काठमाडौं । सन् २०१८ को विश्वकप फुटबल छनौट अन्तर्गत आगामी महिना हुने थाइल्याण्ड र अस्ट्रेलियाबीचको खेलमा दर्शकले हुटिङ गर्न नपाउने भएका छन् ।
दुवै देशका फुटबल संघको सहमतिमा हुटिङ लगाउन प्रतिबन्ध लगाइएको हो । थाइल्याण्ड आफ्ना राजा भुमिबोलको निधनको शोकमा रहेकाले खेलमा कुनै हुटिङ गर्न निषेध गरिएको हो ।
खेल हेर्न जाने दर्शकले कालो, घुर्मैलो वा सेतो रंगको लुगा मात्रै लगाउन पाउने छन् । ७० वर्षसम्म शासनमा रहेका राजा भूमिबोलको अक्टोबर १३ मा निधन भएको थियो ।
उनको निधनपछि थाइल्याण्डमा एक वर्षका लागि राष्ट्रिय शोकको घोषणा गर्दै नागरिकलाई कालो रंगको कपडा लगाउन र रमाइला कार्यक्रममा सहभागी नहुन भनिएको छ ।
आगामी नोभेम्बर १५ मा हुने खेल पछि सार्न थाई फुटबल एसोसिएसनले आग्रह गरेपनि अस्ट्रेलियाले निर्धारित समयमा नै गराउनुपर्ने बताएपछि हुटिङ प्रतिबन्ध लगाएर खेल आयोजना गर्न लागिएको हो ।