काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको नेतृत्व गर्ने ब्यक्तिलाई जोखिम लिने छुट दिनुपर्ने बताएका छन् । आसन्न भारत भ्रमणका सन्दर्भमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा दाहालले जोखिम लिने छुट नदिए नेता बनाउन नसकिने बताए । उनले आफू त्यहि जोखिम मोलेर नै भारत जान लागेको बताए ।
“नेताले नेतृत्व गर्ने हो, लकिरको फकिर हुने होइन, नेतृत्वले नेतृत्व गर्ने क्रममा जोखिम लिन्छ, त्यो छुट दिनुपर्छ’, दाहालले भने, ‘यदि जोखिम लिने छुट दिनुहुन्न भने नेता बनाउन सकिँदैन ।’ उनले ठूलो चुनौती र जोखिमका बीचबाट नै मुलुक जनयुद्ध सम्पन्न भएको बताए । शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाबाट संविधान जारी पनि जोखिम मोलेर नै भएको उनले उल्लेख गरे ।
दाहालले आफ्नो भारत भ्रमणका क्रममा नेपाली जनताको आधारभूत हित, स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विरुद्ध कुनै पनि कुरा नहुने प्रतिवद्धता व्यक्त गरे । आफ्नो आसन्न भारत भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम दिनेमा केन्द्रित हुने उनले बताए ।
नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने भन्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि विश्व राजनीतिमा शक्तिशाली दुई मुलुकको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले नेपाली जनताको परिवर्तन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न दुई देशबीचको सम्बन्धलाई सन्तुलित गर्नुपर्नेमा जोड दिए । नेपाल–भारत सम्बन्धमा दरार पैदा गर्दै जानेतिर नभइ समस्या समाधान गर्नेतिर नेपालको हितमा अधिकतम कुटनीतिक र राजनीतिक पहल लिने आवश्यकतामा नेतृत्व गर्न खोजेको उनले दाबी गरे ।
संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल गर्ने र अब आइन्दा त्यस्तो अवस्था आउन नदिने वातावरण बनाउने उनले दाबी गरे ।