काठमाडौं । आफ्ना विभिन्न माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएका बर्हिगमित जनमुक्ति सेनाका लडाकुहरुलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ ।
१० वर्षे जनयुद्धको नेतृत्व गरेको पार्टी पटक पटक सरकारमा पुगेपनि आफूहरुका कुनै मागको सुनुवाई नगरेपछि बर्हिगमित जनसेनाले माओवादी केन्द्रको कार्यलय सोमबार नियन्त्रणमा लिएका थिए ।
मंगलबार बिहानै गएको प्रहरीको टोलीले २०६९ सालमा मध्यरातमा नेपाली सेना प्रवेश गरेर जनसेनाका क्याम्पहरु कब्जा गरेको झल्को दिनेगरी पूर्वलडाकुलाई पक्राउ गरेको आन्दोलनको नेतृत्व गरेका बर्हिगमित लडाकुका नेता लेनिन बिष्टले बताए ।
पक्राउ परेको उनीहरुलाई कोटेश्वर, टुेकु, अनामनगरलगायतका विभिन्न वृतमा राखिएको छ । आफूहरुका माग सम्बोधन गर्न दबाब दिँदा समेत सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएका बच्चाका आमासहितका १६९ जना पूर्वलडाकुलाई प्रहरीले पक्राउ गरेको हो ।
पेरिसडाँडाबाट मंगलबार उनीहरुलाई जसरी पनि हटाउने योजनासहित पुगेको प्रहरीको टोलीले गेट खोल्न दबाब दिएपनि नखालेपछि जबरजस्ती गेट खोलेर पक्राउ गरेको थियो ।
दश वर्षे जनयुद्धको प्रक्रियामा सामेल भएका जनसेनामध्ये ४ हजार ८ जनालाई संयुक्त राष्ट्रसंघीय मिसन अनमनिले अयोग्य घोषणा गर्दै शिविरबाट हटाएको थियो । शिविरबाट हटाउने समयमा उनीहरुलाई आकर्शक प्याकेजको व्यवस्था गर्ने भनिएको थियो ।
पूर्वलडाकुले आफूहरुलाई गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुसरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, झुटा मुद्दा लगाएर जेलमा राखेका लडाकुलाई विनाशर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निः शुल्क उपचार र आजीवन भत्ताको व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै आएका छन् ।
पूर्व लडाकुले कार्यलय कब्जा गरेपछि माओवादी केन्द्रका नेता हितमान शाक्य, श्रीराम ढकाल, प्रकाश पोखरेलसहित १५ जना सोमवार रातभर कार्यलयमा बसेका थिए ।
उनीहरुले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भएका सहमति कार्यन्वयन गर्नुपर्ने माग समेत राख्दै आएका छन् । सोमबार दिउँसो देखि नै पूर्व लडाकु धर्नामा बसेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले वार्ताका लागि बालुवाटार आउन आग्रह गरेका थिए । तर पूर्व लडाकुहरुले पेरिसडाँडामा नै आएर वार्ता गर्नुपर्ने अडान राखेका थिए ।