सुजातालाई उपचारका लागि ५० लाख सहयोग गर्ने सरकारको निर्णय, स्वास्थ्यमन्त्री गगन रुष्ट

sujata-koiralaकाठमाडौं । सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको स्वास्थ्य उपचारका लागि एकमुष्ठ ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपषिद्को आइतबार बसेको बैठकले राज्यको ढुकुटीबाट ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको हो । काठमाडौंको मण्डिखाटारमा विशाल बंगला रहेको कोइरालाको अकुत सम्पत्ति छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताले कोइरालालाई एक करोड रुपैयाँ उपचार खर्च दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई तीव्र दबाब दिँदै आएका थिए । तर प्रस्तावको आधा रकम मात्र सहयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

स्वास्थ्यमन्त्री गगनकुमार थापालाई सोसम्बन्धी प्रस्ताव ल्याउन दवाब दिइए पनि उनले नमानेपछि गृहमन्त्रीमार्फत् मन्त्रिपरिषदमा प्रस्ताव लगिएको थियो । स्वास्थ्यमन्त्री थापाले भने आफूलाई छलेर यस्तो निर्णय गरेको भन्दै रुष्ट भएका छन् । मन्त्रिपरिषदले निर्णय गर्दा थापा पोखरामा थिए ।

केही समयअघि मात्रै संसदको अर्थ समितिलेसमेत कार्यविधि नबनाई मनपरी उपचार खर्च नबाँड्न सरकारलाई निर्देशन गरेको थियो । सोही आधारमा स्वास्थ्य मन्त्रालयले गत बिहीबारै कार्यविधि मन्त्रिपरिषदमा दर्ता गराएको थियो ।

विदेशमा गएर उपचार गराउनुपरेमा सरकारद्वारा गठित मेडिकल बोर्डको सिफारिस लिनु अनिवार्य छ । मुलुकभित्रका अस्पतालहरूमा उपचार सम्भव छैन भनी मेडिकल बोर्डले सिफारिस गरेपछिमात्र विदेश उपचार गर्न जान पाइने कार्यविधिमा अनिवार्य व्यवस्था गरिएको छ । स्तन क्यान्सरको विरामी भएको भनिएकी सुजाताको उपचार मुलुकभित्रका अस्पतालहरुमा सम्भव नभएको भनी मेडिकल बोर्डले सिफारिससमेत नगरेको बताइएको छ ।

सरकारले कार्यविधिमासमेत छलफल नै नगरी सरकारले कांग्रेस नेतृ कोइरालालाई उपचारका लागि राज्यकोषबाट मोटो रकम सहयोग गर्ने निर्णय गराएको भन्दै आम नागरिकले पनि आलोचना गरेका छन् ।