मनमनै सम्झे होलान् जसबेला सेनाले उनीहरुलाई सुरक्षाका नाममा आफ्नो ब्यारेकमा लिएर कोक्र्यायो । सेना नभएको जनतासँग आफ्नो भन्ने केही हुदैन भन्ने कुरा यो जेनजेड विद्रोहबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी र जनताले शिक्षा लिनैपर्दछ । जेनजेडले यो विद्रोहबाट के शिक्षा लिनुपर्दछ भने यही राज्यसत्ता राखेर नत भ्रष्टाचारको अन्त हुनछ न स्वतन्त्रता प्राप्त हुन्छ । तपाईहरुलाई मान्नुपर्दछ कि तपाईहरुले सहासकासाथ राज्यसत्ताका अंगहरुमाथि प्रहार त गर्नुभयो तर नयाँ राज्यसत्ताको नक्सा तपाईहरुसँग थिएन । सेना भनेको पुरानो राज्यसत्ताको ढाड हो भन्ने कुरा पनि थाहा थिएन । यति थाहा थियो कि भ्रष्टाचारको अन्त हुनुपर्दछ र सामाजिक सञ्जाल खुला गर्नुपर्दछ । राज्यसत्ता र राजनीतिको ज्ञानले मात्र क्रान्तिको उद्देश्य पूरा हुन्छ । यो विद्रोह त अठारौं शताब्दीका ती अभागी मजदूरहरुको जस्तो भयो जसले हामीले काम नपाउने कारण यी कारखानाका मेशिनहरु हुन् भनेर तिनलाई तोडफोड गर्नतिर लागे र मालिक र राज्यसत्ता छोडिदिए ।
(च) नेपालको इतिहासमा सुगौली सन्धी यता सहमती र सम्झौता मात्र होइन सम्झौतावाद हावी भएको छ । वि.सं. २००७, २०२८–२०३८, २०३६, २०४६, २०५२–२०६३ र २०८२ यसका ज्वलन्त उदाहरण हुन् । हामीले यो ऐतिहासिक परम्परामा क्रमभंग गर्नैपर्दछ । होइन भने क्रान्तिका लागि उठेको आन्दोलन सुधारवाद र सम्झौतावादमा फसिइरहनेछ ।
(छ) आज उत्पादक शक्तिमा विज्ञान र प्रविधि जोडिएको हुनाले उत्पादक शक्ति र उत्पादन सम्बन्धबीचको अन्तरविरोध तीव्र भएको छ । यसकारण व्यवहारमा जेनजेड विद्रोहले नेपाली क्रान्ति दीर्घकालीन होइन अल्पकालीन हुन्छ भन्ने देखाएको छ ।
(ज) जेनजेडहरुले आफ्नो विद्रोहमा नेतृत्वबारे बेवास्ता गरे । यसको परिणाम ‘लंका साध्ने हनुमान, पगरी पाउने गुनो’ भयो । यो मनोगत विषय होइन, बरु इतिहासको आवश्यकतामा मनोगत परिश्रमको जोडफल हो । नेतृत्वबारे लेनिनको भनाइ यस्तो छ, “सामान्य ज्ञानको कुरा के हो भने जनसमुदाय वर्गमा बाँडिएको छ …वर्गहरुको नेतृत्व राजनीतिक पार्टीहरुद्वारा गरिएको हुन्छ, सामान्य नियम अनुसार राजनीतिक पार्टीहरु सबभन्दा आधिकारिक, प्रभावशाली र अनुभवी सदस्यहरुबाट बनेका धेरै–थोरै स्थायी समूहद्वारा सञ्चालित हुन्छन् जो सबभन्दा जिम्मेवार पदहरुमा चुनिएका हुन्छन् तिनलाई नै नेता भनिन्छ”—‘वामपंथी’ साम्यवाद ः एक बालरोग–सन् १९२०, प्रगति प्रकाशन मास्कोद्वारा १९६६ मा प्रकाशित भ्ला.ई. लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ ३१, पृ. ४१ ।
५) अबको विकल्प
विद्यमान राज्यसत्ताका विरुद्ध विद्रोह गर्नुको अर्थ यथास्थितिमा टालटुल गर्ने होइन, पुरानो राज्यसत्ताको ध्वंश र नयाँ राज्यसत्ताको स्थापना हो । जेनजेडको विकल्प एक थरीका भ्रष्टाचारी फ्याँकेर अर्कोथरी भ्रष्टाचारी ल्याउने पक्कै होइन । के.पी. ओलीको स्थानमा सुशीला कार्की एउटा अस्थायी विकल्प पनि भएन । यो अस्थायी सरकार पनि साम्राज्यवादको निर्देशनमा बनेको यथास्थितिवादी सरकार हो । हामीलाई स्वाधीन संयुक्त सरकार चाहिएको छ । नेपाली जनताको चाहना पनि नत यथास्थितिवादी सरकार हो न प्रतिगामी राजतन्त्र । देशभक्त, क्रान्तिकारी जनवादी र वामपंथी पार्टी, समूह र व्यक्तिहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, त्यो सम्मेलनबाट संयुक्त मोर्चाको निर्माण, उक्त मोर्चाको नेतृत्वमा जनसंघर्ष, त्यो जनसंघर्षका आधारमा स्वाधीन संयुक्त सरकार र उक्त सरकारद्वारा जनसंविधान लेखन स्वाधीन संयुक्त सरकारको निर्माण प्रक्रिया र यसको उद्देश्य हो । यसरी मात्र युवाहरुको विद्रोहले आफ्नो उद्देश्य हासिल गर्नसक्छ । कम्युनिष्टहरु भने स्वाधीन संयुक्त सरकारमा मात्र सीमित हुदैनन् । उनीहरुको लक्ष्य भनेको नेपालको नवऔपनिवेशिक अर्थ–सामाजिक परिस्थितिमा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा पुग्ने हो ।
२०८२ असोज





























