विनाकारण क्रान्तिकारी माओवादीका जिल्ला नेता गिरफ्तार

विनाकारण क्रान्तिकारी माओवादीका जिल्ला नेता गिरफ्तार

traffic-violence-in-nepal
यो फोटो समाचारसँग असम्बन्धित भएपनि सान्दर्भिक रहेकोले यहाँ राखिएको हो ।

“दशै आयो कि पुलिस बौलाउन थाल्छन् । के निहुँ झिकेर हुन्छ, जनतालाई दुःख दिएर दण्ड जरिवाना असुलेर भागशान्ति जय नेपाल लाउन तल्लिन हुन्छन् ।”

मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरका जिल्ला सचिवालय सदस्यलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको छ । मुस्लीमहरुको महान चाड बकरईदको तेस्रो दिन भदौं ३० गते बेलुका सत्तार अन्सारी उर्फ सद्दाम हुसैनलाई हेटौडाबाट गिरफ्तार गरिएको हो । एकैछिन बजार पुगेर आइहाल्छु भनेर निस्केका हुसैनलाई सडक किनारमा बाइक रोक्नै नपाई ट्राफिक प्रहरीका इन्स्पेक्टर कृष्ण बहादुर थापाले हेल्मेट खोसेर अपहरण शैलीमा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा लगेर थुनिदिएको पीडित परिवारले दावी गरेका छन् । हुसैनको साथमा भएको मोवाइल प्रहरीले खोसेर अफ गरिदिएपछि परिवारमा रातभर रुवावासी चलेको थियो ।

बकरईदको अवसरमा घरभरि आएका पाहुनालाई छोडेर एकैछिनका लागि बजार निस्केका हुसैनलाई अहिले विनाकारण सार्वजनिक अपराधन्तर्गत म्याद थप गरेर थुनामा राखिएको छ । हुसैनले जहाँ बाइक रोक्न खोजेका थिए, त्यो प्याराफिटमा पार्किङ गर्न नपाइने भनेर सार्वजनिक सूचना, जानकारी वा माइकिङ केही पनि नगरिएकोले यो ट्राफिक पुलिस र प्रशासनको ज्यादती भएको भन्दै भदौं ३१ मा बसेको स्थानीय सर्वदलीय तथा सर्वपक्षीय भेलाले प्रशासनको यस्तो हर्कतको विरोध गर्नुका साथै विनाशर्त हुसैनको रिहाइको माग गरेको छ । रिहाइको लागि नागरिक दबाब बढ्दै गएपछि ट्राफिक पुलिसका इन्स्पेक्टर थापा आफूमाथि हातपात गरेकाले गिरफ्तार गरिएको भन्दै आफ्नो बचाउ गर्न थालेका छन् ।

एक स्थानीयले प्रहरी प्रशासनको ज्यादतीप्रति आक्रोश पोख्दै भने, “दशै आयो कि पुलिस बौलाउन थाल्छन् । के निहुँ झिकेर हुन्छ, जनतालाई दुःख दिएर दण्ड जरिवाना असुलेर भागशान्ति जय नेपाल लाउन तल्लिन हुन्छन् ।” घटनाबारे जिल्ला प्रशासन कार्यालयका डिएस्पी वामदेव गौतमसँग बुझ्दा ड्यूटीमा रहेका इन्स्पेक्टरमाथि हातपात गरेकोले गिरफ्तार गरेर मुद्दा चलाएको बताए । पीडितहरुले भने मुस्लीमहरुको चाडबाडको बेला विना कारण गिरफ्तार गरेर राज्यले मुस्लीमहरुमाथि असहिष्णु व्यवहार देखाएको गुनासो गरे ।