एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचना रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गर्ने देखिएको छ ।
अधिकांश राज्यको परिणाम आइसक्दा ट्रम्पले २४४ इलेक्टोरल भोट पाएका छन् भने हिलारीको पक्षमा २१५ इलेक्टोरल भोट मात्रै परेको छ ।
हिलारीले फ्लोरिडा, नर्थ क्यारोलिनासहितका मुख्य युद्धमैदानका रुपमा रहेका राज्यमा हार बेहोरेकी छन् । मत परिणाम आउने क्रम जारी रहँदा ट्रम्प केही राज्यमा अझै अघि देखिएका छन् ।
हिलारीलाई २७० को सीमामा पुग्नका लागि पेन्सिलभेनिया र विसकनसिनमा जित निकाल्नै पर्ने हुन्छ । तर दुवै राज्यमा हिलारी पछि परेकी छन् ।
एरिजोना, विसकनसिन, मिसिगन र न्यूह्यामशायरमा ट्रम्प अगाडि छन् भने मिनिसोटा, मेनमा मात्र हिलरी अगाडि छन् ।
अब एरिजोना, मिसिगन र पेन्सलभेनिया राज्य निर्णायक हुने भएका छन् । एरिजोनामा ११, मिसिगनमा १६ मत र पेन्सलभेनियामा २० इलेक्टोरल भोट छ । यी राज्यमा जित निकाल्ने उम्मेदवार नै आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपति बन्ने छन् ।
मिसिगनमा १९८८ पछि रिपब्लिकन पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेका थिएनन् । तर, यो पटक ट्रम्प अगाडि देखिएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० भोट आवश्यक पर्छ ।