काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन् ।
मुखर्जीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अतिविशिष्ट कक्षमा पुगेका थिए । यसैगरी मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता पनि विमानस्थल पुगेका थिए ।
मुखर्जी आउनुभन्दा अघिदेखि नै त्रिभुवन विमानस्थलमा सबै उडान र अवतरण बन्द गरिएकाे छ ।
१८ वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सुरक्षा प्रवन्धको जिम्मा नेपाली सेनालाई दिइएको छ । त्यसबाहेक भारतीय कमाण्डोको विशेष टोली पनि मुखर्जीसँगै नेपाल आएको छ ।