क्रान्तिविना जनताको मुक्ति सम्भव छैन

क्रान्तिविना जनताको मुक्ति सम्भव छैन

Harka shahiनेपाल यतिबेला क्रान्ति र प्रतिक्रान्तिबीचको संक्रमणकालीन अवस्थामा छ । क्रान्ति यतिबेला पछि परेर प्रतिक्रान्तिले मुन्टो उठाउने ठाउँमात्रै पाएको छैन, क्रान्तिकारीलाई समाप्त पार्नका लागि ठूलै कसरत पनि भइरहेकै छ । तर, क्रान्ति र प्रतिक्रान्तिको यो समयमा पनि क्रान्तिकारीहरु आफ्नो लक्ष्य प्राप्तीका लागि संघर्षको मैदानमा जुटि नै रहेका छन् ।

यसै सन्दर्भमा हामीले पछिल्लो राजनीतिक अवस्था र क्रान्तिकारीहरुको भूमिकालगायतका विषयमा नेकपा (क्रान्तिकारी माओवादी) का थारुवान इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर शाहीसँग कुराकानी गरेका छौं । सोही कुराकानीको सारसंक्षेप

नेकपा (क्रान्तिकारी माओवादी) थारुवानको पछिल्लो स्थितिबारे बताइदिनुहोस् न ?
बादल गुट नवसंशोधनवादी पुच्छरवादमा विलय भएपछि थारुवान राज्यमा संगठनमा ठूलो क्षति पुग्यो । त्यही कालखण्डमा थारुवान मेरो कार्यक्षेत्र बन्नपुग्यो । हामीले काठमाडौंमा जे आँकलन गरेका थियौं, कार्यक्षेत्रमा आउँदा भिन्न स्थिति देखियो । हामी सम्पर्क मात्र बनाउन सक्ने सोचका साथ कार्यक्षेत्रमा प्रवेश गरेको त बाँकेबाट शुरु भएको कार्यकर्ता भेला बैठक गर्दै दाङसम्म पुग्दा पाँचवटै जिल्ला समिति बनाउन सफल भयौं ।

हाल एरिया, नगर र गाउँसम्म एकपछि अर्को गरी समिति बनाउने काम जारी छ । पश्चिम कमाण्ड भेला पनि अध्यक्ष क. किरणको प्रमुख आतिथ्यता र कार्यालय सदस्य वरिष्ठ नेता सिपी गजुरेलको उपस्थितिमा भएको सम्प्रेषण प्रशिक्षणबाट कार्यकर्तामा थप उर्जा थपिएको छ । भाद्र १५ गते सुकुम्वासीमाथि राज्यले गरेको ज्यादतीको विरुद्ध बाँके, बर्दिया, कैलाली, कञ्चचनपुर दाङमा चक्काजाम, सिडिओ कार्यालयमा ज्ञापनपत्र दिने, कोणसभा गर्ने काम सम्पन्न भएका छन् ।

थारु समुदायमाथि राज्य व्यवस्थाले गरेको उत्पीडन कस्तो छ र त्यसको मुक्तिको सही मार्ग के हो ?
थारु समुदायमाथि राज्यले युगौंदेखि शोषण गर्दै आएको छ । हरेक जातिभित्र वर्ग छ । थारुहरु पनि नगन्य संख्यामा पंचायतकाल देखि सरकारमा मन्त्री बन्दै आएका छन् । तिनीहरु जमिन्दार वर्गमा पर्दछन् । बहुसंख्यकमा रहेका थारुहरु उनीहरु भूमिपूत्र भनिए पनि धेरै जसोसँग जमिन छैन ।

जीवन निर्वाहको लागि जमिन्दारको घरमा कमैया, हरुवा, चरुवाका रुपमा काम गर्दै आएको अवस्था हो । २०२० सालको महेन्द्रकालीन भूमिसुधारको बेला पनि मोहीयानी हकमा जमिन पाउने प्रावधान भएपनि युगौदेखि शिक्षा, राजनीति र आर्थिक दृष्टिबाट पछाडि पारिएका थारु समुदायको संगठित आवाज उठ्न सकेन र दिइएन । ०४६ को परिर्वतन पछि कांग्रेस एमाले सत्तामा पुगे ।

उनीभित्र धेरै जमिन्दार नेता भएको कारणले कमैया मुक्ति र पुर्नस्थापनाको नाममा कमैया हरुवा–चरुवा निकालियो । एनजिओ आइएनजिओमार्फत् कमैया मुक्तिको नाममा डलर खेति गरियो ।

देशका तीन जिल्लामा मोहियानी हकमा गरिव जोताहा किसानहरुले जमिन पाए । ७२ जिल्लाका जोताहा किसान कानुनी प्रावधान हुँदाहुँदै जमिन्दार पहाडका ठूला ठालूहरुले कमैया, हरुवा चरुवा र हली गोठालालाई ठगे । सरकारले पनि कानुन भएपनि कागजमा नै सीमित राख्यो । गरिव किसान डलर खेती र विप्रेषण कमाएर देश चलाउने साधन मात्र बनेका छन् ।

यसरी गरिव किसान र उत्पीडन लाद्ने व्यवस्था कायम राख्ने र पंचायतबाट बहुदल, बहुदलबाट लोकतान्त्रिक गणतन्त्ररुपी व्यवस्थाका शासक मात्र फेरिएर थारु समुदायको मुक्ति हुँदैन । थारु समुदायको मुक्तिका लागि नयाँ जनवादी क्रान्तिलाई विजयसम्म पुर्याउनुको कुनै विकल्प छैन ।

भारतले चौतर्फी रुपमा बाँधेका बाँधका कारण यस भेगका वासिन्दाहरु वर्षायाममा नराम्ररी प्रभावित बनिरहेका छन् । पूर्वी तराईमा त जनताले बाँधै भत्काइ दिए । यहाँका जनतामाथि भारतीय ज्यादती विरुद्धको आक्रोश कस्तो पाउनु भएको छ ?
अन्यायको विरुद्ध लड्ने हरेक मानिसको अधिकार हो । विश्वमा साम्राज्यवाद र विस्तारवादी उत्पीडन छ । नेपाल मात्र हैन, साम्राज्यवादी युद्ध आतंकले आइएस र बोकोहराम जन्मायो । दक्षिण एसियामा भारतीय विस्तारवाद बारेमा पनि चुप लागेर बस्ने छैनन् ।

नेपालका राष्ट्रघाती दलाल र विस्तारवादको हेपाहा प्रवृत्तिले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत बनाइएका बाँधले बाँकेमा लक्ष्मणपुर बाँधको नजिकका गाविस डुवान पारेका छन् । त्यस्तै, कैशालपुर बाँधले कैलालीका जनताको विल्लीवाँठ बनाएको छ । भारतीय विस्तारवादी र त्यसका चाकर दलालहरुको विरुद्ध पीडित जनताको आक्रोशको ज्वाला बढ्द्छ, मर्ने बेलामा कुखुराले पनि छडि हान्छ भन्छन् ।

यहाँका जनताको धैर्यताको बाँध टुट्यो भने पूर्वी तराईभन्दा भयानक स्थिति आउने अवस्था छ । रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ । सरकारको हाल यस्तो छ ।

राष्ट्रियता र जनतन्त्रको लडाइँमा थारु समुदायको सहभागिता कस्तो रहदै आएको छ ?
थारु समुदाय पनि नेपाली धर्तीमा नै जन्मिएको हुनाले हाम्रो सामाजिक जीवनको प्रतिविम्ब त्यहाँ छ । कैलाली घटनाले थारु समुदाय र पहाडी समुदायमा विश्वासको दरार पैदा भएको छ । जहाँ अभाव, अन्याय हुन्छ, त्यहाँ आक्रोश पनि हुन्छ । थारु समुदाय अहिले पनि सरकारी रवैयाको विरोधमा छ तर केही थारुहरु शक्तिको पुजारी पनि छन् ।

नीति, सिद्धान्तका कुराभन्दा संसदवादको बाटोबाट आफ्नो स्वार्थ पुरा गर्न कति थारु नेताहरु लागिरहेका छन् । हामीले पनि क्रान्तिकारी विचारबाट मुक्ति हुन्छ भन्ने समुदायलाई संगठित गर्दै गएका छौं । थारु मात्र होइन, राष्ट्रियता, जनजीविका, जनतन्त्रको अभावमा पुरा देश छट्पटाइराखेको बेलामा थारु जाति पनि संघर्ष गर्न तयार छ । मैले माथि नै भनिसके भेडा भेडातिर बाख्रा बाख्रातिर भइरहेको छ ।

आम शोषितपीडित थारु समुदायलाई क्रान्तिकारी माओवादी झन्डामुनि गोलबन्द गर्न कसरी सकिएला ?
त्यसलाई गोलवन्द गर्नको लागि हाम्रो क्रान्तिकारी नीति र कार्यक्रम पहिलो आधार हो । दोस्रो, त्यस क्षेत्रमा काम गर्ने कार्यकर्ताको निरन्तर लगनशीलता, निम्न वर्गीय जनताको भावना र पीडासँग निरन्तर खेल्न र विश्वास जित्न सक्नुपर्दछ । जनताको मन जित्ने कुराको मुख्य कसी व्यवहार हो । त्यो साहित्यमा फूलवुट्टा भरेजस्तै सरल सहज हुँदैन । जनताको सुखमा हाँस्ने र दुःखमा रुन सके, उत्पीडित वर्गका थारु समुदाय मात्र नभएर देशभरका उत्पीडन परेका जनता हामीसँगै लामवद्ध हुनेछन् ।

के वर्तमान संविधानको संशोधनबाट थारु समुदायलाई अधिकार सम्पन्न बनाउन सम्भव छ ?
यो संविधानको प्रस्तावनाकालदेखि नै शर्तवद्ध हिसावले गणतन्त्र, संघीयताको कुरामा विमति थियो । एक युगमा एक पटक आउने संविधानसभा भनिए पनि २ वर्षमा संविधान बनाउने भनिएकोमा ४ वर्ष पुग्दा संविधानसभाको अवसान गरियो । जनताको ताजा म्यान्डेड सेलाइसकेको अवस्थामा म्याद गुज्रेको औषधीजस्तो नियम कानुनको धज्जी उडाएर दोस्रो संविधान सभाको निर्वाचन गराउने कुराले संविधान नेपाली जनताको लागि कि अरु कसैको लागि भन्ने कुरा प्रष्ट भैसकेको थियो ।

त्यो संविधान दलाल आत्मसमर्पणवादी र विस्तारवादीको लागि बनेको थियो । थारु समुदायको लागि यो संविधानले अधिकार नदिएकोे विरोधमा टिकापुर घटना भएको हो । त्यो आन्दोलनमा हाम्रो पनि ऐक्यवद्धता थियो । पछि विस्तारवादी घुसपैठ भएपछि हामी त्यसबाट पछि हटेका हौं । यो संविधानमा भएका केही सकरात्मक उपलब्धी गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी गुम्ने संकेत देखापरेका छन् । बाँकेमा ५०÷६० जनाको जमातले गणतन्त्रमा पनि राजाको मुर्ति राखेका छन् ।

संविधानमा लोकतान्त्रिक गणतन्त्र लेखिएको छ । सरकार गणतन्त्रका बारेमा उदासिन छ । के अहिले सरकारी गठबन्धन बेविकिंग, संवैधानिक राजतन्त्र, विस्तारवादको आदेशमा गरेको हर्कत हैन भनी चर्चा गर्छ । त्यस्तो दलीय सिन्डीकेटबाट बनेको संविधानले फ्रान्सको इतिहासको झल्को दिन थालेको त होइन भन्ने शंका उब्जिएको छ । शोषित–पीडित थारु समुदायको मात्र होइन, देशैभरिका कामदार जनताका लागि कौवालाई वेल पाक्यो, हर्ष न विस्मात जस्तै चरितार्थ भएको छ ।

क्रान्तिकारी माओवादीले स्थानीय विशेषतासहित थारुवानलाई कसरी जनविद्रोहमा उठाउँदै छ ?
क्रान्तिकारी माओवादीले तल्लो तटिय क्षेत्रमा बनाइएका बाँधहरु र माथिल्लो कर्णालीको राष्ट्रघाती सम्झौता विरुद्ध संघर्ष गरिरहेको छ । तल्लो तटीय सीमा क्षेत्रमा कानुन विपरीत बनाइएका बाँधले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका जनतालाई प्रत्यक्ष असर गर्दछन् । लक्ष्मणपुर बाँधले वर्षायाममा डुवान पार्छ भने सुख्खायाममा त्यहाँ पानी प्रयोग गर्न पाइदैन । कैलाली कन्चनपुरमा त्यस्तै हालत छ ।

अर्कोतिर माथिल्लो कर्णाली परियोजनाले पनि प्राविधिकको रिपोर्ट अनुसार रानीजमरा, सुर्यपटुवा, राजापुर सिंचाई योजनालाई पानीको जोडदार बहावले नहर भत्काउने र लगाएको खेती बाली नै उखेली दिने बताइएको छ । यसरी वर्दिया, कैलालीका धेरै जसो किसान जनतालाई यसले प्रभाव पार्छ र यो मुद्दा स्थानीय विशेषतासँग जोडिएका छन् ।

यो मुद्दालाई पार्टीले जोडदार रुपले उठाएको छ । अर्को, तराई भागमा थारुवानमा धेरै जसो सुकुम्वासी वस्तीहरु छन् । त्यस्मा नक्कली सुकुम्वासी छानविन गरी सक्कली सुकुम्वासीको प्रमाणीकरण गरेर सुकुम्वासी जनताको गाँस वासका लागि निरन्तर संघर्ष गर्ने र दैनिक घुलमिल गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।

दायाँ र वायाँबाट भइरहेको आक्रमणको स्थानीय तहमा कसरी प्रतिरोध गरिरहनु भएको छ ?
कम्युनिष्ट आन्दोलनभित्र दक्षिणपन्थी संशोधनवाद र वामपन्थी अवसरवाद एकसिक्काका दुईपाटा हुन् । आखिर दायाँ र बायाँबाट गरिने क्षणिक हर्कत मात्र फरक हुन् । त्यसको गन्तव्य एउटै हुन्छ । आफ्नो शक्ति सुदृढ भैसक्दा आत्मगत परिस्थिति अनुकूल हुँदा अन्तर्राष्ट्रिय स्थिति मिलाएर परिवर्तनको लागि तयार नुहुनु दक्षिणपन्थी अवसरवाद हो भने आत्मगत परिस्थिति तयार नहुँदै अन्तर्राष्ट्रिय परिस्थितिको तयारीविना जाइलाग्ने वामपन्थी अवसरवाद हो ।

यसको बारेमा व्यापक कार्यकर्तालाई विचराबाट प्रशिक्षित पार्नु र अन्य मध्यपन्थी अकर्मन्यता र जड्सुत्रवादका बारेमा प्रष्ट पार्दै सैद्धान्तिक संघर्षको माध्यमबाट यसको प्रतिरोध गर्ने उपाय र माध्यम हुन् । त्यसै माध्यमबाट दक्षिणपन्थी संशोधनवाद, वाम अवसरवादलाई र अन्य खाले मध्य र जड्सुत्रवादका बारेमा पनि प्रष्ट पार्दै, उदांगो पार्दै जानु पर्दछ । दक्षिणपन्थीहरु आफ्नो उदांगो नांगो आँखाले देख्ने हर्कत गर्दैछन् । माक्र्स एंगेल्सको तस्वीर साम्राज्यवादीको डरले लुकाउने काम गर्नुले आफै उदांगो भएको छ । माकेले तीन हजार केन्द्रीय सदस्य बनाएर उदांगो भएको छ । अरु हर्कत शान्तिकाल पछि दर्जनौं छन् ।

पटक पटक धोका खाएको जनतालाई माओवादीप्रति कसरी आशावादी बनाउन सकिएला ?
नेपाली जनताले प्रत्येक आन्दोलन परिवर्तनका लागि साथ सहयोग र बलिदान गर्दै आएका छन् । जनताको बलिदानको नेपाली नेताहरुले सम्मान र चाहनालाई कदर गर्न सकेनन् । त्यसले नेपाली जनताले पीडा भोग्नु परेको छ । नेपाली जनताका विश्वका जनताभन्दा परिवर्तनप्रति सचेत नै छन् । नेपाली जनताको समस्याको समाधान हुनुभन्दा समस्या झन् जटिल हुँदै गएका छन् ।

विश्वस्त नहुनु भनेको जनता, नेताका गल्तीका कारणले सचेत र सजग भएका छन् । जनतालाई भेडा बाख्रा सोच्ने प्रवृत्ति सदैव कायम रहन सक्दैन । वेइमानहरुको राज सँधै चलिरहँदैन । जनताको आँखा दुरविन सरह हुन्छन् । हामीले जनताको मर्म बुझ्न सके, नेपाली जनता परिवर्तनको पक्षमा उभिने छन् । त्यसमा हामीले शंका गर्नुपर्ने कुनै कारण छैन ।

२००६ सालमा स्थापना भएको नयाँ जनवादी क्रान्तिको झन्डा उठाएको नेपाली कम्युनिष्ट आन्दोलन निष्कर्षमा नपुग्नुको कारण के देख्नु हुन्छ ?
२००६ सालमा स्थापित कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय हिसावले पनि एउटै थियो । त्यतिखेर संसारभरिका कम्युनिष्टहरुको केन्द्र रुस थियो । रुस जब १९५६ मा खुश्चेभको नेतृत्वमा गयो, रुस संशोधनवाद र सामाजिक साम्राज्यवादमा फस्न पुग्यो । रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन हुन पुगेपछि दुईवटा अन्तर्राष्ट्रिय कम्युनिष्ट शक्ति केन्द्र बन्न पुगे ।

त्यसले गर्दा कम्युनिष्ट आन्दोलन विभाजित हुनपुग्यो । रुस पक्षधर र चिन पक्षधरका अलग अलग खेमा बन्न पुगे । त्यसले गर्दा कम्युनिष्ट आन्दोलन विभाजित हुन पुग्यो । नौलो जनवाद, अर्धसामन्ती, अर्ध औपनिवेशिक मुलुकमा हुने कम्युनिष्ट नेतृत्वको हुने समाजवादको बाटो प्रशस्त गर्ने क्रान्ति हो ।

नेपालमा नौला जनवादी क्रान्तिको लागि बन्दुक नठाएको कम्युनिष्ट पार्टी कमै छन् । दीर्घकालीन जनयुद्ध त्यसले माग गर्दछ । बन्दुक उठाएपछि कहाँ पुगेर विसाउने त्यो मुख्य कुरा हो । नौलो जनवादका लागि लड्ने हिजो र आजको परिस्थितिमा भिन्नता छ । हिजोको अर्धउपनिवेश नवउपनिवेशमा बदलिएको छ । अहिले पुँजी र श्रम शक्ति दुइटै पलायन भएको स्थिति छ । वित्तीय पुँजी बढ्दो छ ।

राष्ट्रिय पुँजीपति र दलाल पुँजीपतिको बारेमा पहिचान गर्न आवश्यक छ । ००६ सालमा साम्राज्यवाद विस्तारको अवस्था फरक थियो । सूचना संचारमा पनि धेरै ठूलो हेरफेर आएको छ । सामान्त ढलेपछि सामन्तवादी उत्पादन सम्बन्ध कायमै छ । सहर र गाउँमा पनि फरक आएको छ । यिनी सबै कुरा अनुसन्धानबाट तालमेल मिलाउनै पर्छ ।

नेपाली विशेषताका आधारमा व्यापक जनता परिचालन गर्न अहिले अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल छ । तर उत्पीडित वर्गलाई एकाकार गर्नुपर्ने हुन्छ । सामान्तवादको ठाउँ दलाल पुँजीवादले लिएपनि सामन्तवादी उत्पादन सम्बन्ध कायमै छ । नेपाली प्राकृतिक स्रोतलाई बहुराष्ट्रिय कम्पनीको पञ्जाबाट मुक्त गरी राष्ट्रिय उत्पादनलाई बढाउनु पर्दछ ।

भ्रष्टाचारको अखडा बनेका नेपालको लगानी समेत भ्रष्टाचार गर्ने एनजिओ आइएनजिओलाई देशबाट धपाउन नसक्नु हो । अर्को कुरा पटक पटक पार्टीको नेतृत्वमा रहेको व्यक्तिहरुमा आएको विचलन र क्रान्तिप्रतिको गद्दारीले गर्दा हो । यी दुवै स्थितिको निर्मम समीक्षा अहिलेको आवश्यकता बनेको छ ।

अब क्रान्तिकारी माओवादी नयाँ जनवादी क्रान्ति निष्कर्षमा पुर्याउने अभिभारा पुरा गर्न के कस्तो उपाय लगाउँदै छ ?
नौलो जनवादी क्रान्तिका आधारहरु अहिले पनि विद्यमान छन् । उत्पादन सम्बन्धमा खासै फरक आएको छैन  । सामान्तवादको नायक राजतन्त्र ढलेपनि सामन्तवर्ग कमजोर भएको छैन ।

दलाल पुँजीपति वर्गले साधान स्रोत विदेशीलाई दिएर नेपालको श्रमशक्तिलाई विप्रेषण लाभका लागि विदेश पलायन गराएको छ । देशका राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड जल, जमिन, जंगल, जडिबुटी विदेशीलाई दोहन गराएर कमिशन आधारमा बाँचेको दलाल सामन्तको विरुद्धमा उत्पीडनमा परेका सबैखाले वर्ग, जातिका मानिस एकाकार भई, दलाल साम्राज्यवादी, विस्तारवादी र बहुराष्ट्रिय एनजिओ आइएनजिओ समेत यो देशबाट हटाएर राष्ट्रिय पुँजीपति वर्गलाई देशको अर्थतन्त्र विकास गर्न दिएर औद्योगिकीकरण बाटो प्रशस्त गर्नुपर्छ । यसका लागि नयाँ जनवादी क्रान्ति अनिवार्य छ र क्रान्तिविना जनताको मुक्ति सम्भव छैन ।