प्रेम प्रसाद कडेल /चितवन
इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनमा मार्क्सवादी समालोचना लेखन तथा साहित्यको वर्तमान अवस्था र दिशा विषयक एक दुई दिवसीय अन्तरक्रिया कार्यक्रम भरतपुरको चेतना भिलेजमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन सदस्य सचिव मोदनाथ मरहठठा र अध्यक्षता हीरामणि दुःखीले गरेका थिए। उक्त कार्यक्रममा प्रशिक्षक प्रा डा जगदीश चन्द्र भण्डारी, प्रा डा गोपीन्द्र पौडेल, प्रा डा नन्दिश अधिकारी तथा रोशन जनकपुरी रहेका थिए। विशेष अतिथि चन्द्रहरि सुवेदि रहेका थिए। सहिदप्रति एक मिनेट मौनधारण श्रद्धाञ्जली अर्पण गरि कार्यक्रम सुरू भयो।कार्यक्रममा स्वागत मन्तव्य र विषय प्रवेश मित्रलाल पज्ञानीले गरे।
समालोचक रोशन जनकपुरी , प्रा डा नन्दिश अधिकारी, प्रा डा जगदीश चन्द्र भण्डारी लगायतले पनि उक्त विषयमा बोल्नुभएको थियो । विशेष अतिथि चन्द्रहरि सुवेदिले कार्यक्रममा सहभागी भएर नवीनतम् विषयमा छलफल भएकोले सिक्ने अवसर पाएको विचार व्यक्त गरे । इच्छुक सांस्कृतिक प्रतिष्ठान अध्यक्ष हीरामणि दुःखीले कला साहित्य र सङ्गीतबारे बताउदै साहित्यमा प्रतिशोध होइन प्रतिरोध आन्दोलनमा सहभागी हुन आवश्यक रहेको बताए । वर्तमानमा लड्ने साहित्य चाहिएको बताउदै कार्यक्रममा सहभागी सबैमा हार्दिक धन्यवाद व्यक्त गरे। कार्यक्रममा सहभागी दुई दर्जन साहित्यिक प्रतिभाहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा पाटन क्याम्पसका प्राध्यापक चतुरभुज लाल केवरट, डा शिला योगी, ओपन युनिभर्सिटीकि प्राध्यापक वन्दना ढकाल, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक तेज बिलास अधिकारी, आर आर क्याम्पसका प्राध्यापक डा छायादत नेउपाने, पी एन क्याम्पसका प्राध्यापक यादव राज उपाध्याय, गौरी देवकोटाले आफ्ना अनुभव र सिकाइ बारेमा जानकारी र सुझाव व्यक्त गरेका थिए। प्रगतिवादी साहित्यको वर्तमान अवस्था र दिशासहित प्रशिक्षक डा गोपीन्द्र पौडेलले विषय प्रस्तुत गर्नुभएको थियो।





























