एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनका क्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्तेसँग भेट गर्न अस्वीकार गरेका छन् ।
शिखर सम्मेलनमा जानुअघि डुटर्तेले ओबामामाथि गाली गरेका थिए । व्हाइट हाउसका अधिकारीले अब ओबामाले दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हेईसँग भेट गर्ने जनाएका छन् ।
फिलिपिन्सका राष्ट्रपतिले लाओसमा आफूहरुलाई मानवअधिकारको भाषण नगर्न चेतावनी दिएका थिए । दुवै नेताबीच आज मंगलबार भेट हुने कार्यक्रम रहेको थियो ।
उनले फिलिपिन्स एक सम्प्रभुता सम्पन्न देश भएको र यसको मालिक फिलिपिन्सकै जनता भएको भन्दै आफ्नो देशको बारेमा अरु कसैको निर्णय र हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए ।
फिलिपिन्समा ड्रग तस्कर र सरकारबीच पछिल्ला केही समययता भिडन्त जारी छ । यस अभियानका क्रममा मानवअधिकारको विषयलाई लिएर डुटर्ते विवादमा रहेका छन् ।
३० जुनमा उनले सत्ता सम्हालेयता मात्रै २४ सय भन्दा बढी मानिस मारिएको अनुमान छ । दोस्रो विश्वयुद्धको समयमा अमेरिकाको उपनिबेश रहेको फिलिपिन्समा मानवअधिकारको विषयलाई लिएर अमेरिकाले चिन्ता जनाउँदै आएको छ ।