छापामार युद्धबाट आएको पार्टीलाई जनताले दिए भारी मत

छापामार युद्धबाट आएको पार्टीलाई जनताले दिए भारी मत

एजेन्सी– निकारागुआको सत्तारुढ पार्टी ‘सान्डिनिस्टा नेसनल लिबरेसन फ्रन्ट (एफएसएलएन) गत आईतबार सम्पन्न निर्वाचनमा पुनः विजयी भएको छ ।

देशको सर्वोच्च निर्वाचन परिषद (सिएसई) ले सान्डिनिस्टा पार्टीले ७२.५ प्रतिशत मत पाएर विजयी भएको घोषणा गरेको हो ।

झण्डै १४ हजार मतदान केन्द्रमा ९९.८ प्रतिशत मत खसेको निकारागुवाको निर्वाचन सर्वोच्च परिषद्का प्रमुख आयुक्त रोबर्टो रिभासले जानकारी दिए ।

निकारागुवा ७० बर्षीय राष्ट्रपति डानिएल ओर्टेगाले अघिल्ला कार्यकालहरुमा बलियो आर्थिक अवस्था, बेरोजगारीको न्युनिकरण र गरिबीको अवस्थामा सुधार गरेका थिए । उनका सुधारात्मक कार्यक्रमकै कारण यो पटक जनताले पुनः विजयी गराएको विश्लेशण गरिएको छ ।

उनको व्यापार मैत्री राजनीति र सरकारलाई निरन्तरता दिनका लागि मतदाताहरुले सशक्त जनादेश दिएका छन् । क्युबा, भेनेजुएला, बोलिभियाका र अरु विभिन्न क्षेत्रका नेताहरुले उनलाई बधाई दिँदै फेरि पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् ।

क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोले आफ्ना राजदूतमार्फत वधाई सन्देश पठाउँदै निकारागुवा सरकारसँग रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । निकारागुवामा आइतबार राष्ट्रपति र राष्ट्रियसभाका सांसद चयनका लागि निर्वाचन भएको थियो ।
जसमा लामो समय छापामार युद्ध सञ्चालन गरेको सान्डिनिस्टा पार्टीले लगातार जित निकालेको हो । राष्ट्रपति ओर्टेगा स्वयम् छापामार युद्धको नेतृत्व गरेका नेता हुन् ।