थालनी
यही २०७३ भदौ २६ र २७ गते नेकपा (क्रान्तिकारी माओवादी) ले देशैभरिका नेता कार्यकर्ताहरुको राष्ट्रिय भेला गरी क्रान्तिकारी संयुक्त मोर्चा “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल”को गठन गरेको छ । संयुक्त मोर्चा गठन प्रक्रिया र त्यसको आगामी कामबारे मोर्चाका अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले पत्रकार भेटघाट गरी सार्वजनिक गरिसक्नुभएको छ । राष्ट्रिय भेला मार्फत् गरिएको संयुक्त मोर्चा निर्माणको नेपाली राजनीतिमा विभिन्न कोणबाट केही जिज्ञासा र टिकाटिप्पणी सुरु भएका छन् ।
यसलाई स्वभाविक रुपमा लिन सकिन्छ तथापि मोर्चाको नीति र कार्यक्रम सार्वजनिक भइसकेपछि नेपालको राजनीतिक फाँटमा यसको वास्तविक महत्व र आवश्यकताका बारेमा थप खुला बहस र छलफलले यसको वास्तविक मर्म अरु स्पष्ट हुनेछ । प्रतिक्रियावाद र विभिन्नखाले अवसरवादी कित्ताबाट खडा गरिने भ्रम संकीर्णता र अपख्याख्याको पनि आवश्यक चिरफारसहित स्पष्ट गरिनेछ ।
वर्तमान अवस्था
नेपालका दुई ठूला देशका बीचमा भूपरिवेष्ठित भौगोलिक धरातलमा खडा भएको एउटा सुन्दर र प्राकृतिक स्रोत साधनले सम्पन्न राष्ट्र हो । यो बाहिरी प्रतिक्रियावादी शक्तिहरु साम्राज्यवाद र विस्तारवाद आन्तरिक रुपमा दलाल नोकरशाह पुँजीपति र सामन्तवर्गको शोषण, दमन र उत्पीडनको चपेटामा आक्रान्त छ ।
सन् १९१६ को सुगौली सन्धी, विभिन्न समयमा बनेका सरकारहरुले छिमेकी देश भारतसँग गरेका असमान राष्ट्रघाती सन्धीसम्झौताहरु र अन्य साम्राज्यवादी मुलुकको गिद्देदृष्टिसहितको चलखेलले नेपाल र नेपाली जनतालाई स्वतन्त्र र स्वाभिमानीपूर्ण तरिकाले विकास निर्माण र आत्मनिर्भर अर्थतन्त्रको निर्माण एवम् विकास गर्नमा ठूलो व्यवधान खडा भएको छ ।
मुलुक अहिले पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा नै जकडिएको छ । राज्यसत्ता अहिले यथास्थितिवादी र प्रतिगमनकारीहरुकै हातमा रहेकोले महान जनयुद्ध र त्यसको आडमा चलेको ऐतिहासिक जनआन्दोलनले प्राप्त गरेको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन ।
गणतन्त्र कस्तो र कसको बनाउने भन्ने छिनाझपटी चलिरहेपनि अहिलेसम्म प्रतिक्रियावादी गणतन्त्रकै रुपमा निरन्तरता पाएको छ । सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने पुँजीवादी जनवादी क्रान्तिले मात्र राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता सुनिश्चिततामा देशलाई अग्रगमनतर्फ लैजान सकिन्छ ।
एक दशकसम्म चलेको महान् जनयुद्धले जुन उच्चता हासिल गरेको थियो, नेकपा (क्रान्तिकारी माओवादी) को चुन्वाङ्क बैठक, १२ बुँदे सहमति र त्यसपछि भएका पटक–पटकका आत्मसमर्पणबाट प्राप्त उपलब्धीहरु जनसत्ता, जनअदालत, संयुक्त मोर्चा र पछि जनमुक्ति सेना लगायतका सबै विषयहरु विघटित र विसर्जन गरिए । मुख्यतः मूल नेतृत्व राष्ट्रिय तथा वर्गीय आत्मसपर्मणवादी विचलन भई नवसंशोधनवादी भासमा पुग्यो ।
क्रान्तिलाई निरन्तरता दिने कुरा त के ? क्रान्तिको नेतृत्व गरेका नेता प्रचण्ड र उनको मण्डलीले प्रतिक्रान्तिको निरन्तरता दिंदै प्रतिगमनको बाटोमा नाङ्गो ढंगले उत्रन पुगे । अहिले भर्खर प्रचण्डको नेतृत्वमा भएको सरकार परिवर्तन र भारतसँग गरेको राष्ट्रघाती सहमतिमा ल्याप्चे ठोकेको प्रमाण यथेष्ट छ । क्रान्ति बीचैमा तुहिएकोले राष्ट्रिय राजनीतिको संकट झन्झन् गहिरिंदै छ ।
दिनदिनैको आकाशिंदो महंगी, भ्रष्टाचार र कमिशनको खेलले संस्थागत रुप लिएको छ । जनजीविकाको प्रश्नमा यदाकदा हुने आन्दोलन र विरोध प्रदर्शनले उल्लेख्य प्रभाव दिन सकेको छैन । कमिशनखोर, भ्रष्टाचारी र दलालहरु झन् हौसिदै उपभोक्तामाथि प्रहार गरिरहेका छन् । सरकार स्वयं कमिशन र भ्रष्टाचारीहरुसँग मिलेमतो राखेको देखिन्छ ।
यदि त्यसो होइन भने सरकारको घोषणा र अनुगमन यति फितलो र वेकम्मा किन ? सरकार केवल सस्तो प्रचारवाजीमा लागेर आत्मरति लिन्छ । वेथिति गर्नेलाई कारबाही गरी नियन्त्रण गर्न किन सक्दैन ? र स्वयं निरिहहरुको संस्था जस्तो किन बन्छ ? यसको चित्तबुझ्दो जवाफ खोइ ? जनता यति मारमा परेका छन् कि त्यसको कुनै सिमा नै छैन । न सरकार जिम्मेवार देखिन्छ न जनता यसका विरुद्ध एकताबद्ध रुपमा सशक्त र जुझारु ढंगले आन्दोलन उठाउन सकेका छन् ।
जनतन्त्रको समस्या पनि त्यत्तिकै जटिल र संकटग्रस्त बन्दै गएको छ । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी तथा गणतन्त्रजस्ता केही विषयहरु सकारात्मक भएपनि सारमा जनपक्षीय रुप ग्रहण गरेको छैन । यी विषयहरु केवल कागजमा देखाउने नाम मात्रका भएका छन् । वास्तविक कुनै कामकाजको विषय बन्न सकेको छैन । महान् जनयुद्ध र जनआन्दोलनको वास्तविक प्रतिनिधित्व भएकै छैन ।
प्रतिक्रियावादी सत्ता र तिनका मतियारहरुले जति महिमा मण्डली गरेपनि कथित दोस्रो संविधानसभामार्फत् घोषणा गरिएको संविधान जनविरोधी र पश्चगामी नै रहन गएको छ । त्यसकारण परिस्थितिमा तात्विक फेरबदल नआएकोले यी सबै समस्या र अन्तरविरोध हल गर्नका लागि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु नै क्रान्तिकारीहरुको कार्यभार हो । अनि मात्र समाजवादी व्यवस्थाको स्थापनाका लागि अघि बढ्ने बाटो प्रशस्त हुनेछ ।
संयुक्त मोर्चा गठन र महत्व
क्रान्तिका तीन साधनमा क्रान्तिकारी पार्टी, पार्टीकै नेतृत्वमा निर्माण गरिने जनमुक्ति सेना र पार्टीकै नेतृत्वमा बन्ने क्रान्तिकारी संयुक्त मोर्चा पर्दछन् । क्रान्ति गर्न मुख्यतः सिद्धान्तनिष्ठ मालेमावादी क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्नु पहिलो र प्राथमिक शर्त हो । जसले क्रान्तिको रणनीति र कार्यनीति निर्माण गर्नु पहिलो प्राथमिक शर्त हो, जसले क्रान्तिको रणनीति र कार्यनीति कार्यदिशा निर्धारण गर्दछ ।
वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमाथि ध्यान दिंदै नेपाली विशेषतामा मालेमावादी आलोकमा क्रान्तिकारी कार्यदिशा निर्धारण गर्नु, त्यसको डटेर कार्यान्वयन गर्नु, अर्को अपरिहार्य काम हो । विचार, राजनीति र कार्यदिशाको आधारमा सर्वप्रथम पार्टीलाई एकतावद्ध अनुशासित र सुदृढ गर्न जरुरी छ । यसै अनुरुप संगठन र संघर्षका विविध रुपहरुको प्रयोग र यसको उचित तालमेलद्वारा मात्र क्रान्तिको नेतृत्व गरी वर्गशत्रुलाई परास्त गर्न संभव हुन्छ ।
त्यसैले पार्टीको अर्को काम यो हो – मजदुर, किसान, महिला, विद्यार्थी, निम्न पुँजीपति वर्ग तथा राष्ट्रिय पुँजिपति वर्ग लगायत सबै क्रान्तिकारी वर्ग र उत्पीडित जनसमुदाय सबै साझा काम कार्यवाहीका साथ एकतावद्ध भएर सर्वहारा वर्गको अगुवाईमा एक राष्ट्रिय क्रान्तिकारी मोर्चा निर्माण गर्नु आवश्यक र अनिवार्य विषय हो । नेकपा (क्रान्तिकारी माओवादी) ले यसैलाई ध्यानमा राखेर क्रान्तिकारी संयुक्त मोर्चा “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल” को निर्माण गरेको हो ।
यो मोर्चाको गठन यसकारणले पनि आवश्यक छ कि नेपाली जनतालाई एकतावद्ध गर्ने कामलाई व्यवस्थित र सुदृढ पार्ने, वर्तमान संकटमाथि विजय प्राप्त गर्न, साम्राज्यवाद–विस्तारवादको हस्तक्षेपकारी नीति र व्यवहारका विरुद्ध नेपाली जनसमुदायलाई अरु जागरुक बनाउनु, कुनै राजनीतिक पार्टी र समूहसँग सम्बन्ध नभएका मानिसहरुलाई एकतावद्ध गर्नु, छिमेकी मुलुकका जनता र सहयोगी पक्षसँग सम्बन्ध विस्तार गरी नेपाल र नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको पक्षमा लड्ने ताकत बढाउनु आदि ।
यसरी नेपाली जनतालाई स्वाधीन, स्वतन्त्र, जनगणतान्त्रिक एकीकृत समृद्धिशाली, स्वावलम्वन शक्ति राष्ट्रको रुपमा नयाँ नेपाल निर्माणका लागि समर्थन प्राप्त गर्नेछौं । यसै उद्देश्यलाई प्राप्त गर्नका लागि यो देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आवश्यकता हुन गएको हो ।
हामीले अन्तर्राष्ट्रिय अनुभवबाट पनि शिक्षा लिन आवश्यक छ । दोस्रो विश्वयुद्धका बेला सोभियत कम्युनिस्ट पार्टी सोभियत सेना र जनताले अरु फासीवाद विरोधी अमेरिका, बेलायत र फ्रान्सका सहयोगी देशहरुका संयुक्त प्रयासबाट नै जर्मनी फासीवादी हिटलरको पराजय सम्भव गरेका हुन् ।
सर्वहारावादी नेता स्टालिनको नेतृत्वमा सोभियत जनताले सोभियत कम्युनिस्ट पार्टी र समाजवादी सत्ताको प्रगतिको महान् निर्माणको काम गरेका छन् र उनीहरु नै फासीवादलाई पराजित गर्ने मुख्य शक्ति बनेका छन् । यो संयुक्त मोर्चाको मुख्य दुश्मनलाई एक्ल्याउने र पराजित गर्ने नीति सुन्दर र अत्यन्तै महानतम् कार्य थियो । यो सबै देशका जनता र संगठित जनवादी शक्तिहरुका निम्ति एउटा बरदान नै सावित भएको छ ।
यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीको जापानी साम्राज्यवाद विरोधी कोमिन्ताङसँगको संयुक्त मोर्चाको नीतिले कोमिन्ताङभित्रको एउटा देशभक्त समूहलाई साझा शत्रुको प्रतिरोध गर्न, जापानविरोधी संयुक्त सेना गठन गर्नमा चिनियाँ कम्युनिस्ट पार्टीलाई साथ दियो । यसले चिनियाँ कम्युनिस्ट पार्टी र मुक्तिकामी जनसमुदायलाई एकतावद्ध गर्न र जापानविरोधी शक्तिहरुको निर्माण र परिचालनका त्यादै महत्वपूर्ण भूमिका प्रदान गरेको छ । यी यस्ता उदाहरण हुन्, जुन हाम्रो सन्दर्भमा बाहिरी रुपमा साम्राज्यवाद विस्तारवाद र आन्तरिक रुपमा त्यसका कठपुतली दलाल नोकरशाही पुँजीवाद र सामन्तवाद विरोधी मोर्चा गठनका लागि प्रेरक बन्न सक्छन् । क्रान्ति सम्पन्न गर्न र सत्ता निर्माण र सञ्चालनका लागि यो संयुक्त मोर्चाको ठूलो महत्व छ ।
संयुक्त मोर्चाबारे केही वैचारिक प्रश्न र ऐतिहासिक कार्यभार
(१) संयुक्त मोर्चालाई रणनीतिक र कार्यनीतिक मोर्चाका रुपमा पनि लिन सकिन्छ । राजनीतिक संयुक्त मोर्चा भन्नाले क्रान्तिको रणनीतिक उद्देश्य पूरा गर्ने हेतुले रणनीतिक उद्देश्यमा एकीकृत वा साझा बुझाई भएमा रणनीतिक संयुक्त मोर्चा बनाउनु पर्दछ । अहिले गठित संयुक्त मोर्चा सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी जनवादी क्रान्ति पूरा गर्ने उद्देश्यमा आधारित मोर्चा “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल” हो । यसै मोर्चाले पार्टी कार्यदिशालाई सहयोग पु¥याउन गरिने ठोस विषयत काममा तत्कालीन कार्यनीतिसँग सम्बन्धित संघर्षका विषयमा कार्यगत एकता वा कार्यनीतिक संयुक्त मोर्चाको काम गर्न सक्छ ।
जनतासँग प्रत्यक्ष जोडिएका विषयहरुमा स्थानीय वा केन्द्रीय आधारमा संघर्ष गर्न यसप्रकारको कार्यनीतिक मोर्चा बनाउन सकिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने तत्कालीन फाइदाको लागि काम गर्दा त्यसले रणनीतिको सेवा गरेको हुनुपर्दछ नकि रणनीतिक उद्देश्यलाई नोक्सान पुर्याउने काम ।
(२) संयुक्त मोर्चा निर्माणको विषयलाई लिएर कतिपयले चुनावी मोर्चाको रुपमा व्याख्या गरेको पाइयो । आफूलाई ‘क्रान्तिकारी’ ठान्नेले ‘वाम’ कोणबाट फलाना चुनावमा भाग लिने भयो भनी दक्षिणपन्थी वा संसदवादी देख्ने, बहिष्कार गरे क्रान्तिकारी ठान्ने त्यस्तै अर्का संसदवादीहरु मोर्चा गठन गरेर अब चुनावमा भाग लिने भयो । हामी र हाम्रै संसदवादी बाटो पछ्यायो भनी व्याख्या र प्रचारवाजी गर्ने । यी दुवै थरिले अति बचकाना सोचबाट आत्मरति गरेको पाइयो ।
यी दुवैको सोचमा कोण अलग भएपनि भनाई दुवैको भ्रमपूर्ण र खोटपूर्ण छ । यथार्थ के हो त ? सर्वहारा वर्गको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले चुनाव उपयोगको कार्यनीति लिएको खण्डमा मोर्चाले चुनावको उपयोग गर्नेछ । यदि बहिष्कारको कार्यनीति अवलम्बन गरेको खण्डमा मोर्चाले चुनाव बहिष्कार गर्नेछ । जुनसुकै अवस्थामा पनि यसलाई संघर्षको माध्यमबाट जनताको सत्ता र संघर्षको साधनको रुपमा प्रयोग गर्नुपर्दछ । तर अहिले नेकपा (क्रा.मा.)ले चुनाव बहिष्कार वा उपयोग गर्ने भन्ने बारेमा कुनै निर्णय गरेको छैन ।
सिद्धान्तः चुनाव उपयोग गरेमा गैर क्रान्तिकारी र बहिष्कार गरे क्रान्तिकारी हुने होइन । यो कार्यनीतिको विषय हो । कुन रणनीतिक उद्देश्यको सेवाको लागि उपयोग गरेको वा बहिष्कार गरेको हो ? त्यस्तै कुन कार्यदिशाको सेवाका लागि हो ? त्यसले मात्र क्रान्तिकारी र गैर क्रान्तिकारी छुट्याउने हो । मनोगतवादी व्याख्या मालेमासंगत हुन सक्दैन ।
(३) बाहिरी रुपमा साम्राज्यवाद–विस्तारवाद र आन्तरिक रुपमा दलाल नोकरशाही तथा सामन्तवर्गको हस्तक्षेप दमन उत्पीडनका विरुद्ध खडा हुने मोर्चा हो । यो आफै पनि एउटा मोर्चा भएकोले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका समस्यालाई लिएर समान विचार राख्ने मोर्चासँग एकता गर्ने वा आंशिक धारणा वा एजेण्डाहरुमा समान सोच राख्ने भएमा कार्यगत एकता गरेर संघर्षको कामलाई अघि बढाउने छ ।
यी सबै सर्वहारा वर्गको पार्टीको नेतृत्वमा परिचालन हुनेछन् । यसका अतिरिक्त अन्तर्राष्ट्रिय रुपमा विश्वका उत्पीडित वर्ग र समुदायलाई एकतावद्ध गर्ने दक्षिण एशियामा भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध एकतावद्ध गर्ने ।
(४) जनताका स्थानीय वा केन्द्रीय विविध समस्याहरुलाई लिएर संघर्षको उठान गर्ने र परिस्थितिको विकाससँगै जनताको बीचको कामलाई लिएर प्रतिक्रियावादी सत्ताको विरुद्ध जनसत्ताको रुपमा अभ्यास गर्दै जानु पर्दछ ।
(५) मोर्चाले संघर्षको कानुनी वा वैधानिक रुपलाई लिएर अगाडि बढ्ने छ । परिस्थिति बदलिएमा अर्थात् सरकारले सशस्त्र दमनको बाटो अपनाएमा परिस्थितिको विकाससँगै संघर्षको गैरकानुनी रुपहरुको पनि प्रयोग गर्नुपर्ने अवस्थालाई आत्मसात गर्न जरुरी छ । सोही अनुरुप संघर्ष र संगठनको उचित तालमेल गर्दै लैजानु पर्दछ ।
(६) राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिको लागि संघर्षको एकरुपतामा लैजाने । राष्ट्रिय मुक्तियुद्धमा वर्गीय मुक्तिलाई सहायकको रुपमा परिचालन गर्ने, आवश्यक मात्रामा विकास गर्ने ।
(७) संयुक्त मोर्चा र पार्टीका अन्य मोर्चाको स्वतन्त्रता दुवैलाई कायम राख्नुपर्दछ । हाम्रो नीति क्रान्तिकारी संयुक्त मोर्चाभित्र स्वतन्त्रता र पहलकदमी कायम राख्ने नीति हो । एकताको साथसाथै स्वतन्त्रता पनि कायम राख्ने नीति हो ।
(८) सबै काम संयुक्त मोर्चा मार्फत् भन्ने भनाई गलत छ । कुनैपनि पार्टी वा मोर्चाले आफ्ना हात खुट्टा बाँध्न हुँदैन । यसमा एकता र स्वतन्त्रतालाई सँगै लैजानु पर्दछ । सहयोग र एकताको नाममा वर्गहरुको स्वतन्त्र चरित्रलाई वलिदान दिनुहुँदैन । अर्कोतर्फ स्वतन्त्रताको नाममा संयुक्त मोर्चाको एकतालाई भाँड्नु पनि हुँदैन ।
(९) भ्रष्टाचार, कमिशनखोर, महंगी, कालाबजारी, व्यभिचारी, वेथिति, अन्याय, अत्याचार, भूकम्प पीडित र विभिन्नखाले भेदभावका विरुद्धको संघर्षका मिल्नसक्ने सँग एकताबद्ध भएर जाने । जनपरिचालनका कार्वाहीमा संलग्न हुने वा समर्थन गर्ने । यसलाई राष्ट्रिय रुपमा मात्र नभएर अन्तर्राष्ट्रवादी भएर पनि सोच्नु र लागु गर्नुपर्दछ । संयुक्त वा संयुक्त नभए एकल रुपमा मोर्चाले संघर्षलाई निरन्तर अघि बढाउनु पर्दछ ।
(१०) सर्वहारा वर्गको अग्रदस्ता नेकपा (क्रा.मा.)ले सञ्चालन गरेको सबैखाले न्यायपूर्ण आन्दोलनमा सक्रिय सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने, जनतासँग जनशैली अपनाउने र जनसत्ता निर्माणमा जनसंघर्षलाई नेतृत्व प्रदान गर्ने आदि ।
(११) देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल नेकपा (क्र.मा.) को नेतृत्वमा निर्माण भएको र पार्टीको नेतृत्वलाई सबै किसिमले स्वीकार गर्ने क्रान्तिकारी संयुक्त मोर्चा हो । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नहुन्जेल यसले क्रान्तिको कामलाई अघि बढाउन पार्टीको नीति र निर्देशनमा क्रान्तिको मोर्चामा निरन्तर डटिरहने छ ।
नेपाली जनताका अवर्णित दुःखकष्टहरुका विरुद्धको संघर्ष संगठित गर्ने अभिप्रायले संयुक्त मोर्चालाई सुदृढ, व्यवस्थित र विस्तार गर्नु आवश्यक छ । यसको लागि मोर्चालाई केन्द्रदेखि गाउँ/टोलसम्म सबै तहमा व्यापक विस्तार गर्न जरुरी छ । संगठन निर्माण दुई किसिमले पहल लिने मोर्चाको निर्णयलाई आत्मसात गरिनुपर्दछ ।
एउटा, संगठित सदस्य जो कटिबद्ध हुन्छ र त्यसले आफ्नो जिम्मको कामलाई गहन रुपलृे सम्हाल्छ भने अर्को साधारण सदस्य जसले संगठनको नीति र त्यसका कार्यक्रमलाई समर्थन गरी यथाशक्य आन्दोलनको कार्यक्रममा सहभागी बन्ने छ । हरेक स्तरमा मोर्चाका नेताहरुले जनतासँग सहभागी भई संगठन निर्माण र विस्तारमा लागि पर्नेछन् ।
महान् जनयुद्धको तयारीको बेला हामीले यस्तै क्रान्तिकारी मोर्चा निर्माण गरेका थियौं । त्यस दौरानमा मोर्चाले पार्टीको कार्यदिशालाई ध्यानमा राखेर प्रचारप्रसार, संगठन निर्माण लगायत आवश्यकता अनुसार संघर्ष र सत्ताको साधनको रुपमा ज्यादै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
अहिले हामी फेरि प्रतिक्रान्तिको प्रतिधक्काले घाइते भएका छौं । फेरि इतिहासको नयाँ ढंगले पुनरावृत्ति भएको छ । यो घाउको मल्हमपट्टी भनेको अर्को सशक्त संघर्षको माध्यमबाट प्रतिक्रान्तिलाई पेचिलो प्रहार गर्दै अग्रगामी क्रानितमा बदल्न आवश्यक भएको छ । क्रान्तिले गम्भीर धक्का खाएको वर्तमान अवस्थामा विगतका सकारात्मक तथा नकारात्मक घट्ना र परिणामबाट हिक्षा लिंदै गम्भीर तयारीका साथ नयाँ ढंगले अर्को सशक्त क्रान्तिको उठानको आवश्यकता छ ।
त्यसैको लागि फेरि यो ऐतिहासिक जिम्मेवारी पूरा गर्न नयाँ ढाँचाबाट क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आवश्यकता भएको हो ।
अन्त्यमा, क्रान्तिकारी संयुक्त मोर्चाको गठन, यसको महत्व र मोर्चाको नीतिगत अवधारणासहित सम्भावना र चुनौतिहरुको पनि माथि चर्चा गरेका छौं । मोर्चाको उद्देश्य र प्रारम्भिक कामका साथै यसले सामना गर्नुपर्ने सकारात्मक तथा नकारात्मक अवस्थाको बारेमा पनि चर्चा भएको छ । मोर्चाको राष्ट्रिय भेलाद्वारा पारित प्रस्तावमा सर्वहारा वर्गको नेतृत्वमा पुँजीवादी जनवादी क्रान्तिको आवश्यकता त्यसमा मोर्चाले खेल्नुपर्ने भूमिकाबारे स्पष्ट पारिएको छ ।
त्यसरी नै क्रान्तिकारी संयुक्त मोर्चाको ऐतिहासिक कामको रुपमा पारित प्रस्तावमा आधारभूत तथा तात्कालिक कार्यक्रमको बारेमा बुँदा/बुँदामा राष्ट्रियता, जनतन्त्र तथा जनजीविका सम्बन्धी विषयलाई लिएर स्पष्ट र सटिक ढंगबाट उठाइएको छ । क्रान्तिको विकाससँगै यी आधारभूत तथा तात्कालिक कार्यक्रमहरुले मूर्तता पाउँदै जानेछन् ।
हामी हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा मार्फत् क्रान्तिकारी जनसमुदायलाई एकजुट गर्न सक्यौं र सम्पूर्ण जनतालाई दृढताका साथ संघर्षमा जुटाउन सक्यौं भने तथा सबै संगठनहरुको उचित तालमेल गरी नेतृत्व दिन सक्यौं भने निकट भविष्यमा निराशाको बादल राम्रोसँग फाट्नेछ । क्रान्तिले विजय हासिल गर्नेछ । विश्वास गरौं क्रान्तिको भविश्य उज्ज्वल छ ।