युवा देशको कर्णधार हुन । युवा देशको रक्षाकवच हो । त्यहि युवा जसको चेतना र सोच सहि हँुदा ठुलठुला आन्दोलन सफल हुने गर्दछन् र त्यहि युवा जसको सोच गलत हुँदा राष्ट्र नै संकटमा पर्ने गर्दछ । भुटान र सिक्किम त्यसका उदाहरण हुन । अतः हामी युवाहरुले के सोच्दै छौं, देशलाई सार्वभौम र समृद्ध बनाउने कुरा सोच्दै छौ वा देशलाई भुटानीकरण र सिक्कीमिकरण गर्ने कुरा गर्दैछौ । या केहि सोचेकै छैनौ ।
नेपाल राष्ट्र अहिले सम्म कुनै देशको पराधिन मुलुक बनेको छैन । तर देशमा विदेशीको हस्तक्षेप निरन्तर एक पछि अर्को बढदै गइरहेको छ । उनीहरुको रणनीति दिन प्रतिदिन फेरिदै योजनावद्ध ढंगले अगाडि बढ्दै छ । अहिले अर्धऔपनिवेशिक हुदै नवऔपनिवेशीक विधिबाट देशको राजनीतिक, सामाजिक, साँस्कृतिक, भाषिक, धार्मिक, आर्थिक र सैनिक सबै क्षेत्रमा भारतीय विस्तारवादले हस्तक्षप गर्दै आएको छ ।
हाम्रो नदीनालालाई आफ्नो अधिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लग्ने काम भारतका शासक वर्गले गर्दै आएको छ । सिमाना अतिक्रमण गर्ने काम अहिले सम्म रोकिएको छैन । अब प्रश्न के उठछ भने यी सबै भईरहदा हामी युवा के गर्दैछौ । भारतले नेपाल माथि नाकाबन्दी गर्यो । हाम्रो पारवाहन अधिकार खोसियो । इन्धनको अभावमा सवारी साधन चलाउन कष्ट ब्यहोर्नु पर्यो ।
दिनरात लाईनमा बस्नु हाम्रो नियती बन्यो । ग्याँस, मतितेल नभएर खाना पकाउन नसक्ने अवस्था सम्म पुग्यो । आज त्यहि देशको राष्ट्रपति नेपाल भ्रमणमा आउँदा उसैको चाकडी गर्दै, सार्वजनिक विदा दिएर त्यो नाकावन्दी गरेवापतको पुरष्कार दिने काम यो प्रचण्ड सरकारले गरेको छ । तापनि हामी युवाहरु चुपलागेर बसेका छौ ।
हाम्रो देशको प्रधानमन्त्री प्रचण्ड भारतमा गए र २५ बँुदे राष्ट्रघाती संयुक्त वक्तब्य जारी गरे । हामी युवाहरु चुप लागेर बसेका छौ । के हामी नेपालका युवाहरु युवा नै भएनौ । के नेपाली युवामा राष्ट्रियता सिद्धिएकै हो । हामी युवाहरुलाई कुन सिक्रीले बाँधेको छ वा कस्तो धागोले हाम्रो मुख सिलाएको छ । हामी युवाहरुको जोश र तातो रगत किन सेलाएको छ ।
- हामी युवाहरु कुनै न कुनै पार्टीको संगठनमा छौ त्यसैले पार्टीको निर्णय विपरित गएर राष्ट्रघाटी कदमहरुलाई विरोध गर्न सकेको छैन ।
- हामीमा मौलाएको निम्न पुँजीवादी चिन्तन र दलाल पँुजीवादी व्यवस्थाले थोपरेको उत्पादन सम्बन्धले गरेर हाम्रो सोचमा राष्ट्रिय आत्मसमर्पणवादी सोचको विकास भएको हो ?
- हामीमा ब्राम्हणवादी, अतिजातिवादी, क्षेत्रीयतावादी र संकीर्ण सोचहरु मौलाएको कारण पनि हामीले हाम्रो सोचलाई उठाउन सकेका छैनौ ।
- देशभक्त युवाहरु छरेर कमजोर भएको छ । कोही विदेशमा पलायन कोही शोदेशमा अवसरको खोजी गर्दै दलालहरुको पुच्छर भएको छ ।
- सास्कृतिक रुपमा पैदा भएको विचलनलाई रुपान्तरण गर्न सकेको छैन ।
- देशभक्त युवाहरुमा निराशा आएको कारणले युवाहरुलाई फराकीलो ढंगले गोल बद्ध गर्न सकेको छैन ।
देशको प्रगतिशील र अग्रगामी आन्दोलनमा युवाहरुको मुख्य भुमिका रहेको हुन्छ । आन्दोलनको उत्तरार्धमा अग्रगामी एजेण्डालाई तुहाउने गरी सम्झौता हुने गरेको छ । त्यसपछि आन्दोलनमा सहभागी हुने युवाहरु मध्ये अधिकांश भित्र भित्रै गुम्सिएर निराश भएका हुन्छन्, कोही अवसरको खोजीमा त्यही सम्झौताको पछि पछि लाग्छन र त्यस्ता केही युवा मात्र सम्झौताको विरुद्धमा संगठित भएर पुन संघर्षमा लाग्ने गरेको पाउँछौ ।
२००७ सालको आन्दोलनमा सम्झौता हुँदा असन्तुष्ट युवाहरुले २०३६ साल, २०४६÷२०४७ सालको आन्दोलनको नेतृत्व गरे भने यस आन्दोलनमा संसदीय राजतन्त्रात्मक व्यवस्था कायम राख्ने सम्झौता भयो । जसका विरुद्ध असन्तुष्ट युवाहरुले फेरी आन्दोलनको झण्डा उठाउदै ०५२ सालमा जनयुद्धको थालनी गरे । त्यही जनयुद्धको पृष्ठ भुमिमा ०६२÷०६३ को १९ दिने आन्दोलन भयो । त्यहाँ पनि सम्झौता भयो । जनमुक्ति सेना लाखापाखा भए । १९ दिनको आन्दोलनमा सहभागी युवा लाखापाखा भए र अहिले निराशाको स्थिति छ ।
हामी युवा हौ र हाम्रो राष्ट्रियता जोगाउनु छ भने, हाम्रो देश सार्वभौम सम्पन्न राष्ट्र हो भने हामीलाई बाँधेको सिक्री चुडाल्नु पर्छ, हाम्रो मुख सिलाएको धागो काट्नु पर्छ र युवाहरुले आफ्नो सोचलाई फराकिलो बनाउदै राष्ट्रियताको पक्षमा उभिन सक्ने हुन हामीमा देखा पर्ने सबैखाले गलत चिन्तन र सोचलाई निमिट्यान्न पार्नु पर्छ ।
कसैको पुच्छर बनेर होइन, राष्ट्रिय हितको पक्षमा उभिएर देशको जातीय, क्षेत्रीय , लिंगीय र वर्गीय समस्याको हल गर्दै उत्पीडित जनसमुदायको अधिकार सुनिश्चित गर्न एकजुट हुनु पर्दछ । यदी हामीले आफ्नो ठाउँबाट एक पाइला मात्र अघि बढाउने हो भने दशवर्षको जनयुद्धमा लड्ने जनमुक्ति सेना ,१९ दिनको जनआन्दोलनमा सहभागी युवाहरु र छरिएर देश विदेशमा रहेका युवाहरु हाम्रो साथमा आउनेछन । देशका दलाल नेताहरुलाई पत्तासाफ गरेर हाम्रो देशको भविश्यको निर्णय हामी नेपाली स्वयम्को स्वविवेकले गर्ने ठाउँ सम्म पुग्ने छौ ।