जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सामन्तवादी सत्ताको दलाल बने : शाही

जनयुद्धको नेतृत्व गरेका प्रचण्ड सामन्तवादी सत्ताको दलाल बने : शाही

Harka shahiबुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर शाहीले जनयुद्धको नेतृत्व गरेका प्रचण्ड अहिले सामन्तवादी सक्ताको दलाल बनेको आरोप लगाएका छन् । 

सामन्तवादी व्यवस्थाको अन्त्य गरि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न जनयुद्धको नेतृत्व गरेका प्रचण्ड घुमिफिरी सामन्तको दलाल बनेको
उनले टिप्पणी गरे ।

अखिल थारु राष्ट्रिय मुक्ति मोर्चा,नेपालको दुई दिने राष्ट्रिय भेलाको उद्घाटन गर्दै नेता शाहीले सक्तामा पुग्नका लागि प्रचण्डले जे पनि गर्न सक्ने दावी गरे ।

थरुहट राज्य समितिका इन्चार्ज समेत रहेका शाहीले क्रान्तिको झण्डा अब आफूहरुले उठाउंने र क्रान्तिको तयारीमा आफूहरु लागेको बताए ।

आफ्नो पार्टीबाट प्रचण्डतिर गएका बादल समूहतर्फ इंगित गदैं
उनले प्रचण्डसँग आत्मसमपर्ण गरेको आरोप लगाए । एक अर्को प्रसंगमा उनले पहिचानका आधारमा संघीयताको निर्माण हुंनुपर्ने उल्लेख गरे ।

अर्का सचिवालय सदस्य नगेन्द्र राईले पहिचानसहित थरुहट प्राप्तिका लागि आन्दोलनको विकल्प नभएकोमा जोड दिए । उनले जातीय मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर लैजानुपर्ने खांचो औल्याए ।

पार्टीका सचिवालय सदस्य प्रेमनाथ सुवेदीले उत्पीडित समुदायको मुक्तिका लागि क्रान्ति आवश्यक रहेको बताए । उनले माओवादी केन्द्र संसदीय व्यवस्थाको गोलचक्करमा फसेको आरोप लगाए ।