एजेन्सी । अमेरिकी राष्ट्रपति पदको चुनाव र विवादबीच यति पुरानो सम्बन्ध छ, जति पुरानो स्वतन्त्र अमेरिकाको इतिहास छ । यतिबेला अमेरिकी राष्ट्रपति पदको निर्वाचन र परिणामलाई लिएर भइरहेको विवाद कुनै नयाँ होइन ।
अमेरिकी पत्रकार फ्रेड लुकसले आफ्नो किताबमा अमेरिकी राष्ट्रपति पदको विवादबारे उल्लेख गरेका छन् । यतिबेला राष्ट्रपतिको निर्वाचनलाई लिएर अमेरिकी समाजमा जति विभाजन देखा परेको छ यस्तो विभाजन यसअघि पनि आएको थियो । यदि यो निर्वाचनको परिणामलाई विवाद भएमा भने इन्टरनेटको जमानाको पहिलो विवादित निर्वाचन हुनेछ ।
तर इतिहासलाई फर्किएर हेर्ने हो भने यस्तो विवाद पटक पटक भएको पाइन्छ । यतिबेला अमेरिकी समाज स्पष्ट रुपमा दुई ध्रुवमा विभाजित बनेको छ । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच मंगलबार हुने निर्वाचनको परिणाम विवादास्पद भएका के होला ?
अमेरिकी निर्वाचन प्रक्रिया भ्रष्ट भएको भन्दै प्रचारका क्रममा बारम्बार बोल्दै आएका ट्रम्पले निर्वाचनमा पराजित भएमा त्यसलाई अस्वीकार गरी अदालत जान सक्छन् । प्रतिस्पर्धा कडा देखिएको अवस्थामा पनि उम्मेदवारबीच गतिरोधको अवस्था सिर्जना हुनसक्छ । पत्रकार फ्रेड लुकसले आफ्नो पुस्तकमा केही विवादित निर्वाचनबारे उल्लेख गरेका छन् ।
सन् २००० को चुनावः अल गोर र जर्ज डब्लु बुस
यस चुनावमा आम जनताको भोट (पपुलर भोट) डेमोक्रेटिक पार्टीका उम्मेदवार अल गोललाई अत्याधिक रुपमा गयो । तर विजयी घोषित भए रिपब्लिकन पार्टीका जर्ज डब्लु बुस । अल गोलाई ५ लाख भन्दा बढी भोट प्राप्त भएको थियो ।
तर अमेरिकी चुनावमा इलोक्टोरल कलेजमा अग्रता पाएका कारण बुसले राष्ट्रपतिमा बाजी मारे । अल गोरले दोस्रो पटक मतगणना गर्न माग गर्दै अदालत पुगेका थिए । लामो बहसपछि अदालतले दोस्रो पटक मतगणना बन्द गर्न आदेश दिएपछि अल गोरले हार माने र बुस राष्ट्रपति बने ।
सन् १९४८ को चुनाव : ह्यारी ट्रुम्यान र थोमस डेभी
चुनावको रात राष्ट्रपति ह्यारी ट्रुम्यान निराश भएर सुतिसकेका थिए र उनले हार मानिसकेका थिए । रिपब्किलन पार्टीका उम्मेदवार थोमस डेभीले सर्वेक्षणमा ५ प्रतिशतको अग्रता कायम गरिसकेका थिए । उनको जित पक्का जस्तै थियो । शिकागोको डेली ट्रिब्युन नामको पत्रिकाले ट्रुम्यानको पराजयको समाचार बनाएर पत्रिका बेच्न नै सुरु गरिसकेको थियो ।
तर ट्रुम्यानको जित भयो । बिहानै चार बने अमेरिकी गुप्तचर अधिकारीले उनलाई उठाएर जित भएको जानकारी दिए । डेली ट्रिब्युनको पहिलो पानामा नै उनको हारको समाचार पढेर उनी मुस्कुराएको तस्बिर चर्चित बन्यो । थोमस डेभीले तत्कालै चुनावी परिणामलाई स्वीकार गरेनन् । तर उनले अदालत जाने कोशिस पनि गरेनन् ।
सन् १८७६ को चुनाव : स्यामुअल टिल्डेन र रदरफोर्ड ह्यास
यस चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार स्यामुल टिल्डेनले चुनाव जितेर पनि हारे । उनले रिपब्लिकन पार्टीका आफ्ना पतिद्वन्द्वी रदरफोर्ड ह्यासभन्दा पपुलर भोट र इलेक्ट्रोरल कलेज दुवैमा अग्रता लिए ।
तर इलेक्ट्रोरल कलेजमा आवश्यक १८५ भोट हासिल गर्न सकेनन् । दुवैले एक अर्कालाई भ्रष्टाचार र चुनावमा धाँधली गरेको आरोप लगाए । पछि दुवै पक्षबीच एक सम्झौता भयो । सोही अनुसार रदरफोर्ड राष्ट्रपति भए । विशेषज्ञहरुले यसलाई इलेक्सन नभई सेलेक्सन भएको बताउने गरेका छन् ।
सन् १८०० को चुनाव : थोमस जेफर्सन र जोन एडम्स
अमेरिकी राष्ट्रपति पदको चौथो चुनाव थियो त्यो । त्यसबेलासम्म उपराष्ट्रपतिले राष्ट्रपति जित्दै आएका थिए । यस निर्वाचनमा कामयाब बने उपराष्ट्रपति थोमस जेफर्सन । जसले राष्ट्रपति जोन एडम्सलाई पराजित गरे । तर, निर्णय सहज रुपमा भएको थिएन । त्यसबेला इलेक्ट्रोरल कलेज अन्तर्गत राष्ट्रपति र उपराष्ट्रपति दुवैलाई भोट दिइन्थ्यो ।
जसलाई धेरै भोट जान्थ्यो उनै राष्ट्रपति हुने व्यवस्था थियो । त्यसबेला दुई पार्टी सिस्टम आइसकेको थियो । डेमोक्रेटिक पार्टीका तर्फबाट थोमस जेफर्सन राष्ट्रपतिका उम्मेदवार थिए भने उपराष्ट्रपतिका उम्मेदवार आरोन बर्र थिए । फेडरालिस्ट पार्टीका उम्मेदवार राष्ट्रपति एडम्स बने भने उपराष्ट्रपतिका उम्मेदवार थिए, चाल्र्स पिंकनी ।
इलेक्ट्रोरल कलेज भोटमा एडम्स र उनका साथी जेफर्सन पछि परे । यो प्रतिस्पर्धा जेफर्सन र बर्रकाबीच थियो । किनकी दुवै उम्मेदवारलाई ७३–७३ भोट प्राप्त भएको थियो । संसदमा पुगेको यो केसमा ३५ पटक भएको भोटमा बराबरी भएको थियो । ३६ औं पटकमा जेफर्सन राष्ट्रपति र बर्र उपराष्ट्रपति बने ।