काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी विजयी भएकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा उनले रामचन्द्र पौडेल प्यानलकी मीना पाण्डेलाई हराउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् ।
संघमा सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको संयुक्त प्यानल विजयी भएको हो । कुल ५६ जनाको लागि भएको निर्वाचनमा अध्यक्ष उमा रेग्मी र महासचिव धना खतिवडाको प्यानल नै विजयी भएको छ ।
अध्यक्षमा रेग्मीले ९९८ मत ल्याएकी छन् भने प्रतिस्पर्धी मीना पाण्डेले ७९६ मत ल्याएकी छन् । महासचिवमा विजयी धना खतिवडाले ९६८ र प्रतिस्पर्धी गोमा केसीले ७७६ मत ल्याएकी छन् ।
कोषाध्यक्षमा जानकी सिंह निर्वाचित भएकी छन् । नयाँ कार्यसमितिमा देउवा पक्षबाट ३३ र सिटौला समूहका २३ जना निर्वाचित भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार दिनभर भएको मतदानमा १८१४ मत खसेको थियो । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा ५६ पदका लागि १३३ को उम्मेदवारी परेको थियो ।































