काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा साल्ट ट्रेडिङ कर्पोरेशनलाई दिने तयारी गरेको छ ।
सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्य अगाडि बढाउने तयारी गरिएको छ ।
साल्ट ट्रेडिङको ५४औँ वार्षिकोत्सवमा भएको कार्यक्रममा आपूर्ति मन्त्री दीपक बोहराले, सरकारले ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारणको कार्य अघि बढाउने नीतिगत तयारी गरिसकेको जानकारी दिए ।
अहिले साल्ट ट्रेडिङले विशेषगरी दैनिक उपभोग्य वस्तु नुन, चिनी, चामल, गेडागुडी साथै मल, गहुँका बिउ सुपथ मूल्यमा बिक्री गर्दै आएको छ । गत आर्थिक वर्षमा साल्ट ट्रेडिङले एक लाख ८० हजार मेट्रिक टन नुन, ३० हजार मेट्रिक टन चिनी तथा ८५ हजार मेट्रिक टन रासायनिक मल बेचेको थियो ।