कास्मिर हमलामा १७ सैनिक मारिए, राजनाथको भ्रमण स्थगित

कास्मिर हमलामा १७ सैनिक मारिए, राजनाथको भ्रमण स्थगित

kasmirएजेन्सी । भारत प्रशासित कास्मिरको उरी सेक्टरमा आइतबार बिहानै एक सैनिक क्षेत्रमा भएको आत्मघाती आक्रमणमा १७ जना भारतीय सैनिक मारिएका छन् ।

आक्रमणका क्रममा चार आक्रमणकारी विद्रोहीको पनि मृत्यु भएको छ । विद्रोहीको आक्रमणबाट ठूलो क्षति भएपछि सेनाप्रमुख दलबीर सिंह सुहाग कास्मिर गएका छन् ।

विहान करिब साढे ५ बजे नै बारामुलाको उरी सेक्टरस्थित सैनिक इलाकामा आक्रमण भएको थियो । कास्मिरमा विद्रोहीहरुको आक्रमणपछि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहको रुस र अमेरिका भ्रमण स्थगित भएको छ ।

उनी सोमबार रुस र अमेरिकाको यात्रामा निस्कने कार्यक्रम थियो । उनले गृहमन्त्रालयका वरिष्ठ अधिकारीहरुलाई जम्मू कास्मिरको अवस्थालाई ध्यानमा राख्न निर्देशन दिएका छन् ।

भारत प्रशासित कास्मिरमा पछिल्ला ७० दिनभन्दा अघि देखि हिंसात्मक घटनाहरु भइरहेका छन् । हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको हत्यापछि कास्मिरमा सुरु भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागी हालसम्म ८५ भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं घाइते भएका छन् ।

शुक्रबार श्रीनगरमा सुरक्षाकर्मीले पक्राउ गरेका एक छात्रको शनिबार शब भेटिएपछि पुनः आन्दोलन सुरु भएको थियो । दुई महिना देखि कास्मिरमा कफ्र्यु जारी छ भने शिक्षण संस्था, बजार पसल समेत ठप्प रहेका छन् ।