हामीले गर्ने सशस्त्र संघर्ष नै हो : रामसिंह श्रीस

हामीले गर्ने सशस्त्र संघर्ष नै हो : रामसिंह श्रीस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का कार्यालय सदस्य रामसिंह श्रीसले पार्टीले गर्ने सशस्त्र संघर्ष नै भएको बताएका छन् ।

जनयुद्धको तयारीको क्रममा कांग्रेसी गुण्डाहरुद्वारा हत्या गरिएका सहिद रामवृक्ष यादवको २२ औं स्मृति र ०६० साउन ३२ मा गरिएको दोरम्बा हत्याकाण्डमा ज्यान गुमाउन पुगेका सहिदहरुको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा श्रीसले यस्तो बताएका हुन् ।

धनुषाको बरमझियामा हत्या गरिएका सहिद रामवृक्ष यादवदेखि रामेछापको दोरम्बामा हत्या गरिएका सहिदहरुको सपना भनेको नेपालमा जनवादी क्रान्तिको विजय हो भन्दै श्रीसले नेकपा (क्रान्तिकारी माओवादी)ले नयाँ जनवादी क्रान्तिका लागि आवश्यक पर्ने सशस्त्र संघर्षको बाटोमा अगाडि बढ्ने तयारी गरिरहेको बताए ।

doramba-rambirksha

“त्याग र बलिदान क्रान्तिको अनिवार्य सर्त हो ।” उनले भने, “हजारौं मात्र होइन नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि लाखौले पनि बलिदान गर्नुपर्ने पनि हुनसक्छ । हामी पनि सहिद बन्न तयार हुनुपर्छ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न नगरेसम्म सहिदप्रतिको सच्चा सम्मान हुन सक्दैन ।” 

पार्टीको नेवा राज्यले आयोजना गरेको सो स्मृति कार्यक्रममा बोल्दै कार्यालय सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलले सहिद रामवृक्ष यादव बहुमुखी प्रतिभाशाली व्यक्तित्वका धनी भएको उल्लेख गर्दै माओवादी आन्दोलनले त्यस्तो नेता मधेसमा अहिलेसम्म जन्माउन नसकेको उल्लेख गरे ।

“रामवृक्ष यादव मधेसको मात्रै होइन, राष्ट्रिय नेता हुनुहुन्थ्यो । उहाँमा अन्तर्राष्ट्रिय सर्वहारावादी चिन्तन र सोच बोकेको नेता हुनुहुन्थ्यो । उहाँको हत्याले माओवादी आन्दोलनमा अपुरणीय क्षति भयो । नकारात्मक रुपमा उहाँको बलिदानको उर्जाले जनयुद्धलाई अगाडि बढाउन ठूलो सहयोग पु¥यायो ।”

नेता कँडेलले भने, “दाङको हापुरेमा वार्ता चलिरहेको बेला रामेछापको दोरम्बामा इलाकाको बैठक गरिरहेका निशस्त्र माओवादीका नेताकार्यकर्तामाथि नृशंसतापूर्वक हत्या गरियो । युद्धपिपासु फाँसीवादीहरुले गरेको त्यो हत्याले माओवादीका होनाहार योद्धाहरु गुमाउनु प¥यो । नयाँ जनवादी क्रान्तिलाई विजयसम्म पु¥याउन सहिदहरुले निरन्तर उर्जा प्रदान गरिरहने छन् ।” 

पार्टीका नेवा राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’को अध्यक्षता र नेता पवनमान श्रेष्ठको संचालनमा भएको सो कार्यक्रममा युवा नेता शिवराम यादवले क्रान्तिको मार्ग जटिल भएकोले क्रान्तिको असफलताबाट पाठ सिक्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्न क्रान्तिकारीहरुले जनतामा रहेको अविश्वासलाई विश्वासमा बदल्न सक्नुपर्ने बताए ।

बलिदान नै क्रान्तिको उर्जा भएकोले सहिदहरुले देखाएको मार्गमा हिड्न क्रान्तिकारीहरु हरहमेसा तयार रहनुपर्ने औल्याए । 
दोरम्बा हत्याकाण्डमा ज्यान गुमाउनुहुने सहिद प्रदीप तामाङका बुवा कृष्ण तामाङले सो कार्यक्रममा निकै मार्मिक ढंगले कुरा राखेका थिए ।

उनले आफू ०४२ सालदेखि नै मोटो मसालहुँदै निरन्तर क्रान्तिकारी धारसँग नजिक रहेर काम गरे पनि पार्टीका नेताहरुमा देखापरेको गैरसर्वहारावादी चिन्तनप्रवृत्तिले गर्दा आफू खुलेर पार्टीमा काम गर्न नसकेको बताउँदै हिजो संसद भनेको खसीको टाउँको राखेर कुकुरको मासु बेच्ने थलो भनेर सिकाउने नेताहरु आज त्यही संसदीय व्यवस्थामा कुकुरको मासुको व्यापारी बनेको भन्दै आक्रोश पोखे ।

उनले भने, “मेरो त पसिना मात्रै होइन, रगत बगेको छ माओवादी आन्दोलनमा । रगतमा पौडी खेलेर आएका नेताहरु आज संसदभित्र छिरेर कुकुरको मासु बेच्न थालेका छन् । यिनीहरुबाट अब सहिदको सपना पूरा हुन सक्दैन । उनीहरुले सहिदको गम्भीर अपमान गरेका छन् ।”

०६० साल साउन ३२ गतेको दोरम्बा हत्याकाण्डमा अम्बिका दाहाल‘ललिका’, प्रदीप दोङ‘रक्तिम’, टेकबहादुर थापामगर‘विवेक’, चतुरमान थामाी‘समर’, हर्क घिसिङ‘यथार्थ’, बाबुराम लामा‘पुष्प’, विष्णुमाया मगर‘विमा’, रवि चौहान‘समिर’, ठूलाराम तामाङ‘छोप्पा’, सानाराम तामाङ‘तारा’, लक्ष्मण तामाङ‘छायाँ’, श्याम तामाङ‘इन्क्लाव’, उमा कार्की‘सहारा’, पदमराज गिरी‘असल’, युवराज मोक्तान, लिला मोक्तान, सोमाई थामी‘संगीता’, हर्कलक्ष्मी राई‘विमला’, जमिन, सोम, उषा गरी २१ जना माओवादी योद्धाहरुले ज्यान गुमाएका थिए ।