सामिया प्रकरण : हत्याअघि बलात्कार भएको सनसनीपूर्ण खुलासा

samia_shahidएजेन्सी । पाकिस्तानमा कथित सम्मानको नाममा बेलायतमा बस्ने सामिया शाहिदको बलात्कारपछि हत्या भएको सनसनीपूर्ण खुलासा भएको छ । 

हत्याकाण्डको छानविन गरिरहेका अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् । बेलायतको ब्रैडफर्डमा बस्ने २८ वर्षीया सामियाको जुलाईमा पाकिस्तानको पञ्जाबमा हत्या भएको थियो । 

उनकै बाबु र पूर्वपतिले हत्या गरेको जनाउँदै उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । पाकिस्तानी अधिकारीहरुले घटनाबारे छानविन गर्नका लागि सामियाकी आमा र बहिनीलाई समेत सोधपुछका लागि पाकिस्तान बोलाउने कोशिस भइरहेको जनाएका छन् ।

सामियाको हत्याको घटनाबारे अनुसन्धानका क्रममा अहिलेसम्म दुई जनालाई अदालतमा पेश गरिएको छ । स्थानीय प्रहरीले सामियाका पूर्वपति चौधरी मोहम्मद शकिलले हत्या गरेका थिए ।

सामियाका बाबु चौधरी मोहम्मद शाहिदले हत्यामा सघाएको प्रहरीको भनाई छ । सामिया आफ्नो परिवारसँगको भेटघाटका लागि पाकिस्तान आएकी थिइन् ।

सामियाका वर्तमान पति मुख्तार काजिमले उनको दोस्रो विवाहबाट परिवार खुसी नरहेको र सोही कारण हत्या गरेको बताउँदै आएका छन् ।