–पार्टीबाट बादल गुटसँगै क्रान्तिकारी युवा लिगको नेतृत्व पनि पार्टी र क्रान्तिबाट पलायन भएपछि आफ्नो संयोजकत्वमा बनेको क्रान्तिकारी युवा लिगको दोस्रो राष्ट्रिय भेला भव्य रुपमा सम्पन्न गराउदै युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । कस्तो अनुभूति गर्नुभएको छ ?
राम्रो प्रश्न गर्नुभयो । एउटा सन्दर्भमा लेनिनले भन्नुभएको थियो, “पार्टी र वर्गभन्दा कोही माथि हुँदैन” । पार्टी, क्रान्ति र वर्गलाई चुनौती दिंदै युवा हेर्ने पार्टीका फ्र्याक्शन इञ्चार्ज विप्लव र सोनाम, युवाका संयोजक दीपक र विवेकहरुले डेढ वर्षको अन्तरालमा दुईपटक युवा मोर्चालाई फुटाएपछि एउटा खाली ठाउँ सिर्जना भयो ।
पार्टी र नेतृत्वले विश्वास गरेर ०४२ सालमा नै अखिल नेपाल युवक संघको केन्द्रमा बसेर काम गरेको अनुभवलाई समेत ख्याल गरेर हाम्रो पार्टीको पुरानो बानेश्वरमा सम्पन्न भएको राष्ट्रिय भेला लगत्तै बसेको बैठकले हाम्रो नेतृत्वमा एउटा आयोजक समिति बनाएर राष्ट्रिय भेला गरेर युवाको नीति, नेतृत्व र कार्यक्रमलाई निरन्तर अगाडि बढाउने गरी २०७३ असार ९ गते अध्यक्ष क.किरण र पार्टीले जिम्मा दियो ।
त्यो अवसर र चुनौतीलाई स्वीकार्दै सम्पूर्ण पार्टीको साथमा लगातार ६८ दिन खटेर भदौ १४ र १५ गते भव्य रुपमा दोस्रो राष्ट्रिय भेला सम्पन्न गरी नेपालको युवा नीतिलाई समेत ख्याल गरेर १६ वर्षदेखि ४० वर्षभित्रका नयाँ र भर्भराउँदा युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा हर्ष र आनन्दानुभूति र हलुका महशुस गरेको छु ।
–क्रान्तिका तीन जादुगरी हतियारको चर्चा हुँदै गर्दा क्रान्तिकारी युवा लिगको भूमिकालाई निकै महत्वका साथ पार्टीभित्र र बाहिरबाट हेरिएको देखिन्छ । नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने सन्दर्भमा क्रान्तिकारी युवा लिगले के कस्तो भूमिका खेल्छ ?
सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार होइन, सिंगै कार्यभार बाँकी छ । सामन्तवादको नेतृत्व गर्ने राजतन्त्र ढलेपनि मूलतः सामन्ती उत्पादन–सम्बन्ध अझै कायम छ । आफ्नो देशको विकासमा लगाउनुपर्ने मानवशक्तिलाई विदेशीलाई हराभरा गर्न पठाएर कुनैपनि देशले विकास गर्दैन ।
राजनीतिक अर्थशास्त्रमा एउटाको खल्तीको पैसा अर्काको खल्तीमा जानुलाई उत्पादन मानिंदैन । भन्सार र कर भनेको उत्पादनको आम्दानी होइन । सरकारले कर लगाउँछ व्यापारीले तिर्छन् र उपभोक्ताहरुबाट झन् बढाएर असुल्छन् । त्यसकारण उत्पादनको क्षेत्र कृषि, उद्योग र सेवा क्षेत्र हुन् । अहिले पनि कूल राष्ट्रिय गार्हस्थ उत्पादनमा उद्योगभन्दा कृषि क्षेत्रकै बढी योगदान छ । अर्को भाग भनेको साम्राज्यवाद हो ।
यो वर्ष हाम्रो व्यापार घाटा बढेर ७ खर्ब भयो । ‘प्रभु’सँग झुक्दिनँ भनेर पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएका पुष्पकमल दाहाल राजनीतिक साक्षरले बुझ्नेगरी ‘प्रभु’ अर्थात् भारतीय विस्तारवादको आशिर्वादका प्रधानमन्त्री बने भनेर सबैले भन्दछन् । त्यसैले साम्राज्यवाद हाम्रो सन्दर्भमा भारतीय विस्तारवादको हस्तक्षेप अझ बढेर गएको छ । जहाँसम्म तीन जादुगरी हतियारको कुरा छ, पार्टी, सेना र संयुक्त मोर्चा ।
हाम्रो पार्टीलाई विसर्जन गराइंदैन । प्रतिक्रियावादी राज्यसत्ता रहुन्जेल यसलाई ह्वाङ्ग पारेर तीनपुस्ते खुलाएर निर्वाचन आयोगमा दर्ता गरिंदैन । क्रान्तिकारी युवा लिग सेना होइन, यो एउटा कम्युनिस्ट उत्पादन गर्ने कारखाना र राजनैतिक संगठन हो । यसले युवा कम्युनिस्ट उत्पादन गर्छ र सेना, असल पार्टीका नेता र मोर्चाका नेता यही क्रान्तिकारी युवा लिगबाटै उत्पादन हुने गर्छ । त्यसकारण यसको महत्व दूरगामी छ ।
–‘क्रान्तिकारी माओवादीमा बुढाहरु मात्रै छन्, युवाहरु छैनन् । भएका युवाहरु विप्लव र बादलले लगे । बुढाहरुबाट क्रान्ति हुँदैन । क्रान्ति त युवाहरुले गर्ने हो, बुढाहरुले गर्दैनन् ।’ भनेर वाम र दक्षिणपन्थी अवसरवादीहरुबाट भइरहेको आक्रमणलाई युवाहरुको यो भेलाले के कस्तो जवाफ दिन सफल भयो ?
हलमा खचाखच भरिएका देशभरिबाट आएका युवाहरु नै यो प्रश्नको पर्याप्त उत्तर हो जस्तो लाग्छ । कम्युनिस्ट पार्टी तीनमा भएको सिद्धान्त वृद्ध, प्रौढ र युवाको राम्रो समायोजन हो । वाम र दक्षिणपन्थीले आरोप लगाएको जस्तो अवस्था हाम्रो पार्टीको होइन । ४०% युवा भएको देशमा अहिलेसम्म पार्टीमा लागेकाहरुमा पनि हाम्रो राम्रो अवस्था हो भने आगामी दिनमा पनि सही राजनीतिक विचार र सिद्धान्त भएकै पार्टीमा युवाहरु लाग्छन् ।
–पार्टी अध्यक्षले युवाहरुको भेलामा विश्वास गरेका युवाहरुबाट पटक–पटक धोका खाइयो भन्नुभयो । यसरी क्रान्तिकारी ठानिएका युवाहरुले पार्टी, क्रान्ति र नेतृत्वलाई धोका दिनु पछाडिको कारण के देख्नुहुन्छ ?
मैले सुने र बुझेसम्म अध्यक्षले जनमुक्ति सेनामा काम गरेका युवाहरुले धोका दिए भनेजस्तो लाग्छ । जनमुक्ति सेना भनेको पार्टी र नेता त होइन नि ! यसका अधिकांश डिभिजन कमाण्डर, ब्रिगेड कमाण्डरहरु क्रान्तिकारी विचारमा आएनन्, तलका सदस्यहरुको शोषण गरेर वर्ग उठाए र आफ्नो वर्ग पविर्तन गरेर नयाँ जनवादलाई छोडेर नवसंशोधनवाद, संसदवाद र सुधारवादमा लागे भन्ने सन्दर्भमा भन्नुभएको जस्तो लाग्छ ।
पूर्व जनमुक्ति सेनामा काम गर्ने तल्लो लेवलका थुप्रै क्रान्तिकारी युवा त क्रान्तिकारी युवा लिगलाई समर्थन गर्ने छँदैछन् । सेना त संयुक्त मोर्चा हो । लडाई लडुन्जेल कांग्रेस, राप्रपा, एमालेका छोराछोरीसमेत भएर जनमुक्ति सेनामा लडे । तिनीहरु सबैलाई प्रशिक्षत गरेर आएका चिनियाँ जनमुक्ति सेनाका कमाण्डर चुतेहले पनि चिनियाँ आठौं पार्टी महाधिवेशनमा माओको विरोधमा दक्षिणपन्थी पेङ ते हुइलाई साथ दिएको हाम्रो अगाडि उदाहरण काफी छ । सिंगै राज्यसत्ता जितेर नयाँ जनवाद ल्याउँदा त त्यो हालत भयो, हामीले क्रान्ति जितिसकेको अवस्था त होइन ।
–तत्कालीन दशवर्षे जनयुद्धमा हजारौं युवाहरुले बगाएको रगतका बीचबाट निर्मित जनमुक्ति सेना, जो एक थोपा रगत नबगाइकन प्रतिक्रान्तिको साधन बन्न पुग्यो । विश्वभरका सर्वहारावर्गले लाजले मुख छोप्नेगरी रातारात जनमुक्ति सेनाको नेतृत्व भ्रष्ट बन्यो र अन्ततः नामेट भएर गयो । यसो हुनुमा कसलाई जिम्मेवार ठान्नुहुन्छ ?
यो कसैको पाप र सनकको कुरा होइन, पुरानो आदतको दासको कारण प्रतिक्रान्ति हुने हो । हाम्रो त क्रान्ति सफल भएको होइन नि ! घाँटी घाँटी क्रान्ति आउँदै गर्दा मुख मुख प्रतिक्रान्ति आएर क्रान्तिलाई खाइदियो । चाल्र्स प्रथमलाई काटेर राजालाई भगाएको बेलायतमा भागेर फ्रान्समा शरण लिएर बसेको राजालाई पुराना सामन्ती भाइभारदारले फेरि गद्दीमा बसालेको र ‘विश्वको बुढो प्रजातन्त्र’ भएको बेलायतमा अहिले पनि ‘संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था छ ।
राजतन्त्रको अन्त्य गरेको फ्रान्समा लुई बोनापार्टले आफैलाई सम्राट घोषणा गरे । विश्वको शक्तिशाली समाजवादी देश सोभियत संघमा एकथोपा रगत नबगाई ख्रुश्चोभले प्रतिक्रान्तिको नेतृत्व गरे । चीनमा तेङ स्याओ पिङले एकथोपा रगत नबगाई प्रतिक्रान्तिको नेतृत्व गरे । अहिले जसरी विश्वबाट सामन्तवादको नेतृत्व गर्ने राजतन्त्र र सामन्तवाद सिद्धिदैछ । त्यसैगरी भविश्यमा पुँजीवाद सिद्धिएर समाजवाद आउँछ । वर्ग शक्ति सन्तुलन नमिलेर त्यसो भएको हो ।
जनमुक्ति सेना भ्रष्ट हुनुमा विचरा ! जनमुक्ति सेनाको केही दोष छैन । बन्दुकले पार्टी चलाउने होइन, पार्टीले बन्दुक चलाउने हो । जनमुक्ति सेनाका सुप्रिम कमाण्डर र राजनीतिक रुपमा भ्रष्ट भएर नवसंशोधनवाद, सुधारवाद र संसदवादमा पतन भएकोले यसो हुन गएको हो । यसो हुनुमा पार्टीको मूल नेतृत्व नै राजनैतिक रुपमा पतन हुनु मुख्य जिम्मेवार हो । जनमुक्ति सेनालाई प्रतिक्रियावादी राज्यसत्ताको सेनामा लगेर विघटन र विसर्जन गराएर प्रचण्डले नामेट गराएका हुन् । आफै नामेट भएको होइन ।
–अहिले माक्र्सवादले गरेको परिभाषालाई नै फेल खुवाउने गरी माओवादी आन्दोलनमा प्रत्यक्ष तथा परोक्षरुपमा जोडिएका अधिकांश युवाहरु, त्यसमा पनि नेतृत्व तहमा रहेका युवाहरुमा ‘घोर अवसरवादी’ चरित्र देखापरेको छ । संक्षिप्तमा यसको अर्थ–राजनीतिक विश्लेषण गरिदिनुस् न ।
हेर्नुहोस्, यो त अन्तर्राष्ट्रिय परिघटना हो । क्रान्तिको हार, असफलता र प्रतिक्रान्ति भएपछि विश्वमा यहाँभन्दा ठूला परिघटना भएका छन् । १९०५ मा रुसको क्रान्ति असफल भएपछि निराशा, पलायनता, कुण्ठा, अश्लिलता, आत्महत्याले ठाउँ लिएको थियो । १८७१ को पेरिस कम्युनको हार भएपछि संसारले धेरै कुरा सिके पनि फ्रान्समा अहिलेसम्म सच्चा कम्युनिस्ट पार्टी जन्मन सकेको छैन ।
मलेसियाको पार्टीको महासचिवले नै गद्दारी गरेर आफ्ना नेता कार्यकर्ताको प्रतिक्रियावादी ब्रिटिश साम्राज्यवादबाट मराएपछि अहिलेसम्म मेलेसियामा कम्युनिस्ट पार्टी छैन । हाम्रोमा त कम्तिमा क.मोहन वैद्यको नेतृत्वमा क्रान्तिकारी विचार, दर्शन, सिद्धान्त र राजनीतिको आधारमा सही कम्युनिस्ट पार्टीको पुनर्गठन गरेका छौं । दलाल, नोकरशाह र सामन्तवाद मिलेर बनेको प्रतिक्रियावादी राज्यसत्ताको ठाउँमा नेपाली विशेषतायुक्त सशस्त्र जनविद्रोह मार्फत् अक्टोबर क्रान्तिजस्तै नयाँ जनवादी नेपालको हामी सबैले सपना देख्नुपर्छ ।
–यस पृष्ठभूमिमा युवाहरुलाई क्रान्तिकारी आन्दोलनमा संगठित गराउन र क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने सन्दर्भमा के कस्ता चुनौतीहरु देख्नुहुन्छ ?
हामीजस्तो निम्न पुँजीवादी समाजमा अलिकति शक्ति नदेख्ने वित्तिकै नौनाडी गलेर फत्याकफुतुक भएर दशतिर छरिने र अलिकति आशा देख्नेवित्तिकै फेरि होस्हवास् गुमाएर रगत छादुन्जेल खट्ने प्रवृत्ति यो ६८ वर्षको नेपाली कम्युनिस्ट आन्दोलनमा समेत हामीले देखिसकेका छौं ।
आफ्नो शक्तिमा विश्वास नगर्ने, आकाशबाट पानी पनि इन्द्र देवताले पारिदिन्छन् र घाम पनि सूर्य देवताले लगाइदिन्छन् भन्ने हाम्रोजस्तो समाजमा माओले यसको उत्तर पहिले नै दिइसक्नुभएको छ । “निम्न पुँजीवादीहरु शक्तिमा विश्वास गर्छन्, शक्ति सत्तामा हुन्छ, सत्ता बन्दुकको नालबाट जन्मन्छ । जोसँग जति धेरै बन्दुक हुन्छ, त्योसँग त्यति धेरै सत्ता हुन्छ” भनेर ।
नेपाली विशेषतायुक्त सशस्त्र जवनविद्रोह संगठित गर्दै जाँदा सेना र प्रहरीमा समेत विद्रोह गराएर नेपाली जनताले प्रतिक्रियावादीहरुको बन्दुक खोस्ने र उतैतिर फर्काएपछि महान् लेनिनले भनेझैं “आधा रसियन त हामीले जित्ने निश्चित भएपछि अक्टोबर २४ को मध्यरातमा हामीतिर आए” भनेझैं हामीले धैर्यतापूर्वक क्रान्तिलाई संगठित गरौं । अघि बढ्ने युवाहरुको खाँचो हुने छैन ।
–करिब ५० देखि ७० लाख युवाहरु अहिले वैदेशिक रोजगारीमा छन् । उनीहरुकै पसिनाको कमाइको हिस्सा ‘रेमिटेन्स’ले यहाँको राज्यव्यवस्था चलिराखेको छ, तर ती युवाहरुले आफ्नो घरपरिवारसँगै बसेर आफ्नै देशमा रोजगारी पाउने खालको व्यवस्थामा परिवर्तन आउन सकेको छैन । व्यवस्था परिवर्तनको आन्दोलनमा उनीहरुलाई कसरी सहभागी गराउन सकिन्छ ?
यसका दुईओटा पाटाहरु छन् । विदेशमा पढाई, रोजगारी र सीप सिकेर केही युवाहरु आफ्नै देशमा केही गर्नुपर्छ भनेर पनि आएका छन् । त्यो मरुभूमिमा १ थोपा पानीजस्तो मात्र भएको छ ।
भोली जब विदेशमा सिकेको सीप आफ्नो देशमा लगाउनुपर्छ भनेर युवाको ठूलो हिस्सा देशमा आउनेछ, त्यतिखेर पुरानो राज्य मेशीनरी र पुरानो उत्पादन सम्बन्ध स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा वाधक देख्छ, त्यसपछि दोस्रो विश्वयुद्धबाट फर्केर आएका भाडाकै सिपाही भएपनि राणाविरोधी आन्दोलनमा लागेझैं यहाँका पुराना र बेकम्मा संसदीय पार्टी, नेता र व्यवस्थाका विरुद्ध नयाँ जनवादी व्यवस्थाको पक्षमा थाहै नपाइकनै पनि लाग्न वाध्य हुनेछन् ।
–गाउँ गाउँका जनताहरुको तपाईंहरुलाई हेर्ने दृष्टिकोण चाहिं कस्तो पाउनु भएको छ ?
अहिले त हामी (क्रान्तिकारी माओवादी) दयाका पात्र जस्तो भएको पाउँछौं । नसकेर हो कि नगरेर हो, यिनीहरु सापेक्ष इमानदार छन् भन्छन् । जब हामीले साँच्चै नचाहेर नालीमा मुख गाडेनौं भन्ने कुरा प्रमाणित गर्नेछौं । त्यतिखेर मात्र हामी २ करोड ७५ लाख नेपालीको आशाको केन्द्र बन्नेछौं ।
–सूचना–प्रविधिको अभूतपूर्व विकास र भौतिक विज्ञानमा भइरहेका नयाँ नयाँ आविष्कारहरुले खडा गरेका चुनौतीहरुको सामना गर्दै सर्वहारावर्गीय क्रान्तिलाई गन्तव्यसम्म पु¥याउन सक्ने विचार, नेतृत्व र कार्यदिशाको चुनौतीको क्रान्तिकारी माओवादीले कसरी सामना गर्दैछ ?
तपाईले ठीक प्रश्न उठाउनुभयो । यो विकास चुनौती मात्र नभएर संभावना पनि हो । जब भौतिक विज्ञानमा भएको अभूतपूर्व विकासका स्रोत साधन ९५% शोषित जनताको हातमा आउनेछ । ७ अर्ब ६० करोड उत्पीडित शोषितहरुले विश्वका ४० करोड (५%) शोसकहरुलाई एउटै चिहान बनाउने छन् ।
विचार, राजनीति र भौतिक हिसाबले समेत उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक उपयोग गर्दै विश्वका श्रमजीविहरुको चौथो अन्तर्राष्ट्रिय बनाएर नयाँ विचार, नेतृत्व र कार्यदिशा जन्माउने छन् र यो विश्वमा वैज्ञानिक समाजवाद ल्याइछाड्नेछन् ।
–माके र विप्लव माओवादीभन्दा क्रान्तिकारी माओवादी के कति कारणले सही र क्रान्तिकारी छ ? संक्षिप्तमा बताइदिनुस् न ।
माकेको के कुरा गर्ने ? प्रचण्डले हाम्रो पार्टीलाई पठाएको पत्रमा यो राज्यसत्ता प्रतिक्रियावादी हो भनेर लेख्नुभएको छ । प्रतिक्रियावादी राज्यव्यवस्थाको लाउके भएर कसका विरुद्ध क्रान्ति गर्दै हुनुहुन्छ ? ‘संसदीय व्यवस्थाको भ्रममा नपरौं, नयाँ जनवादी क्रान्तिको तयारी गरौं’ भन्दै १५ हजार नेपाली आमाका होनहार छोराछोरीहरुको वलिदान पछि “यो व्यवस्था संसदीय व्यवस्था हो” भनेर धारा ७४ मा लेखिएको कुरामा सही धस्काउने प्रचण्डबाट तपाई के आशा गर्नुहुन्छ ? यो त ‘१ हजार मुसा मारिसकेपछि विरालो हज गर्न गएको’ नेपाली उखानजस्तै हो ।
१५ हजार मानिस मरिसकेपछि संसदीय व्यवस्थामा पुनः मुसीको भव भएर पदार्पण भएपछि अब के बाँकी रह्यो र ? विप्लवजीहरुको त अज्ञानताले संसारको सेवा गर्न सक्दैन, दर्शन, विचार, राजनीति, सिद्धान्तको कुनै टुङ्गो बाँकी नभएको, ‘आन्दोलन नै सबैथोक हो, लक्ष्य केही होइन’ भनेजस्तो राजनैतिक र फौजी कार्यदशा प्रष्ट नभएको, मालेमावादमा हुँदै नभएको एकीकृत जनक्रान्तिको कार्यदिशा बोकेर कुहिराको काग झैं रुमल्लिनुभएको छ । अहिले धेरै कुरा नगर्दा राम्रो होला ।