गृहमन्त्री र सुरक्षा निकायका प्रमुख घोप्टेभिरमा, घिमिरेको अवस्था अज्ञात

गृहमन्त्री र सुरक्षा निकायका प्रमुख घोप्टेभिरमा, घिमिरेको अवस्था अज्ञात


ghoptebhir-accचितवन ।  त्रिशुली नदीमा भएको जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृह र परराष्ट्रमन्त्री तथा पूर्व मुख्यसचिव माधव घिमिरेको अवस्था अझै अज्ञात रहेको छ ।

आइतबार साँझ जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको थियो भने घिमिरेसहित तीन जना बेपत्ता रहेका छन् ।

दुर्घटनास्थलमा गृहमन्त्री विमलेन्द्र निधि सुरक्षा निकायका प्रमुखसहित घोप्टेभिर पुगेका छन् । निधिका साथमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख दिलिप रेग्मी घटनास्थल पुगेका हुन् ।

गृहमन्त्रीसहितको टोलीले हेलिकप्टरबाट त्रिशुली नदीमा भइरहेको उद्धार प्रयास अवलोकन गर्ने कार्यक्रम छ ।

मुग्लिनबाट टोली चितवन पुगेर अस्पतालमा उपचाररत घिमिरेका चालक विष्णु राईलाई थप उपचारका लागि काठमाडौं ल्याउने जनाइएको छ ।
सोमबार घटनास्थलको निरीक्षण र खोजी कार्यमा आवश्यक निर्देशन दिनका लागि यातायातमन्त्री रमेश लेखक चितवन गएका थिए ।

आइतबार साँझ देखि नै करिब २ सयको संख्यामा रहेका सुरक्षाकर्मीसहितको टोलीले खोजी कार्य जारी राखेपनि अझै पत्ता लाग्न सकेको छैन ।

सुरक्षाकर्मीहरुले त्रिशुली नदीका विभिन्न भाग, रामनगर, मुग्लिन, पुल साइड, कालीखोला साइड, सेती त्रिशुली दोभान, कविलास, जुगेडी, रामनगर, देवघाट, त्रिवेणी लगायतका स्थानमा ब्लक बनाएर खोजी कार्य जारी राखेका छन् ।

दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको मृत्यु भइसकेको छ ।