दाहालको भारत भ्रमणको यस्तो छ तालिका

प्रकाशित मिति : २०७३ भाद्र २७

Unified CPN-Maoist Chairman Pushpa Kamal Dahalकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकी मुलुक भारतको भदौ ३० गतेदेखि गर्ने भ्रमणको तालिका सार्वजनिक गरिएको छ ।

दाहालले भदौ ३० देखि आगामी असोज २ गतेसम्म चारदिने भ्रमण गर्नेछन् । परराष्ट्र मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री भारतको भ्रमणमा जान लागेका हुन् ।

भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारत सरकारको विशिष्ठ अतिथिका रुपमा भारतीय राष्ट्रपति भवनमा बस्नेछन् । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा प्रकाशशरण महत हाल नयाँ दिल्लीमा रहेर उच्चस्तरीय भेटवार्ता गरेका छन् । महतले सोमवार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरी दाहालको भ्रमणको एजेण्डाबारे छलफल गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा महत, व्यवस्थापिका–संसद्का सांसद, विभिन्न मन्त्रालयका सचिवहरु, उच्च सरकारी अधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत पुगेलगत्तै प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ भने राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भदौ ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा सहभागी हुनुहुनेछ भने महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

सोही दिन प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति प्रणव मुखर्जीबीच शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उनले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नेछन् ।

यस्तै, प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशमा निर्माणाधीन नाथ्पा झाँक्री जलविद्युत् परियोजनाका साथै हरिद्वारमा रहेको पतञ्जली योगपीठ र त्यससँग सम्बन्धित विभिन्न उद्योगको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, प्रधानमन्त्री दाहालले नयाँ दिल्लीमा बसोबास गर्दै आएका नेपाली समुदायका उद्योगी तथा व्यवसायीसँग अन्तक्र्रिया गर्ने पनि कार्यक्रम तय भएको छ । सबै कार्यक्रम सम्पन्न गरेर प्रधानमन्त्री दाहाल आगामी असोज २ गते स्वदेश फिर्ता हुनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।