काठमाडौं । नेपाल र भारतबीच तीनवटा पुराना प्रतिबद्धतालाई औपचारिकता दिने गरी शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । तराईमा बन्न लागेको हुलाकी राजमार्गको परामर्शदाता सेवा र परियोजना व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यस्तै, भूकम्पपछिको पुनःनिर्माणका लागि पहिलो संशोधनीय डलर ऋण सुविधा उपलब्ध गराउने विषयमा अर्को समझदारी भएको छ ।
भूकम्पपछिको पुनःनिर्माणका लागि ७५ करोड अमेरिकी डलरको ऋण सुविधा उपलब्ध गराउने नयाँ सम्झौता पनि भएको छ । हुलाकी राजमार्गको सम्झौतासँगै ‘पावर ट्रान्समिसन’ र त्यसका ‘सबस्टेसन’ निर्माण गर्ने विषयमा पनि सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री दाहाल र भारतीय भारतीय समकक्षी नरेन्द्र मोदीको उपपस्थितिमा सम्झौता भएको हो । सम्झौतापछि नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको सम्झौतापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले पञ्चेश्वरलाई अन्तिम रूप दिन छिट्टै दुई देशबीच वार्ता हुने जानकारी दिए ।
दाहालले रोकिएका परियोजनाहरूलाई अगाडि बढाउन कार्यतालिका बनाउने सहमति भएको जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदीले नेपाल आफ्नो नजिकको मित्र भएकोले नेपालको शान्ति, स्थिरता र समृद्धि चाहेको बताए ।