काठमाडौं । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिग अन्तर्गत बिहीबारराति भएका खेलमा म्यान्चेस्टर युनाईटेड, ईन्टर मिलान र शाल्के विजयी भएका छन् ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडले टर्कीको फेनरवाचेले ४–१ ले हरायो । उसको जितमा पाउल पोग्बाले २ तथा एन्थोनी मार्शल र जेसी लिङ्गार्डले एक एक गोल गरे ।
सोही समूहको अर्को खेलमा नेदरल्याण्डको फेयनुर्डले युक्रेनको जोर्या लुहान्स्कलाई १–० ले हरायो ।
युरोपा लिगकै अर्को खेलमा इटालीयन क्लब ईन्टर मिलानले इङ्ल्यान्डको साउथह्याम्पटनलाई १–० ले हराउँदा अर्को ईटालीयन क्लव ए.एस रोमाले अष्ट्रिया भिएनासँग ३–३ गोलको बराबरी खेलेको छ ।
यसैगरी जर्मन क्लब शाल्केले रुसको क्रास्नोडारलाई १–० ले हरायो भने स्पेनको सेल्टा भिगो र नेदरल्याण्ड्सको आयाक्सले २–२ गोलको बराबरी खेलेका छन् ।
युरोपा लिग फुटबलअन्तर्गतका अन्य खेलहरुमा ग्रिसको ओलम्पियाकोस, रुसको जेनिथ, युक्रेनको शाख्तर, ईटालीको फियोरेन्टीना र चेक गणतन्त्रको स्पार्टा प्राग विजयी भएका छन् ।