एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले आफ्नो चुनावी प्रचार अभियान टोली पुर्नगठन गरेका छन् ।
यो सँगै उनले चुनावी प्रचार टोली पुर्नगठन गरेको पछिल्ला दुई महिनामा यो दोस्रो पटक हो ।
ट्रम्पले पोल्सटर केलिनलाई चुनावी प्रचार अभियानको व्यवस्थापक र स्टेफन बान्ननलाई ब्रिटबार्ट समाचारको सीईओ नियुक्त गरेका छन् । ब्रिटबार्ट कन्जरभेटिभ समाचार र विचार सम्प्रेषण गर्ने समाचार पोर्टल हो ।
सन् २००७ मा कन्जरभेटिभ कमेन्टेटर एन्ड्रयु बे्रइटबार्टले यो पोर्टल सुरुवात गरेका थिए ।
लागु औषधबारे हफिंगटन पोस्टमा रिपोर्टिङ गर्ने उनको सन् २०१२ को मार्च महिनामा हृदयघातका कारण निधन भएको थियो ।
पाउल म्यानफोर्टलाई अभियानको अध्यक्ष राखिएको छ । तर विश्लेशषहरुले सम्पूर्ण जिम्मेवारी अरुलाई दिएर उनलाई अपमानित गरिएको बताएका छन् ।
ट्रम्पले पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएपछि उनको प्रचार अभियान झनै सुस्त भएको विश्लेषण भइरहेका बेला उनले चुनावी प्रचार अभियानमा दुई जनालाई थपेर पुर्नगठन गरेका हुन् । यो संँगै ट्रम्पले आफ्नो चुनावी प्रचार अभियान टोलीमाथि पूर्ण भरोसा गर्न नसकेको देखिएको टिप्पणी हुन थालेको छ ।
उनी यतिबेला अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामलाई समेत प्रभावित पार्नसक्ने विभिन्न राज्यमा आफ्नो अभियान लिएर गइरहेका छन् । उनले आगामी नोभेम्बर ८ तारिखमा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनको ८२ दिनमात्रै बाँकी रहँदा ट्रम्पले गरेको यो परिवर्तनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनले आफूले लामो समयदेखि स्टेफन र केलिनबारे राम्रो जानकारी रहेको भन्दै उनीहरु सक्षम र योग्य रहेको बताएका छन् । पछिल्ला दिनमा ट्रम्प डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनभन्दा ७ देखि ८ प्रतिशत मतान्तरले पछि रहेको जनमत सर्वेक्षणमा देखिएको छ ।