नेकपा माओवादी केन्द्र, जसलाई संक्षिप्तमा नेकपा माके भनिन्छ, जसको केन्द्रीय समिति अहिलेसम्म आइपुग्दा पच्चीस सय भएको छ । यसले अहिलेसम्म आफूलाई नेकपा माओवादी केन्द्र भनेको छ र २०५२ साल फागुन १ देखि शान्तिप्रक्रियामा आएकासम्मका माओवादीलाई यसमा समावेश गरी नेपालमा बृहत माओवादी केन्द्र स्थापना गर्ने यसको घोषित उद्येश्य हो भनेर नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट रामबहादुर थापाको नेतृत्वमा माओवादीहरुको एउटा बलियो संख्यासहीत एमाओवादीमा प्रवेश गरेको थियो ।
उक्त समूह एमाओवादीमा प्रवेश गरेलगत्तै त्यो पार्टी माओवादी केन्द्र(माके) मात्रै बनेन, त्यो एउटा हजारी लालको पार्टी बन्यो भनेर, स्वयम् सोही पार्टीका नेताहरुले भन्न थाले । अबत त्यो हजार जनाको पार्टी नभएर पच्चीस सयको पार्टी बनेको छ । अब त्यसको नाम के होला, उक्त कमरेड जसले हजार जना केन्द्रीय समिति सदस्य हुँदा उक्त हजारीलालको पार्टी भनेका थिए अब के भन्ने हो, स्वयम् उनी नै अन्यौलमा भएजस्तो छ । किनभने उनलाई शंका भएहोला यसको नामाकरण गर्न हतार नगरौ किनभने यो पच्चीस सयभन्दा पनि अझै माथि जाने सम्भावना छ ।
नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट रामबहादुर थापाको नेतृत्वमा एमाओवादीमा प्रवेश गरेलगत्तै त्यो पार्टी माओवादी केन्द्र(माके) मात्रै बनेन, नेकपा एमालेसितको सत्ता गठवन्धनलाई तोडेर नेपाली कांग्रेससित नयां सत्ता गठबन्धनको सुरुवात गर्न पुग्यो ।
यसले के स्पष्ट बनाएको छ भने नेकपा(क्रान्तिकारी माओवादी)भित्रबाट एमाओवादीलाई रुपान्तरण गरेर नेपाली जनवादी क्रान्तिलाई पूर्णता दिने, माओवादी कार्यकर्ता तथा नेताहरुको आर्थिक तथा सामाजिक व्यवस्थापन गर्ने (हातमुख जोर्ने समस्याको समाधान गर्ने)आदि उद्देश्य राखेर एमाओवादीमा प्रवेश गरेका थापा, गुरुङलगायत कमरेडहरुको (हातमुख जोर्ने समस्याको समाधान त भए होला तर पुष्प कमल दाहलको नेतृत्वको एमाओवादीलाई रुपान्तरण गरेर नेपाली जनवादी क्रान्तिलाई पूर्णता दिने कुरा त कता हरायो ? बरु त्यसको उल्टो उनीहरुको एमाओवादीमा प्रवेश लगत्तै एमालेसितको वामपन्थी गठवन्धनलाई तोडेर उनीहरुले भन्दै आएको दलाल पुँजीपति तथा नोकरशाहा वर्गको पार्टी नेपाली कांग्रससित सत्ता गठवन्धन गर्नका लागि क्याटलाइटिक एजेण्टको रुपमा काम गर्न पो सफल भए ।
हुनत रामबहादुर थापाको नेकपा(क्रान्तिकारी माओवादी)भित्रको अन्तरपार्टी संघर्षमा ‘हिजको मिलेरावाद आजको माक्र्सवाद’ भनेर व्यख्या गरेका थिए । उनको एमाओवादी प्रवेश पछि थापाको त्यही सैद्धान्तिक धरातलमा टेकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिंजको दलाल पुँजीपति तथा नोकरशाहा वर्गको पार्टी नेपाली कांग्रेस आजको मित्र शक्ति भने भने नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको नयाँ व्यख्या हुने छ । कतै उनले यो भनाई पनि स्वयम् रामबहादुर थापाको मुखबाट भन्न त लगाउने छैनन् ? किनभने ‘हिजको मिलेरावाद आजको माक्र्सवाद’भन्ने थापाले यसो नभन्लान भनेर कसरी विश्वास गर्ने ?
जे होस् थापाको माथि उल्लेखित ‘मिलेराँवाद’को कार्यान्वयन पुष्पकमल दाहालमार्फत अहिले नेपालमा सुरु भएको छ । फ्रान्सका मिलेरा एउटा राष्ट्रवादी थिए, तर रामबहादुर थापाको नेपालका मिलेरामा त्यो चरित्रमा हस आएको देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले नेपालको प्रधानमन्त्री हुँदा दिल्ली निकै हर्सित देखिएको छ, जवकि उनी नेपालको पहिलो पटक प्रधानमन्त्री हुँदा दिल्ली विल्कुलै खुशी थिएन् परिणाम कटुवाल काण्डद्धारा उनको सरकारलाई पदच्यूत गर्न दिल्ली सफल भएको थियो । त्यसपटक उनलाई प्रधानमन्त्रीबाट हटाउन तत्कालिन रक्षामन्त्री रामबहादुर थापाको बचेखुँचेको क्रान्तिकारीता पनि एउटा कारण बनेको थियो ।
त्यसबेला प्रचण्डले आफ्नो राजीनामामार्फत भनेका थिए –“विदेशी प्रभुका अगाडि म झुक्दिन, बरु प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु ।” भन्दै राजीनामा दिएका थिए । त्यसवेला उनमा क्रान्तिकारीता र राष्ट्रवादको बलियो संकेत पाइन्थ्यो । तर अहिले उनी प्रचण्ड छैनन् नत रामबहादुर थापा बादल नै छन् र उनी दुवैका लागि रामबहादुर थापाले भनेझै ‘ हिजको मिलेरावाद आजको माक्र्सवाद’ भएको छ र २०५२ साल फागु १ गतेबाट जन्मन सुरु गरेका क्रान्तिकारीहरुमध्ये कैयौ माओवादी केन्द्रको पच्चीस सयभित्र हराउन पुगेका छन् । र यिनीहरुको दिमागमा अब राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिका कुरा होइन्, राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादलाई सही मान्ने चिन्तन र प्रवृतिको विकास भएको छ । नेपाली कांग्रेस र दिल्लीसितको आत्ममियताले यसैलाई संकेत गर्दैछ ।
राष्ट्रियता तथा वर्गीयताको सवालमा हिंजका प्रचण्ड आजका पुष्पकमल दाहाल र हिंजका बादल आजका रामबहादुर थापा दुवैले उल्टो बाटो– राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादलाई समातेर सरकार निर्माण गर्दै छन् । रामबहादुर थापासित क्रान्तिकारी कायमै रहने उद्घोष गर्दै नेकपा(क्रान्तिकारी माओवादी)बाट एमाओवादीमा प्रवेश गरेका अन्य क्रान्तिकारीहरु आखिरमा पच्चीस सयभित्र हराउन पुगेका छन् । यो मैले कसैलाई लगाएको आरोप होइन्, स्वयम् हिंजका प्रचण्डले भनेको “विदेशी प्रभुका अगाडि म झुक्दिन, बरु प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु ।” र अहिलेको पुष्पकमल दाहालले पछिल्लो पटक भनेको–“ भारतले मलाई ४ पटक दण्डीत र ४ पटक पुरस्कृत गरेको छ ।”भन्ने अभिव्यक्ति र हिंजका बादलले भनेको–“ नेपालमा क्रान्ति सम्भव छ, संविधानसभाको नीर्वाचन नौटंकी हो ।” र अहिलेको रामबहादुर थापाको अभिव्यक्ति–‘ हिजको मिलेरावाद आजको माक्र्सवाद’ को कार्यान्वयनका लागि बनेको पच्चीस सयभित्र हिंजका कैयौ क्रान्तिकारी माओवादी कमरेडहरु मात्रै हराएर गएका छैनन्, समग्र माओवादी आन्दोलनलाई नेपालबाट ध्वस्त बनाउने लामो समयदेखिको साम्राज्यवादी र विस्तारवादीको रणनीतिक सपनाको कार्यान्वयन नेकपा(क्रान्तिकारी माओवादी)को विभाजन गराएर देखेको थियो । तै पनि अझै नेपालका केही क्रान्तिकारी माओवादीहरुले उनीहरुको त्यो षडयन्त्रलाई चिर्न सफल भएका छन् र माओवादी आनदोलनको रक्षा र विकासको महान् जिम्मेवारीलाई उठाएर लैजाने उद्घोष गरेका छन् ।
यसै सन्दर्भमा नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिले एमाओवादीसित पार्टी एकतावारे दिएका तीनवटा महत्वपूर्ण सुझावमध्ये दुई नम्वर बूँदामा भनिएका निम्न भनाइले वर्तमान माकेको राजनीतिक तथा सांगठनिक अवस्थालाई संकेत गर्दछ र पच्चीस सयभित्र हराएको माओवादी आन्दोलनलाई एउटा फरक कार्यशैली र सैद्धान्तीक तथा सांगठनिक धरतलमा जीवीतै राख्न मद्त गर्दछ । जसमा भनिएको छ–
“एनेकपा(माओवादी)ले पार्टी एकताको आधार मालेमा र बलप्रयोगको सिद्धान्तलाई मानेता पनि एनेकपा(माओवादी)ले वर्तमान राज्यसत्तालाई हेर्ने दृष्टिकोण हाम्रो पार्टीकोभन्दा भिन्न भएको, एनेकपा(माओवादी)ले नेपालको २०७२को प्रतिगामि संविधानलाई जनयुद्ध र जनआन्दोलनको महत्वपूर्ण उपलब्धी मानेको, वर्तमान राजनीतिक परिस्थितिमा जनवादी क्रान्ति वर्ग विश्लेषणप्रति गैर माक्र्सवादी–लेनिनवादी दृष्टिकोण अपनाएको र एनेकपा(माओवादी) विशेषतः खुल्ला राजनीतिमा प्रवेशपछि उनीहरुमा आएको सैद्धान्तिक विचलन र उनीहरुको पार्टी नेतृत्व पंक्तिको वर्ग चरित्रमा आएको परिवर्तन आदिका कारण क. प्रचण्डले पठाएको पत्रकै आधारमा अहिले नै उनहिरुसित पार्टी एकता सम्भव छैन् ।
अतः माथि उल्लेख गरिएका सैद्धान्तिक आधारहरुप्रति एनेकपा(माओवादी) स्पष्ट र प्रतिवद्ध नभएसम्म तथा उनीहरुको वर्ग चरित्रमा सुधार नआएसम्म एनेकपा(माओवादी)संग हतारमा पार्टी एकता गर्नु उचित हुँदैन् । सैद्धान्तिक आधार स्पष्ट नभइकन हतारमा गरिने पार्टी एकता कम्युनिष्ट आन्दोलनको लागि घातक सिद्ध हुन सक्छ ।”
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिले एमाओवादी सित पार्टी एकतावारे दिएको उल्लेखित भनाई कति सही थियो भन्ने कुरालाई पच्चीस सयभित्र हराएको माओवादी आन्दोलन र त्यसको केन्द्रीय समितिमा जाने पदीय महत्वाकांक्षाका कारण माकेभित्रै हराएका माओवादी कमरेडहरुको वर्तमान अवस्थाले पुष्टि गर्दछ ।
hukumsingh2012@yahoo.com