कोलम्बियाली सरकार र फार्क विद्रहीबीच शान्तिसम्झौता

कोलम्बियाली सरकार र फार्क विद्रहीबीच शान्तिसम्झौता

‘शान्ति’ असाध्यै प्यारो शब्द । संसारका धेरै मान्छेको मुखमा झुण्डिने तर, कमै मान्छेले मात्रै व्यवहारमा लागु गर्ने शब्द पनि हो– शान्ति । संसारमा सबैभन्दा बढी शान्ति र लोकतन्त्रको कुरा सायद अमेरिका र पश्चिमा राष्ट्रले नै गर्दछन् । तर, आज उनीहरुकै कारण सबैभन्दा धेरै अशान्ति र हिंसा मच्चिएको छ । इराक, अफगानिस्तान पछिल्ला दिनमा सिरिया, यमनलगायतका देश, लेबनान, प्यालेष्टाईन र इजराजयलको संघर्षको केन्द्रमा जहिले पनि अमेरिकासहितका पश्चिमा राष्ट्रहरु नै सामेल भए । सन् २०११ मा सिरिया, इजिप्ट, लिबियालगायतका देशमा सुरु भएको आन्दोलनका पछि पश्चिमा राष्ट्रको ठूलो डिजाइन रहेको कुरा समयसँगै छर्लङ्ग भयो ।
active fighters
कुनै पनि मानिसको ५२ वर्षको उमेर, कुनै देशको ५२ वर्षको समय धेरै महत्वपूर्ण र महंगो छ । पछिल्ला आधा शताब्दीमा विश्वका कतिपय देशले आफ्नो विकासको गतिलाई चरमचुलीमा पु¥याउन सफल भएका छन् भने कतिपय तेस्रो विश्वका देशहरु साम्राज्यवादका पक्षधर र साम्राज्यवादविरोधी तप्कामा आफूलाई उभ्याउँदा उभ्याउँदै आन्तरिक र बाह्य हस्तक्षेप र द्वन्द्वको सिकार भएर धेरै पछि परेका पनि छन् । नेपालमा निरंकुशताको अन्त्य र प्रजातान्त्रिक शासन प्रणाली स्थापना भएको ६६ वर्ष पुगेको छ । तर, कहिल्यै पनि यहाँका राजनीतिक दलका नेताले सचेततापूर्वक आफ्नो खुट्टामा उभिएर राष्ट्र हाँक्ने हिम्मत नगर्दा हामी अझै विकासको चरणमा प्रवेश गर्न सकेका छैनौं । यस्तै थुप्रै देश छन्, जहाँ आन्तरिक किचलोका कारण राष्ट्र सँधै ओझेलमा नै प¥यो । त्यस्तै देशमध्ये एउटा हो, कोलम्बिया । कोलम्बियामा सबैभन्दा ठूलो विद्रोही संगठन फार्क करिब ५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्न सहमत भएसँगै शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । शान्ति सम्झौताको इमान्दारितापूर्वक कार्यान्वयनको सुरुआतबाट मात्रै संघर्षका अन्त्य हुनसक्छ । जे भएपनि कोलम्बियामा पाँच दशकदेखि जारी वामपन्थी फार्क विद्रोहीको गृहयुद्ध औपचारिक रूपमा अन्त्य भएको छ ।
Farc leader Alfonso Cano was killed in a bombing raid in 2011
शान्ति सम्झौता
करिब चार वर्षअघिदेखि जारी वार्ता प्रक्रियासँगै वामपन्थी विद्रोही समूह फार्क र सरकारबीच युद्ध अन्त्य गर्दै शान्तिपूर्ण ढंगले सबै समस्याको हल खोज्ने कुरामा सहमति जुटेको हो । वार्ता प्रक्रिया सफल भएसँगै ५२ वर्षको युद्ध अन्त्य हुने खुसियालीमा हजारौ कोलम्बियन जनताले सडकमा उत्रिएर खुसियाली मनाउँदै शान्ति सम्झौताको स्वागत गरेका छन् । कोलम्बियामा ५२ वर्ष चलेको गृहयुद्धका कारण करिब २ लाख ६० हजारको मृत्यु भइसकेको छ भने हजारौं विस्थापित भएका छन् । कोलम्बियामा युद्धका क्रममा हरेक १० जना कोलम्बियालीमध्ये एक जना आन्तरिक शरणार्थीको रूपमा जीवन विताउन बाध्य छन् । शान्ति सम्झौता भएसँगै कोलम्बियाका राष्ट्रपति जुवान म्यानुअल सान्तोषले युद्धका कारण दुःख र विछोड हुने प्रक्रिया अन्त्यको सुरुवात भएको बताएका छन् ।
कोलम्बिया सरकार र फार्क विद्रोहीले शान्ति सम्झौतापछि जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘सरकार र फार्कबीच भएको शान्ति प्रक्रियाका क्रममा हामी पूर्ण रूपमा निष्कर्षमा पुगेका छौं ।’ क्युबामा सम्पन्न शान्ति सम्झौतामा कोलम्बियन सरकारको वार्ता टोली प्रमुख हुम्बेर्टो डे ला कल्ली र फार्क वार्ता टोलीका प्रमुख इभान मारक्वेजले हस्ताक्षर गरेका छन् । कोलम्बियामा दुई वर्षसम्म भएको गोप्य वार्ता र संवाद तथा चार वर्षको औपचारिक वार्ताको परिणामस्वरूप शान्ति सम्झौता भएको हो । ‘हामी हाम्रो लक्ष्यमा पुगेका छौं’, सरकारी वार्ता टोलीका प्रमुख डे ला कल्लीले भने, ‘युद्ध अन्त्य भएर नयाँ प्रक्रियाको सुरुवात भएको छ । यो सहमतिले समावेशी समाज निर्माणका लागि ढोका खोलेको छ ।’
फार्क विद्रोही समूहका वार्ता टोलीका प्रमुख इभान मारक्वेजले आफूहरूले कोलम्बियामा शान्ति स्थापनाको सबैभन्दा सुन्दर युद्ध जितेको प्रतिक्रिया दिएका छन् । कोलम्बियामा वामपन्थी फार्क विद्रोहीले सन् १९६४ देखि लगातार छापामार युद्ध सञ्चालन गर्दै आएको थियो । शान्ति सम्झौताका लागि २ नोभेम्बर २०१२ मा शान्ति वार्ताको सुरुआत भएको थियो । फार्क विद्रोही समूहले सञ्चालन गरेको गृहयुद्ध ल्याटिन अमेरिकी क्षेत्रको सबैभन्दा लामो र पुरानो युद्ध समेत हो । शान्ति सम्झौतासँगै फार्क विद्रोही संगठनले आफ्नो वेबसाईटमा लेखेको छ, ‘शान्तिका लागि ५१ वर्षको संघर्ष ।’

Farc founder Manuel Marulanda Velez

को हुन् फार्क विद्रोही ?
कोलम्बियाको सबैभन्दा ठूलो वामपन्थी विद्रोही संगठन रिभोल्युसनरी  आर्मड् फोर्सेस अफ कोलम्बिया (फार्क) लामो समयदेखि युद्धरत संगठन हो । फार्क विद्रोही संगठन सन् १९६४ मा माक्र्सवाद–लेनिनवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त र मुख्य राजनीतिक विचार मान्दै स्थापना भएको हो । यसका मुख्य संस्थापक सामान्य किसान र खेती गर्ने वर्गका व्यक्ति थिए । उनीहरुले त्यसबेलाको कोलम्बियामा चरम रहेको असमानता विरुद्धमा संगठित रुपमा संघर्ष सुरु गरेका थिए । फार्कसँग केही सहरी संगठन समूह र ग्रामीण गुरिल्ला समूह थिए ।

कति थिए लडाकु ?

फार्क विद्रोही संगठनमा कम्तिमा पनि ६ देखि ७ हजार सक्रिय भूमिगत सैनिक थिए । फार्क सपोर्ट नेटवर्कमा करिब ८ हजार ५ सय सहभागी थिए । सन् २००२ सम्ममा फार्कमा करिब २० हजार सक्रिय लडाकुहरु रहेको भएपनि त्यसपछि फार्क विद्रोहीले युद्धका क्रममा नराम्रो धक्का खान पुग्यो । त्यससँगै फार्क लडाकुहरु पलायनसमेत भए । सन् २०१२ मा शान्ति वार्ता प्रक्रियाको सुरुवातसँगै फार्क लडाकु संगठनमा आबद्धहरुको संख्या घट्यो । फार्क लडाकुमा एक तिहाई महिला रहेका छन् । त्यहाँ पुरुषभन्दा महिला लडाकु बढी कट्टर हुने गरेको पाइन्छ । फार्कले कोलम्बियामा साना साना लडाकु समूहदेखि ठूला समूह समेत निर्माण गरेको थियो । फार्कको यो सिंगो संरचनालाई दर्जनबढी शीर्ष नेताहरुले नेतृत्व प्रदान गरेका थिए । यी सबैको नेतृत्व एलियास तिमोचेन्को नामबाट परिचित फार्क नेता रोड्रिगो लण्डोनो इचेभेरीले गर्दथे ।

किन फार्कले हतियार उठाए ?
विचारको कुनैपनि रुपका विरुद्ध पनि कोलम्बिया सरकारले विध्वंसात्मक कारबाही गर्न थालेको समयमा फार्क विद्रोही संगठन जन्मिएको हो । कोलम्बियामा ठूलो असमानताको बिचमा फार्क समूहले संघर्षको थालनी गरेको हो । जहाँ देशको जमिनको ठूलो हिस्सा सानो कुलिन वर्गको स्वामित्वमा छ । कोलम्बियाका शासकवर्गले ऋण तिर्नका लागि १९ औं शताब्दीको अन्त्य र बीसौं शताब्दीको सुरुवाती वर्षमा नै निजी धनाढ्यहरुलाई ठूलो जमिनको क्षेत्र बेचेका थिए । सन् १९५० को दशकमा क्युवाको क्रान्तिबाट प्रेरित भएर र उनीहरुले अधिकार र जमिनमाथि आफूहरुको हक स्थापित हुनुपर्ने माग गरे । कम्युनिष्ट आदर्शअनुसार नै उनीहरुले जमिन्दार र राज्यलाई जमिनमाथिको एकाधिकार अन्त्यका लागि दबाब दिए । तर, उनीहरुको कम्युनलाई ध्वस्त पार्नका लागि सेना पठाइयो । त्यसपछि फार्कले सेनाका विरुद्ध सेना निर्माण गर्दै कोलम्बियामा सशस्त्र संघर्ष गर्ने निर्णय गरेको थियो ।

Farc has acquired some heavy weapons over the decades

कोलम्बिया फार्क विद्रोहअघि शान्त थियो ?
कोलम्बियामा धेरै लामो समयअघि नै सशस्त्र संघर्ष सुरु भएपछि धेरैको मनमा त्यसअघि त शान्त थियो होला भन्ने प्रश्न उठ्न सक्छ । तर, कोलम्बियामा फार्क जन्मिनुअघि पनि १० वर्षसम्म गृहयुद्ध चलेको थियो । त्यस संघर्षका क्रममा करिब २ लाख देखि ३ लाखसम्म मानिसहरु मारिएको अनुमान छ । सन् १९४८ मा लिबरल पार्टी नेता तथा चर्चित राष्ट्रपतिका उम्मेदवार जर्ज इलिसेर गाइतानको हत्यापछि हिंसा सुरु भएको थियो । राजधानी बोगोटामा उनको गोली हानी हत्या भएपछि उनका समर्थक र कन्जरभेटिभ पार्टीका समर्थकबीचको भिडन्तले १० वर्षसम्म द्वन्द्व निम्त्याउँदा ठूलो संख्यामा मानिसहरुको ज्यान गएको हो । फार्क नेता म्यानुअल सुरेसोट मारुलान्डा त्यसबेलाको संघर्षमा लडेका व्यक्ति हुन् ।

को जोडिन्थ्यो फार्कमा ?
मानवअधिकारवादी संस्थाले फार्क विद्रोहीलाई जबर्जस्ती लडाईमा सामेल गराएको आरोप लगाउँदै आएका थिए । तर, फार्कले आफ्नो संगठनमा लाग्ने सबै स्वेच्छाले लागेको जनाएको छ । सन् २०१६ को मेमा सार्वजनिक एक तथ्यांकअनुसार फार्कमा २१ जना बच्चा १५ वर्षभन्दा कम उमेरका रहेको पाइएको थियो । फार्कमा लाग्ने अधिकांश कार्यकर्ता र लडाकुहरु राज्यको कुनै उपस्थिति नदेखिने ग्रामिण क्षेत्रका गरिब, किसान र आधारभूत समुदायका नागरिक सहभागी हुने गरेका थिए । फार्कको सुरुवात नै किसान वर्गको अधिकारका लागि भएकाले यो वर्गको फार्कसँग अपनत्व जोडिएको थियो । तर, कोही हतियार लिनका लागि मात्रै पनि फार्कमा आवद्ध हुने गरेको र पछि छाड्ने गरेको पाइएको छ । लडाई माक्र्स र चे ग्वेभारासँग प्रभावित लडाकुहरुले किसान वर्गका लागि सुरु गरेका थिए ।

फार्कको लडाई को सँग ?
फार्क विद्रोहीको लडाई मुख्यगरी कोलम्बियन सरकार र त्यसको रक्षाका लागि उभिएको सुरक्षाफौजसँग चल्दै आएको थियो । उनीहरुले प्रहरी क्याम्प, सुरक्षा पोस्टमा आक्रमण गर्नुका साथै विद्युतीय धराप समेत विस्फोट गराउँदै आएका थिए । फार्क विरुद्ध फिरौतीका लागि अपहरण गरेको आरोप लाग्ने गरेको थियो । तर फार्कसहित अन्य विद्रोही संगठनपनि कोलम्बियामा रहेकाले सबैभन्दा प्रभावी संगठन भएका कारण यसमाथि नै आरोप लगाइन्थ्यो । सन् १९९८ मा फार्कले कब्जामा लिएका प्रहरी अधिकारी लुईस मेन्डेटालाई शान्ति प्रक्रियाको सुरुवातसँगै रिहा गरेका थिए ।

आर्थिक अवस्था
फार्क विद्रोही संगठन संसारकै धनी संगठनमध्ये एक मानिन्छ । यति लामो समयसम्म गुरिल्ला युद्ध सञ्चालनका लागि कम रकमले अवश्य पनि पुग्दैन । त्यसैकारण यसलै आर्थिक संकलनका लागि वैध र अवैध दुवै प्रक्रिया अबलम्बन गरेको पाइन्छ । छापामार कमाण्डरहरुमाथि ठूलो मात्रामा धनराशी जम्मा गरेको अभियोग लाग्ने गरेको छ । तर उनीहरुले यो आरोपलाई अस्वीकार गर्दै आएका छन् । कोलम्बियामा कोकिनको धेरै उत्पादन हुने गर्दछ । यसको कारोबार र करमार्फत ठूलो आय हुने गर्दछ । दक्षिण अमेरिकी क्षेत्रका विद्रोही र भूमिगत संगठनहरुले यसलाई आय क्षेत्रका रुपमा प्रयोग गर्दै आएका छन् । चन्दा पनि फार्कको एक प्रमुख आय क्षेत्र हो ।

शान्ति प्रक्रियामा किन सामेल भयो फार्क ?
फार्क विद्रोही समूह पछिल्लो समयमा युद्धका मोर्चाहरुमा पराजीत हुदै गएको मात्रै थिएन, यसका केही ठूला कमान्डरसमेत मारिए । फार्क विद्रोहीविरुद्ध लडाईका लागि अमेरिकालगायतका पश्चिमा शक्तिले ठूलो लगानी गरेका थिए । यसैबीचमा फार्कका केही शीर्ष नेताहरु मारिनुका साथै केही नेताको प्राकृतिक रुपमा पनि मृत्यु हुने क्रम पछिल्ला डेढ दशकमा भयो । सन् २००८ मा वरिष्ठ नेता राउल रेयेसको बम विस्फोटमा मृत्यु भयो भने यसका संस्थापक म्यानुअल मारुलान्डाको प्राकृतिक रुपमा नै मृत्यु हुन पुग्यो । सन् २०११ मा अल्फोन्सो कानोको पनि एक बम हमलाका क्रममा मृत्यु भयो । उनी संस्थापक नेता म्यानुअलपछि फार्कको नेतृत्व गरेका नेता थिए । पछिल्लो दशकमा फार्क छापामारको संख्यामा पनि ठूलो मात्रामा कमी आयो । तर, फार्कका नेताहरुले भने आफूहरु शान्तिको पक्षमा भएको भन्दै पछिल्लो समयमा शान्ति प्रक्रियामा सामेल भए । औपचारिक वार्ताको चार वर्ष र गोप्य वार्ताको दुई वर्षपछि क्युबाको मध्यस्थतामा फार्क विद्रोही र सरकारबीच शान्ति सम्झौता सम्पन्न भयो ।

शान्ति प्रक्रिया सफलताको चुरो कुरो
आज फार्क विद्रोह अन्त्यका लागि कोलम्बिया सरकार र विद्रोही संगठन फार्क सहमत भएका छन् । शान्ति सम्झौतासँगै दुवै पक्षले अब कोलम्बियामा समाबेशी समाज निर्माणका लागि ढोका खुलेको प्रतिक्रिया दिएका छन् । यसै क्रममा हामीले नेपालको शान्ति प्रक्रियाको नमुनालाई पनि यहाँ प्रस्तुत गर्नु वान्छनिय हुनेछ । शान्तिको उत्कट नेपाली चाहनालाई पूरा गर्नका लागि २०६३ सालमा नेपालमा पनि शान्ति प्रक्रियाको सुरुवात भएको थियो । तर, नेपालमा भएको १० वर्षे युद्धको मुख्य नेतृत्व नै शान्ति प्रक्रियाको आधारभूत मान्यताबाट विचलित हुँदा शान्ति प्रक्रियाको त सम्मानजनक सम्पन्न हुन सकेन । सिंगो माओवादी आन्दोलन नै तहसनहस बन्न पुगेको वर्तमान अवस्था छ । संविधानसभाको पहिलो निर्वाचन र संसद छिरेपछि भएका हरेक गतिविधि, सेना समायोजन, सहिद, घाइते, अपांग, वेपत्तालगायत सबै द्वन्द्वपीडितको सहि व्यवस्थापन हुन सकेन । यसले सिंगो नेपालको माओवादी आन्दोलन टुक्रा टुक्रामा विभाजित बन्न पुग्यो । वर्ग स्वार्थभन्दा व्यक्तिगत स्वार्थ, समाजसेवाभन्दा आत्मसेवा, तपाईभन्दा मपाई प्रवृत्ति माओवादी पार्टीभित्र हाबी हुन पुग्यो । माओवादी आन्दोलनबाट आएको एक हिस्सा संसदवादमा पतन भएको छ भने एउटा ठूलो हिस्सा फेरि जुर्मुराउँदै गरेको अवस्था छ । यसभित्र कसको भूमिका कहाँ र कस्तो भयो भन्ने कुरा आम राजनीतिक चेतना भएका र माओवादी आन्दोलनसँग जानकारी राख्नेका अघि घाम जतिकै छर्लङग छ । यो केवल संकेतमात्रै हो ।

    झण्डै ५२ वर्ष युद्ध चलेको कोलम्बियामा युद्धको घाउ पक्कै पनि नेपालको भन्दा गहिरो छ । आज शान्ति प्रक्रियाको सुरुवात गर्दा जुन पवित्र भावनाले गरिएको छ, यो शान्ति प्रक्रिया अन्त्य र त्यसपछिका क्षणमा पनि फराकिलो छाती बनाउन सक्यो भनेमात्रै शान्ति सम्झौताले सार्थकता पाउन सक्छ । नेपालमा जस्तै सधैं युद्धको जिम्मेवार विद्रोहीलाई मात्रै देख्ने, आज शान्ति प्रक्रियामा सामेल भएका लडाकुलाई अपमानपूर्वक छाड्ने, मृतक, घाइते, अपांगलाई युद्धको भारी बोकाउने कोशिस भयो भने पुनः युद्धको बिजारोपण नहोला भन्न सकिन्न । तसर्थ सचेततापूर्वक शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने र सबैको शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्न सकेमा मात्रै शान्त, समुन्नत, विकसित, एक ढिक्का एकता र सुन्दर देश निर्माणको परिकल्पना पूरा हुन सक्छ । नेपालमा अभाव भएको मुख्य पाटो यही हो ।