काठमाडौं । सरकारको मुख्य सचिव भइसकेका लिलामणि पोडेललाई राजदूत बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले नै प्रस्ताव गरेका थिए ।
दाहालकै प्रस्तावमा पौडेललाई उत्तरी छिमेकी मुलुक चीनको राजदूतका लागि सिफारिस गरिएको छ ।
माकेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालकै प्रस्तावमा चीनका लागि सिफारिस गरिएका पौडेलको बुधबार व्यवस्थापिका संदसको संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइसमेत गरिसकेको छ ।
बुधबार संसदीय सुनुवाइका क्रममा पौडेलले आफूले नै राजदूत बन्न नचाहेको तर प्रधानमन्त्री दाहालले राजदूत बन्न आग्रह गरेको समितिमा स्पष्ट गरे । समितिका सभापति चीनकाजी श्रेष्ठले ‘मुख्य सचिव भइसकेको मान्छे किन राजदूत बन्न खोजेको’ भनी प्रश्न गर्दा पौडेलले आफूले नभइ दाहालले नै राजदूत बन्न आग्रह गरेको बताएका हुन् । मुख्य सचिव भइसकेका पौडेल खासमा नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराई नजिकका मानिन्छन् ।
भट्टराईले पौडेललाई प्रयोग गर्न सक्ने भन्दै दाहालले त्यसअघि नै पौडेललाई आफ्नो पक्षमा लिन राजदूत बनाउन लागेका हुन् ।
सुनुवाइका क्रममा पौडेलले आफूले राजदूत भएर काम गर्दा तटस्थ भइ काम गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । आफू कुटनीतिक मामिलामा पनि काम गर्न सक्ने दक्षता प्रस्तुत गरे । कूटनीति भनेको कला, कौशल र चातुर्यता पनि रहेको भन्दै पौडेलले त्यसमा पनि आफू सक्षम रहेको रुपमा अथ्र्याए ।
समितिले बुधबार नै भारतका लागि सिफारिस गरिएका दीपकुमार उपाध्यायको पनि सुनुवाइ गरेको छ । उपाध्याय यसअघि नेकपा माके–एमाले गठबन्धनको केपी ओली नेतृत्वको सरकारले अयोग्य ठहर गर्दै भारतका लागि राजदूतबाट बर्खास्त गरेको थियो । नेपाल सरकारले बर्खास्त गरेका उपाध्यायलाई नै दाहाल नेतृत्वको सरकारले भारतकै राजदूतमा पुनःसिफारिस गरेको छ । यसले राष्ट्रको नैतिकतामा गम्भीर असर परेको छ । कांग्रेस–माके गठबन्धनले भने दीपकुमारलाई नै भारतको राजदूत बनाउनुलाई आफ्नो जीत ठानेको छु ।