एजेन्सी । श्रीलंकामा ठूलो संख्यामा लिबरेशन टाइटर अफ तमिल इलम (लिट्टे) का कार्यकर्ताको शंकास्पद मृत्यु भएको खुलासा भएको छ ।
तमिल नेताले पुनर्वास केन्द्रमा सुई मार्फत बिष दिएर एक सय भन्दा बढी लिट्टे कार्यकर्ताको हत्या गरिएको जनाएका छन् । सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।
श्रीलंकामा प्रमुख तमिल पार्टी (टीएनए) का नेता र तमिल मिडियाले लिट्टेका १०४ पूर्व लडाकुलाई सुईमार्फत बिष दिएर हत्या गरिएको आरोप लगाएका छन् । सुईका कारण कतिपय भने शारीरिक रुपमा असक्षम बनेका छन् ।
उत्तरी क्षेत्रका मुख्यमन्त्री सीवी विघ्नेश्वरनले अझैपनि अमेरिकी वायुसेनाको स्वास्थ्य टोली तमिल बहुल उत्तरी क्षेत्रमा रहेको जनाएका छन् । उनीहरुले पुनर्वास केन्द्रमा रहेका पूर्व लिट्टे कार्यकर्ताको जाँच गरिरहेका छन् । उनीहरुले आफूहरुलाई सरकारी हिरासत र पुनर्वास केन्द्रमा बिषाक्त पदार्थका कारण बिरामी भएको बताएका छन् ।
श्रीलंकाका रक्षा राज्यमन्त्री रुवान विजेवर्देनले भने यो ‘गलत आरोप’ भएको भन्दै खण्डन गरेका छन् । उनले तमिलका केही नेताले तमिलसँग सम्बन्धित समस्या हल गर्नका लागि सरकारले पहल गरिरहेका बेला गलत आरोप लगाउने प्रयास गरेको बताएका छन् ।
विजेवर्देनले भने यसको अन्तर्राष्ट्रिय समुदायले समेत छानविन गर्न सक्ने बताएका छन् । श्रीलंका सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रंजिता सेनारत्नेले पनि यो फगत आरोप भएको बताएका छन् । श्रीलंकामा सन् १९७६ मा तमिल नेता भेलुपिल्लाई प्रभाकरणले तमिल टाइटरको स्थापना गरेका थिए ।
सन् २००९ मा प्रभाकरणलाई श्रीलंकाली सेनाले हत्या गरेपछि तमिल आन्दोलन अन्त्य भएको थियो भने युद्धका क्रममा पक्राउ परेका तथा आत्मसमर्पण गरेका लडाकुलाई पुर्नस्थापना केन्द्रमा राखिएको थियो ।