अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, कसलार्इ कुन राज्य जित्नैपर्छ ?

अमेरिकी राष्ट्रपतिको निर्वाचन आज, कसलार्इ कुन राज्य जित्नैपर्छ ?

hillary-clinton-donald-trumpएजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदै छ । नयाँ राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टन र रिपब्लकन पार्टीका डोनाल्ड ट्रम्पसँगै ग्रिन पार्टीका जिल स्टेन, लिबर्टेरियन पार्टीका ग्यारी जोनसन र इभान म्याक्मुलिन चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

दुई पार्टी प्रणाली स्थापित रहेको अमेरिकामा मुख्य रूपमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच मुख्य प्रतिस्पर्धा हुनेछ । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन दुवै उम्मेदवारले एकअर्काको पकड रहेका निर्णायक राज्यमा चुनावी प्रचारप्रसार गरेका थिए ।

एक साताअघि संघीय जाँच एजेन्सी (एफबीआई) ले इमेल प्रकरणको दोस्रोपटक छानबिन सुरु गरेपछि केही पछि देखिएकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले सफाइ पाएसँगै उनको मत बढेको सर्वेक्षण सार्वजनिक भएको छ ।

बीबीसीले पछिल्लो सर्वेक्षणमा ट्रम्पभन्दा हिलारी १ प्रतिशतले अघि रहेको देखिएको जनाएको छ । तर, अमेरिकामै भएका अन्य सर्वेक्षणमा भने हिलारीले ३ अंकको अग्रता कायम गरेको देखाइएको छ । निर्वाचन प्रचारको अन्तिम दिन सोमबार रिपब्लिकन पार्टीका ट्रम्प क्लिन्टनको पकड क्षेत्र मानिएका राज्यमा निर्वाचन उपस्थित भएका छन् ।

अझै पनि फ्लोरिडा, पेनसिलभेनिया र नर्थ क्यारोलिना राज्यमा दुवै उम्मेवार अन्तिम समयमा पनि पुगेका हुन् । ट्रम्पलाई निर्वाचन आफ्नो पक्षमा पार्न चार वर्षअघि मिट रोमनीले जित निकालेको नर्थ क्यारोलिना र एरिजोना राज्यमा जित्नैपर्ने अवस्था छ भने ओबामाले जितेका फ्लोरिडा, ओहिओ र लोवाको परिणाम उल्टाउनु आवश्यक छ ।

तीमध्ये कुनै पनि राज्यमा गुमाएको खण्डमा उनलाई २ सय ७० इलेक्ट्रोरल भोट हासिल गर्न कठिनाइ पर्नेछ । डेमोक्रेटिक पार्टीले लगातार ६ पटकसम्म निर्वाचन जितेको पेनसिलभेनिया र मिसिगनलाई फर्काउन सके ट्रम्पलाई सहज पर्नेछ ।

त्यसो नभए नर्थ क्यारोलिना र एरिजोनाहित फ्लोरिडा, ओहिओ र लोवालाई डेमोक्रेटिक पार्टीबाट खोस्न सफल भए उनको ट्रम्पको पक्षमा २ सय ६० भोट हुनेछ । बाँकी १० इलेक्ट्रोरल भोटमध्ये चार भोट रहेको न्युहेम्पसायर, ६ भोट रहेको नेभाडा जित्न सके ट्रम्पलाई ह्वाइट हाउस प्रवेशको बाटो खुल्न सक्नेछ ।

अझै पनि निश्चित भइनसकेका नौ भोट रहेको कोलोराडो, १५ भोट रहेको मिसिगन र २० भोट रहेको पेल्सिलभेनिया दुवै उम्मेदवारका लागि महŒवपूर्ण हुनेछन् ।

यसैगरी, डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनका लागि पनि पेनसिलभेनिया, मिसिगन र विस्कन्सिनमा जित आवश्यक पर्नेछ । यी तिनै राज्यमा निर्वाचन सर्वेक्षणमा हिलारीले अग्रता लिएकी छन् । यदि हिलारीले यी तीनवटा राज्यसहित नर्थ क्यारोलिना, फ्लोरिडा र ओहिओमध्ये कुनै पनि राज्यमा जित निकालेको खण्डमा उनको जित निश्चित हुनेछ ।

यी तीन राज्यमध्ये कुनै एकमा पनि हिलारीले जित निकाल्न नसकेको खण्डमा उनलाई भर्जिनिया, कोलोराडो, न्युहेम्पसायर र नेभाडा राज्यमा जित हासिल गर्नुपर्ने हुन्छ ।

यसैगरी, राष्ट्रपतीय निर्वाचनमा क्लिन्टनलाई जित निकाल्न महिला, कलेजका मतदाता र ल्याटिन अमेरिकी मूलका भोटरलाई आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । ट्रम्पले निर्वाचन प्रचारका क्रममा आप्रवासी र मेक्सिकोसँगको सीमामा पर्खाललगाउनेसहितका अभिव्यक्ति दिएका कारण ल्याटिन अमेरिकी मूलका भोटरहरू ट्रम्पसँग तर्सिएका छन् ।

पछिल्लो विश्लेषणमा हिलारी क्लिन्टन ट्रम्पभन्दा अघि देखिएकी छन् । तथ्यांकीय विश्लेषण गर्ने वेबसाइट फाइभथर्टीएटले २०१२ को निर्वाचनमा पनि ५० वटै राज्यमा सर्वेक्षण गरेको थियो । सोही वेबसाइटले यसपटक हिलारी क्लिन्टन ट्रम्पभन्दा ३–२ अंकले अघि रहेको देखाएको छ । प्रतिस्पर्धात्मक रहेको देखिएको यो निर्वाचनको अन्तिम समयमा आएर केही मत दायाँबायाँ हुन सक्नेसमेत औंल्याइएको छ ।

निर्वाचन प्रचारको अन्तिम दिन दुवै उम्मेदवार मिसिगन राज्यको सभामा सहभागी भएका छन् । जहाँ सन् १९८८ देखि रिपब्लिकन पार्टीका उम्मेदवारलाई भोट हालेका छैनन् । रियल क्लियर पोलिटिक्स पोलले भने हिलारी ४.७ अंकले अघि रहेको जनाएको छ ।

केही राज्य डेमोक्रेटिक र रिपब्लिकन पार्टीका उम्मेदवारले जित्ने निश्चित रहेका कारण अनिर्णीत राज्यको मत नै अमेरिकी राष्ट्रपतिको निर्वाचनमा निर्णायक हुने गर्दछ