काठमाडौं । सरकारले कालोबजारी नियन्त्रण गर्नका लागि नयाँ ऐन ल्याउने तयारी गरेको छ । कालोबजारी व्यापक भइरहँदा पनि त्यसलाई निउन्त्रण गर्न सरकार असफल भएको आरोप लागिरहेका बेला सरकारले नयाँ कानुन ल्याउने तयारी गरेको हो ।
सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु बिक्री वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरेको आपूर्तिमन्त्री दिपक बोहराले बताए ।
उनले कालोबजारी ऐनलाई समेत कडा तथा धारिलो बनाउने समेत सरकारले तयारी गरेको स्पष्ट पारे ।
सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री बोहराले बजारमा अनियमितता गर्ने र लाभको लागि अखाद्य वस्तु बेच्ने र उपभोक्ताको जीवनमा खेलबाड गर्नेहरुलाई आर्थिक दण्ड गर्ने र ५ देखि २० वर्षसम्म जेल चलान गर्नेसम्मको नयाँ कानुन ल्याउने तयारी गरेको बताए ।
साक्षात्कारमा बोल्दै मन्त्री बोहराले भने,‘अहिलेको कानून संशोधन गर्ने बाटोमा हामी गैसकेका छौं, छिट्टै नयाँ काूनन संसदमा पेश गर्छौं ।’
उनले महँगीविनाको दशैं बनाउनेगरि सरकारले बजार अनुगमनलाई तिव्रता दिएको समेत बताए । उनले भने, ‘अहिले हामीले विभिन्न दश वटा निकायमार्फत बजार अनुगमन गरिरहेका छौं, जनताले राम्रो र सहुलियतमा सामान पाउनुपर्छ ।’
आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा अहिले तीन दशवटै निकायका प्रमुख तथा निर्देशकहरुले बजार अनुगमन तथा मुल्यवृद्धि नियन्त्रणको काम गरिरहेको समेत मन्त्री बोहराले जनाए ।
दशैंतिहारमा चामल, दाल, चिनी, नुन, तेल लगायतका अत्यावश्यक वस्तुहरुको मुल्य वृद्धि नहुनेसमेत मन्त्रीले दाबी गरे । उनले भने,‘सरकारले कडाईका साथ यसबारेमा अभियान छेडेको छ, पर्याप्त निर्देशन दिएको छ, तपाईहरु ढुक्क हुनुहोस् दशैंतिहारमा कुनै हालतमा पनि मुल्यवृद्धि हुँदैन, यदि भएको थाहा पाए हामीलाई खबर गर्नुहोस् हामी तत्काल आइपुग्छौं ।’
मुल्यवृद्धि नगर्ने कुरामा खुद्रा पसलहरुले समेत सरकारलाई साथ दिएको उनको भनाई छ । सरकारले उपभोक्ताको सहुलियतको लागि पनि काठमाडौं, ललितपुर र भक्तपुरमा सुहलियत बजार सञ्चालन गरिरहेको उनले जनाए ।