काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलमा दावेदार चेल्सीले म्यानचेस्टर युनाईटेडमाथि प्रभावशाली जित निकालेको छ ।
जोजे मौरिन्होको टोली युनाईटेडलाई आइतबार राति भएको खेलमा आफ्नै मैदानमा एन्टोनियो कोन्टेको चेल्सीले ४–० ले हराएको हो ।
खेलमा चेल्सीलाई विजयी गराउन खेल सुरु भएको ३० सेकेण्डमा नै पेड्रोले गोल गरे भने २१ औं मिनेटमा ग्यारी काहिलले अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० ले अघि बढेको चेल्सीले दोस्रो हाफमा थप २ गोल गरेको हो ।
खेलको ६२ औं मिनेटमा इडेन हाजार्डले गोल गरे भने ७० औ मिनेटमा एन्गोलो कान्टेले गोल गरेपनि चेल्सी ४–० ले विजयी भएको हो ।
यो हारसँगै पूर्व चेल्सी प्रशिक्षक मौरीन्होको म्यानचेस्टर युनाईटेड झनै दबाबमा परेको छ । गत सिजन चेल्सीले खराब प्रदर्शन गरेपछि प्रशिक्षकबाट बर्खास्त गरिएका मौरिन्हो पहिलो पटक चेल्सीको मैदान आएका थिए ।
प्रिमियर लिग फुटबलअन्तर्गत राति भएको अर्को खेलमा म्यानचेस्टर सिटी र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेलेका छन् ।
आइतबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २०–२० अंक जोडेका म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुल शीर्ष तीन स्थानमा रहेका छन् भने १९ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ ।
समान खेलबाट समान १९ अंक जोडेको टोटनह्याम पाँचौ स्थानमा रहेको छन भने म्यान्चेस्टर युनाईटेड १४ अंक सहित ७ औं स्थानमा छ ।