पुँजीवादी व्यवस्थाका विरुद्ध जाग्दो मजदुर आन्दोलन

पुँजीवादी व्यवस्थाका विरुद्ध जाग्दो मजदुर आन्दोलन

ishwor-timilsinaपुँजी भनेको मृत श्रम हो र यो रक्तपिपासु पिशाच जीवित श्रम चुसेर बांँचेको हुन्छ र जति बढी जीवित श्रम यसले चुस्दछ, त्यति बढी मोटाउँछ । कार्लमाक्र्सको पुँजीवादी युगमा श्रमिकवर्गको श्रमको दोहन गरेर, श्रम चुसेर पुँजीपतिवर्गले कसरी आफ्नो मोटोपन कायम गर्दछ र आफ्नो प्रभुत्व र वैभव कायम गर्दछ भन्ने कुराको गहन अनुसन्धनात्मक अर्थशास्त्रीय संश्लेषण हो ।

जिउँदो र वास्तविक श्रम चुसेर श्रमिकहरुको विशाल हिस्सालाई मृत बनाई पुँजीलाई आफ्नो राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा कसरी प्रभुत्व कायम गरिरहेको हुन्छ ? र त्यसबाट श्रमिकवर्गले मुक्ति प्राप्त गर्न के गर्नुपर्छ ? कम्युनिष्ट घोषणा पत्रमार्फत् माक्र्सले ‘संसारका श्रमिकहरु एक हौं’ भन्ने आव्हान गरेर व्यक्त गर्नुभएको छ ।

एकातिर पुँजीपतिवर्गले राज्यसत्तामा प्रभुत्व जमाएर श्रमिक वर्गमाथि शोषणको वैधानिकता हासिल कायम गरेर अनि पुँजीपतिवर्गका विविध संघ/संगठन गरेर श्रमिकवर्गको शोषणको जटिल संजाल निर्माण गर्दछ । फलतः श्रमिकहरुको विशाल शिविर क्रमसः निजी सम्पत्ति र जीविकाका साधरण आवश्यकता समेत गुमाएर सर्वहारा वर्गमा धकेलिन विवश हुन्छ । यो श्रम र पुँजीबीचको अन्तरविरोधबाट श्रमिकवर्गको बृहत् आन्दोलनको ढोका खोल्ने कारण बन्दछ ।

देशमा श्रमिकवर्गको संघर्षको पनि लामो इतिहास छ । लामो संघर्षको पृष्ठभूमिका बावजूद श्रमिकवर्गले जीवनमा जे प्राप्त गर्नुपर्ने थियो, त्यो प्राप्त गर्न सकिरहेका छैनन्, बरु झन् झन् वर्ग धरातल खस्केर दैनिक जीवन समेत कष्टकर बनिरहेको छ भने अर्कोतिर पुँजीपतिवर्गले आफ्नो पुँजी र वैभवलाई गुणात्मक रुपमा बढाउदै लगिरहेको छ । परिणामतः एकातिर पुँजीतपतिवर्गको मुठ्ठीभर हिस्सा अजीर्ण भएर मर्न र अर्कोतिर श्रमिकवर्ग भोक, अभाव र शोकले मर्नुपर्ने स्थितिको सिर्जना भैरहेको छ ।

राज्यसत्तामा पुँजीपतिवर्गको एकाधिकारका कारण श्रमिकवर्गलाई सामाजिक न्याय, ट्रेड युनियन अधिकार, रोजगारीको हक जस्ता न्यूनतम मानवोचित हकबाट समेत वन्चित हुनुपरेको छ । मुठ्ठीभर पुँजीपतिवर्गले श्रमिकवर्गको विशाल हिस्सालाई शोषणको जुवामुनि कैद गर्न सक्नुमा पुँजीपतिवर्गको योग्यता नभएर श्रमिकवर्गको कमजोरीका कारणले हो भन्ने कुरा ठीक ढंगले बुझ्न नसक्ने हो भने हामीले श्रमिक आन्दोलनलाई नेतृत्व गर्न सक्ने छैनाैं ।

पुँजीपतिवर्गको सफलता पछाडिको रहस्य भनेको श्रमिक आन्दोलनमा खेलेर फूट पार्नु हो । अर्कोतिर, मजदुर वर्गको कमजारी भनेको पुँजीपतिवर्गले श्रमिक आन्दोलनमा कसरी खेल्छ र फूट पार्दछ भन्ने कुरा बुझ्न र त्यस प्रकारका योजनाहरुलाई कसरी ध्वंश पार्ने भन्ने कुरामा कुशलताका साथ अगाडि बढ्न नसक्नुमा रहेको छ ।

खासगरी निजीकरण, उदारीकरण र भुमण्डलीकरणको विश्वव्यापी पुँंजीवादले (साम्राज्यवाद)ले श्रमिकवर्गको दोहन गर्न र श्रमिक आन्दोलनमा उठेका बहस र विचारहरुलाई पुँजीपतिवर्गको हितअनुकूल हुने गरी फेर्नका लागि मजदुर आन्दोलनको नीति निर्माण तहमा आफ्नो परियोजनाहरु लागू गर्दछन् । खासगरी ILO, UNI जस्ता कथित संस्थाहरुद्वारा नेतृत्वलाई नजानिदो गरी खरिद गर्दछन् ।

मजदुरहरुको हितको नारा दिएर मजदुरवर्गीय आन्दोलनलाई समाप्त पार्नु यसको मूल अभिष्ट रहेको हुन्छ । मजदुर अगुवाहरुमा रहने कमजोर चेतना र निम्न पुँजीवादी मनोवृत्ति वा स्वार्थलाई प्रयोग गरेर विभिन्न परियोजना लागू गर्न प्रोत्साहन गर्दछन् र करोडौं रुपैंयाँ लगानी गरिरहेका हुन्छन् ।

नेतृत्वको मुख्य हिस्सालाई देश विदेशमा कथित तालिम, भ्रमण, शिक्षणका नाममा ती परियोजना सन्चालन गरिन्छ । मजदुरहरुको संघर्षको मुख्य मुद्दा वा विषयलाई विषयान्तर गर्न श्रमिक शिक्षाका नाममा विविध कार्यक्रमहरु पनि श्रमिकहरुको समूहमा लागु गर्नका लागि लगानी गरिरहेका हुन्छन् । बर्षौं लगाएर अरबौं रुपैयाँ लगानी गरेर श्रमिक अगुवा र केही मुठ्ठीभर कार्यकर्ताहरुलाई आफ्नो प्रभावमा पार्दछन् ।

जब श्रमिकवर्गका नेतृत्वदायी हिस्सालाई पुँजीपतिवर्गको हित र सेवामा काम गर्न लायक बनाउछन्, तब श्रमिकवर्ग र नेतृत्वको बीचमा नयांँ वर्ग पैदा हुन्छ, त्यो नेतृत्व अभिजातवर्गमा बदलिन्छ, फलतः श्रमिक आन्दोलनको नेतृत्व तिनै अभिजातवर्गद्वारा पुँजीपतिवर्ग स्वयंले श्रमिक आन्दोलनको नेतृत्व गर्दछन् र श्रमिकवर्गको कमजोर चेतनामाथि खेलेर श्रमिक आन्दोलनलाई पुँजीवादीदिशातिर मोड्दछन् ।

अर्कोतिर स्वयं देशभित्रकै पुँजीपतिवर्ग आफैंले श्रमिकहरुका प्रतिष्ठानमा नेतृत्व गरिरहेका अगुवाहरुलाई विशेष सुविधा दिएर आम मजदुरहरु र नेतृत्वको सम्बन्धलाई टुटाईदिन्छन् र मुठ्ठीभर नेताहरुमा नाफाको सानो हिस्सा वितरण गरेर हजारौं मजदुरहरुमाथि लुट मच्चाउँछन् ।

श्रमिकवर्गमा फूट पार्नका लागि पुँजीपतिवर्गले अपनाउने बृहत रणनीतिबारे हामीले अझै विशद व्याख्या र अनुसन्धान गर्न जरुरी छ । तैपनि आजसम्मका सामान्य अध्ययनले के देखाएको छ भने श्रमिक आन्दोलनमा भ्रम पैदा गर्न र फूट पार्नका लागि पुँजीपतिवर्गले कथित ठूला भनिएका ट्रेड युनियनहरुलाई आफ्नो कठ्पुतली बनाइसकेको देखिन्छ भने अर्कोतिर ती कठ्पुतली ट्रेड युनियनप्रति श्रमिकवर्गको विश्वास पनि टुट्दै गइरहेको छ र सच्चा क्रान्तिकारी श्रमिकहरुको संगठन निर्माणको प्रक्रियाले गति लिदैंछ । साम्राज्यवादी र पुँजीपतिवर्गको प्रभावबाट मुक्त रहेको नयाँ र जुझारु मजदुर आन्दोलनको ढोका समेत खुलेको छ ।

अन्त्यमा, हामी के भन्न सक्छौं भने कथित उदारीकरण र भूमण्डलीकरणको नारा दिएर संसारका श्रमिकहरुको श्रम चुसेर मोटाएको विश्व पुँजीवादले श्रमिक वर्गको पनि विश्वव्यापी असन्तोष र प्रतिरोधको सामना गर्न परिरहेको छ । गतवर्ष अमेरिकामा भएको वाल स्ट्रीट कब्जा गरौं भन्ने नाराका साथ भएको लाखौं श्रमिकहरुको आन्दोलन कथित श्रम कानूनमा सुधारका नाममा पुँजीपतिवर्गले थोपर्न खोजेको मजदुर विरोधी कानुनका विरुद्घ फ्रान्समा श्रमिकवर्गमाथि भएको विद्रोह र हालसालै २० करोड श्रमिकहरुको ऐक्यबद्घतामा र सवा करोड श्रमिकहरुको सहभागितामा भारतमा भएको भारत बन्द आन्दोलन नयाँं र विकसित हुदै अगाडि बढिरहेको छ ।

नेपालमा पनि पुँजीपतिहरुको नाफा सुरक्षित र विस्तार गर्नका लागि कथित नयाँं श्रम ऐनमार्फत् बेलगाम लुटको निमित्त मुठ्ठीभर ट्रेड युनियनहरुलाई जसरी प्रयोग गरिरहेको छ, हामी सचेत श्रमिकवर्गको क्रान्तिकारी मजदुर आन्दोलनको विकास र विस्तार ध्वस्त पार्ने नयाँं संकल्प गर्न सक्यौं भने नेपाली मजदुरहरुको भविष्य उज्वल छ र हामीले सक्नुपर्दछ ।

(लेखक अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक हुन् ।)