युरेसियाका कथाको सिफारिस पत्र

युरेसियाका कथाको सिफारिस पत्र

प्रगतिवादी कथाकार इस्मालीले हिन्दी र अंग्रेजीबाट अनुवाद गर्नुभएका युरोप र एशियाका कथाहरुलाई युरेसियाका कथा कथासङ्ग्रहका रुपमा शिखा बुक्सले भर्खरै बजारमा ल्याएको छ । यो उत्कृष्ट कथाहरुको संकलन हो । म जस्तो आख्यानप्रति अल्छी पाठकले पढ्नु भनेको पक्कै युरेसियाका कथाको सफलता नै हो ।

युरेसियाका कथामा जापान, रुस, चिन, वंगलादेश, भारत, श्रीलंका, पाकिस्तान, इरान, फ्रान्स र वेलायतका १९ जना २० औं शताब्दीका चर्चित आख्यानकारहरुका एक एक वटा कथा संग्रहीत छन् । ति कथाहरुको मौलिकता र परिवेशअनुसार नेपाली नेताहरुलाई पढ्न सिफारिस गर्नु उत्तम हुने देखिन्छ । नागरिकको मताधिकार, पार्टीको राजनीतिक संगठनात्मक सिद्धान्तलाई समेत वेवास्ता गर्ने नेताहरुबाट यो पाठकीय सिफारिसको पनि वेवास्ता हुनेछ अपितु केही कथाहरु नेताहरुलाई अफलाइन शेयर गरेको छु । 
सिमेन्टको बोरा प्रचण्डले पढून
यो सिमेन्ट कारखानाका मजदुरहरु हृदयविदारक जापानी कथा हो । एउटा मजदुर ढुंगासँगै क्लिन्कर हुँदै सिमेन्टमा मात्र फेरिदैन, बोरा सिलाउने प्रेमिकाको हृदयलाई सम्वेदित र झंकृत गर्छ । प्रेमिकाले सिमेन्टको प्रयोग हुने ठाउँसम्म पुगोस् भनी एउटा प्रेमीको हाड, मासु र रगतबाट निर्मित सिमेन्ट कुन ठाउँमा प्रयोग हुन्छ होला ? त्यो प्रेमी कति सिमेन्टमा फेरियो होला ? औधोगिक दुनियाँमा नाकभित्रको सिमेन्ट पनि सफा गर्न नसकिरहेको, एउटा उर्वराभूमिझैं सन्तानहरु जन्माइरहेको गरिव मजदुर योजोको हृदयलाई चिठीले जरैदेखि हल्लाइदिन्छ ।

सिमेन्टमा मजदुर पिधिएको कथा प्रचण्डले किन पढून भने उनले युद्ध उद्योगमा हज्जारौं योद्धाहरुलाई बारुदमा पिधिएको सम्झना गर्न सकून र जंगलहरुमा, मोर्चाहरुमा हतार हतार गाडिएका योद्धाहरुबाट कति माटो मलिलो भयो ? कल्पना गरुन् र आफूलाई योद्धाहरुप्रति समर्पित् गरुन् । रक्सी खाएर चाहीँ नमातून् । 

महंगो सजाय बाबुरामले पढून 
यो लियो टल्सटायकृत मोनाकोको कथा हो । राज्य संचालनकर्ताहरुका लागि नीतिपरक कथा । एउटा अपराधीलाई मृत्युदण्ड, आजिवान कारावास हुँदै उन्मुक्ति राज्यको आम्दानीबाट गर्नुपर्दाको हिसावकिताव छ । राज्य नै जुवाघर चलाएर बस्छ, त्यो मुलुकमा मृत्युदण्ड दिनसम्म आफ्नै कुनै हतियार र सेना छैन । मृत्युदण्ड कार्यान्वयन गर्न जति महंगो थियो, त्योभन्दा आजीवन कारावास महंगोे छ ।

त्योे आजीवन कारावास पनि राज्यका लागि महंगो परेपछि बन्दी भागोस भन्ने चाहनाले गार्ड राखिदैन । आखिर बन्दीलाई बर्बाद र विगारेवापत राज्यले पेन्सन दिन बाध्य हुन्छ । वन्दीको जीवनमा नै परिवर्तन हुन्छ । बाबुराम नयाँ शक्तिको संघर्षमा छन् । उनको नयाँ शक्तिका लागि यो कथा सुत्र हुन सक्छ । बाबुरामराज्यमा कोही पनि मृत्युदण्ड दिने सेना हुने छैन र मृत्युदण्ड, आजीवन कारावासजस्ता सजायका लागि करौडौं खर्च गरिरहेको राज्य हुने छैन ।

जुलुस मोहन बैद्यले पढून 
यो जुलुस विद्रोही मजदुरहरुको रुसी कथा हो । सुनको गद्दी होइन सहिदको कथा चाहने मजदुरको कथा हो । मजदुरहरुको ताकतका सामुन्ने संगीनहरु झुक्छन् र संगीनधारी सिपाहीहरु पनि जुलुसमा सहभागी हुन्छन् । तोपहरु मौन हुन्छन् । नेपालका नागरिकहरुको विद्रोहको गायन मोहन बैद्यले गरिरहेका छन् । अपितु सेनाहरुले संगीनहरु फालेर जुलुसमा सहभागी हुने सहिदीकथा रचना नगरी त्यो विद्रोहको इतिहास रचनाभने हुने छैन ।

देशद्रोहीकी आमा विद्या भण्डारीले पढून 
देशद्रोहीकी आमा म्याक्सीम गोर्कीको सुन्दर कथा हो । यो कथाले रोम धुलिसात पारेर आफ्नो नाम चम्काउने एलरिकझैं शिखरमा पुग्न मानिसहरुको लासको कथा रचिरहेको सेनापति देशद्रोही छोरोविरुद्ध आमाको साहासको बयान गर्दछ । आमा जीवन, नगर र सिर्जनाका पक्षमा उभिन्छिन् र सेनापति छोरो नगर कब्जा गर्न जीवनविरुद्ध, मानिसविरुद्ध र सिर्जनाविरुद्ध उभिन्छ । त्यही सेनापति छोरोलाई वृद्ध आमाले आफ्नो राज्यका लागि, नगरका लागि र मानिसहरुका निम्ति छुरी धसेर मारिदिन्छिन् ।
विद्या भण्डारीले यो किन पढ्नु जरुरी छ भने साँच्चिकै देशका लागि घात कसले गरिरहेको छ भन्ने थाहा पाउने राष्टपतिको कुर्चिमा हुनुहुन्छ । कतै विद्याभण्डारीमा पनि देशद्रोही छोराहरुको मुटुमा छुरी हान्ने साहास निस्किन्थ्यो कि ?

पारपाचुके रामबहादुर थापाले पढून 
यो लुसुनकृत चिनिया कथा हो । आइ गूको विवाह, पठ्ठो पशुको अर्की युवतिसँगको सम्बन्ध र आइगुमाथिका झूठा आरोपहरु । सातौ मुखियाको पनि विवाहको कागज च्यात्ने निर्णय । यो नयाँ अवैध सम्बन्धले पनि कसरी बैध र आधिकारिक सम्बन्ध विच्छेदमा फेरिन्छ भन्ने कथा हो ।

भर्खरै रामबहादुर थापाले विचारधारात्मक, बैध र आधिकारिक सम्बन्धलाई सातौं मुखियाको निर्णयमा पुरानो विवाहको कागज च्यात्ने निर्णय गरेका छन् । पारपाचुकेमा खुशी पनि छन् तर कोही मानिसहरु तिम्रो खुशीमा रक्सीका गिलासहरु नफूटाइ हिंडिरहेका पनि होलान् नी हैं । त्यो थाहा पाउन रामबहादुर थापाले यो कथा पढून् । 

गोरु, कमिला र मान्छे मातृका यादवले पढून 
यो बाढीले सन्त्रस्त मानिसको कथा हो । बाढीले घरवास, स्कुल बगाउने मात्र होइन युवाहरुलाई शिक्षा पनि दिन्छ । कमिलाहरु बाढीमा ठूलो गोलोमा एकत्रित भै बाढीको धारसँगसगै बगिरहेका हुन्छन् । युवाहरुले बाढीबाट जोगिन कमिलाको एकताबाट पाठ सिक्छन् । फजलले बाढीमा विस्तारै वगिरहेको एउटा फलक देख्छ । त्यो लिन सर्प, विच्छि र बाढीको प्रवाहले बगाउने डरलाई निल्दै फजलले लामो फलक लिन बाढीमा हाम फाल्छ र जोखिमबाट फलक निकाल्छ । त्यो फलक बाढीमा बगेको विद्यालयको साइनवोर्ड हो ।
मातृका यादव माओवादी आन्दोलन बाढीमा बगेर जे जति बगेपनि साइनवोर्ड जगाउनु पर्छ भन्दै नेकपा(माओवादी) नामलाई अति माया गर्नुहुन्छ ।

गृहत्याग रामशरण महतले पढून 
यो पारिवारिक संघार कहिल्यै ननाघ्न प्रशिक्षित आइमाइको कथा हो । तारावुनु खडेरी, खाद्यान्न अभाव र वुहारीको अचाक्लीहरुबाट विरक्तिएर गृहत्याग गर्न बाध्य हुन्छ । चिनारुबाट टाढा कति टाढा हो भन्ने तारावुनुलाई नै थाहा छैन जान्छे । तारावुनु अचिनारु भूगोलमा भोकमरीले मर्छे । तारावुुनुको मृत्युले न त संयुक्त राष्टसंघको कार्यालय, न त इन्स्पेक्टर, न त चित्रावली युनियन कसैले पनि वास्ता गर्दैनन् । वरु संवाददातालाई सरकारी भोजनगृहका प्रशंसापत्रहरु नलेखी भोकमरी अनावश्यक उछालेको आरोप लगाइन्छ र तारावुनुको लास सनाखतविहीन अलपत्र हुन्छ ।
सामन्य संकटको सामाना पनि गर्न नसक्ने नागरिकहरुले महाभुकम्पको त्रासदी वेहोर्दा अर्थमन्त्री रामशरण महतले मृतक र पीडितहरुप्रति कुनै संवेदना नै नराखी पालहरुमाथि नै चिटिग गरेको सर्वविदितै छ ।

पर्दा उपेन्द्र यादवले पढून 
पर्दा यशपालकृत चौधरी पीरवख्सको गरिवीको कथा हो । सानो हवेलीको वासबाट मजदुर वस्तीमा भाडामा वस्न पुगेको चौधरीको आइमाईहरुको आङमा एक तिहाइ कपडा मात्र छ र त्यो परिवारको इज्जतलाई धानिरहेको छ । छाक टार्न र आङ मुस्किल परेपछि चौधरीले ४ रुपिया ऋण लिन्छन् । त्यसको ब्याज तिर्न नसकेपछि पञ्जावी खानले चौधरीको वेइज्जत मात्र गर्दैन, कुनै पनि धितो नपाएपछि घरको पर्दा निकालिदिन्छ ।

चौधरी परिवारको गरिवीलाई ढाक्ने पर्दा उत्रिएपछि आइमाइहरु त्राहीमाम भएर इज्जत जोगिने कुनाहरुतिर जान्छन् । भीड र पञ्जावी खान गरिवी देखेर आफै लज्जित हुन्छन् । यो उपेन्द्र यादवले किन पढ्नु जरुरी छ भने नेपालमा एकधरो कपडाविना मर्ने नागरिकहरु तराईमा छन् । शितलहरको कोपभाजनमा मर्नेहरुको हितार्थ सोच्ने सद्वुद्धि पलाउँछ कि ?
कुनै धनादेश आएन बामदेव गौतमले पढून
आफ्नो बाबुको नाम, थर र ठेगाना थाहा नभएको सिपाही रामन आयरको कथा हो । रामन आयरले विदाका दिनहरुमा आफ्नो परिचयका लागि शहर घुम्छ । शहरमा उसलाई कसैले पनि सोधेन । सानो गाउँमा रामन आयरले बोलाउने मान्छे भेट्यो । एउटा सिपाहीले पहिलो चोटी सम्झिने मानिस भेट्यो । आफ्नी पत्नीलाई ४० रुपैयाबाट हजारसम्म पठायो । आखिर विवाहको माला, ट्यांका र फेरि कहिल्यै धनादेश नआउने गरी ऊ कतै हरायो ।

बामदेव गौतम गृहयुद्धको समयमा गृहमन्त्री भएका छन् । उनको आदेशमा पहिचानविहीन र गुमनाम भै मरेका सैनिक, सिपाहीहरुले कहिल्यै धनादेश पठाएका छैनन् । अपितु तिनको लासमाथि राजनीति जारी छ । त्यसैले बामदेव गौतमले यो कथा पढून् ।