काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सहिदहरु सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) को १७ औं स्मृति दिवस आज देशभर मनाउँदै छ ।
मूलबाटोलाई प्राप्त जानकारी अनुसार पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा अपरान्ह एक कार्यक्रमका बीच उक्त स्मृति दिवस मनाउदैछ भने नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (माओवादी)ले संयुक्त रुपमा गोरखामा स्मृति दिवसको आयोजना गरेका छन् ।
२०५६ साल भदौ २३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोख्रेल ‘बैरागी’ लाई गोरखाको गाँखुमा पुलिसले गिरफ्तार गरी हत्या गरेको थियो ।
जनयुद्धका क्रममा माओवादी पार्टीका तर्फबाट सहादात प्राप्त गर्ने सुरेश वाग्ले र भीमसेन पोख्रेल माथिल्लो ओहोदाको पार्टी नेता थिए । २०४७ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा होमिएका सुरेश वाग्ले २०५२ मा माओवादी पार्टीको योजनामा सँगै भूमिगत भएका थिए ।
गोरखाको आँपपिपल गाविस–५ स्थित रातडाँडाँ भन्ने ठाउँमा वि.सं. २०१० भाद्र २४ गते जन्मिएका वाग्ले सानैदेखि विद्रोही स्वभावका थिए । करिब १७ वर्ष शिक्षण सेवामा विताएका वाग्ले २०२७ सालदेखि नै कम्युनिष्ट पार्टीमा आवद्ध हुँदै आएका थिए ।