बग्दाद । लामो समयदेखि इराक र सिरियाको ठूलो क्षेत्र नियन्त्रणमा लिएर हिंसात्मक गतिविधि गरिरहेको आतंकवादी संगठन इस्लामिक स्टेटस् (आईएस) प्रमुखको हत्या प्रयास भएको छ ।
आईएस प्रमुख अबु बकर अल बगदादी गम्भीर अस्वस्थ भएको समाचार बाहिर आएको हो । उनको खानामा बिष मिसाइदा उनी अस्वस्थ भएको इराकी अधिकारीहरुले जनाएका छन् ।
इराकको बेआजमा खाना खाएलगत्तै बग्दादीको स्वास्थ्य खराब भएको इराकी समाचार एजेन्सीले जनाएको छ । उनीसँगै खाना खाएका आईएसका अन्य तीन कमाण्डर पनि अस्वस्थ भएपनि उनीहरुको अवस्था र परिचय भने खुलाईएको छैन ।
उनीहरुलाई गम्भीर अवस्थामा अज्ञातस्थलतर्फ लगिएको जनाइएको छ । अमेरिकी अधिकारीहरुले विष सेवनका कारण बग्दादी अस्वस्थ भएको भनिएको समाचारबारे आफूहरुको ध्यानाकर्षण भइरहेको जनाएपनि वास्तविकता पत्ता लाग्न नसकेको जनाएका छन् ।
आइएसले बग्दादीसहित चार कमाण्डरको खानामा विष मिसाउने व्यक्तिको छानविन सुरु गरेको जनाइएको छ । छानविनका क्रममा आईएसकै केही सदस्यलाई नियन्त्रणमा लिइएको छ ।
अमेरिकाले सन् २०११ मा आतंकवादी घोषणा गरिएका बग्दादीले अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘अलकायदा’ लाई फुटाएर ‘आइएस’ गठन गर्न बग्दादीको मुख्य भूमिका रहेको छ ।