यतिवेला नेपाली कम्युनिष्ट आन्दोलन विशेष, जटिल र ऐतिहासिक मोडबाट गुज्रिरहेको छ । केही महिना अगाडि सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठकले, क्रान्तिकारी धाराका रुपमा रहेको यसै पार्टीलाई समाप्त पार्न रचिएका भित्री र बाहिरी तीव्र चलखेल र विभिन्न षड्यन्त्रका विरुद्ध भीषण दुईलाइन संघर्षको सामना गर्नुपर्यो ।
आफूलाई क्रान्तिकारी कम्युनिष्ट धाराका प्रतिनिधि भनी अभिव्यक्ति दिइरहेका कतिपय कमरेडहरु समेत दक्षिणपन्थी–अवसरवादी हावाहुरीका विरुद्ध डटिरहन सकेनन् । अन्ततः उनीहरु नवसंशोधनवादीहरुको संसदवादी चंगुलकै मतियार भए । उनीहरु ढले र पार्टीले संगठनात्मक रुपमा ठूलै क्षति व्यहोर्नु पर्यो । तथापि, वैचारिक÷राजनीतिक रुपमा भीषण दुईलाइन संघर्षमा दक्षिणपन्थी नवसंशोधनवाद–अवसरवादमाथि ठूलो सैद्धान्तिक विजय हासिल गर्न सफल भएको छ । नवसंशोधनवाद र त्यसको पुच्छरको रुपमा प्रयोग भएको वादल गुटले पार्टीलाई समाप्त पार्नमा निकै प्रयत्न गरेको थियो ।
भर्खरै सम्पन्न ऐतिहासिक राष्ट्रिय भेलाद्वारा यस प्रकारको निर्मम संघर्षबाट हामीले निर्णायक ऐतिहासिक विजयका निम्ति एउटा स्पातिलो नयाँ ढंगको पार्टी निर्माणको लागि जग खडा गर्न सफल भएका छौं । यो समग्र क्रान्तिकारी आन्दोलन, पार्टीका सबै स्तरका नेता, कार्यकर्ता लगायत पार्टीका लागि खुशी र गौरवको विषय हो । यो राष्ट्रिय भेलाले साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद तथा तिनीहरुबाटै पैदा भएको दक्षिणपन्थी अवसरवादले खडा गरेका विभिन्न षड्यन्त्र र चुनौतीहरुको दृढतापूर्वक सामना गर्दै नयाँ जनवादी क्रान्ति तयारीको काममा अगाडि बढ्न गरेको प्रतिबद्धताले समग्र पार्टीपंक्तिलाई उत्साहित तुल्याएको छ ।
अवसरवादविरुद्धको लडाईं
कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धारा र दक्षिणपन्थी अवसरवादी धाराको लडाईं कहिले सुषुप्त त कहिले भीषण रुपमा पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चल्दै आएको इतिहास छ । कम्युनिष्ट पार्टी विपरीतहरुको एकत्व भएकोले यहाँभित्र चल्ने अन्तरसंघर्ष अर्थात् दुई लाइन संघर्षले पार्टीलाई जीवन्त र गतिशील बनाउने कााम गर्दछ । क्रान्तिकारी आन्दोलन विभिन्न मोडहरुमा हुने गरेका भीषण दुईलाइन संघर्ष र वर्गसंघर्षकै बीचबाट अगाडि बढ्ने गरेको छ । यहाँ नेपाली कम्युनिष्ट आन्दोलनको सबै चर्चा नगरी केवल तत्कालीन एकीकृत माओवादी पार्टीबाट विद्रोह गरी नेकपा–माओवादीको स्थापनाको आवश्यकतादेखि हालसम्मको मुख्यतः सबभन्दा पछिल्लो वादल गुटसँगको संघर्षको सामान्य चर्चा गरिने छ ।
लामो समयसम्म क्रान्तिकारीहरुले प्रचण्ड र बावुराममा रहेको वर्गीय–राष्ट्रिय आत्मसमर्पणवाद, पार्टीका आधिकारिक निर्णयहरुको परित्याग, सर्वहारावर्गीय आचरणको परित्याग, महान जनयुद्धका उपलब्धिहरु र जनमुक्ति सेना नेपालको विसर्जनलगायतका विरुद्ध क्रान्तिकारीहरुले दुईलाइन संघर्ष चलाइरहे । प्रचण्ड–बाबुराम मण्डलीलाई क्रान्तिकारी रुपान्तरणको लागि गरिएको अन्तर्संघर्ष क्रमशः कमजोर र निस्तेज पार्ने अवस्था देखिएपछि तथा दक्षिणपन्थी नवसंशोधनवादीहरुले आफ्नो पकड बढाउँदै गएको अवस्थामा पार्टीभित्र रहेर थप दुईलाइन संघर्ष मैत्रीपूर्ण बन्न नसक्ने अवस्था पैदा भएकोले क्रान्तिकारीहरुका लागि मालेमावादको रक्षा, प्रयोग र विकासका लागि सिद्धान्तनिष्ठ पार्टी, त्यसको क्रान्तिकारी रणनीति र कार्यदिशा–कार्यनीति लागू गर्न, सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न विद्रोह बाहेक अर्को विकल्प रहेन । त्यसैले क्रान्तिकारीहरुले विद्रोहको बाटो रोजे र नेपाल कम्युनिष्ट पार्टी–माओवादीको जन्म भयो ।
पार्टी एकता र फुटबारे अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा धेरै चर्चा परिचर्चा भएका छन् । पार्टीभित्र एकताको आधार सिद्धान्त, विचार, रणनीति, कार्यदिशा, कार्यनीति र कार्यक्रमको एउटै बुझाइ हो । यी र यस्ता विषयलाई अलग गरेर एकताको कुरा गर्नु पाखण्ड मात्र हो । पार्टी एकता भन्नु एउटा प्रिय र राम्रो कुरा हो । तर एकताको आवरणमा उपयोगितावाद, संसदवाद, आत्मसमर्पणवाद र बिसर्जनवादको प्रयोग भएको अवस्थालाई फुटवाद भनिन्छ । तत्कालीनको फुट यसैसँग सान्दर्भिक छ । यसबारे लेनिन भन्नुहुन्छ, “एकता धेरै राम्रो कुरा हो र एकता धेरै राम्रो नारा हो । परन्तु मजदुरहरुको उद्देश्यका लागि जुन वस्तु आवश्यक छ, त्यो माक्र्सवादीहरुको एकता हो न कि माक्र्सवादीहरु र माक्र्सवादको विरोध तथा त्यसलाई विकृत गर्नेहरुसितको एकता ।”१
फुटवादवादीहरुले एकतालाई क्रान्तिकारी उद्देश्य पूरा गर्ने नभै क्षणिक स्वार्थ र फाइदाका लागि सिद्धान्तको परित्याग गर्ने, व्यवस्थापनको नाममा जागिर खाने, प्रतिक्रियावादी व्यवस्थाको साझेदारी बन्ने, संसदवाद र मिलेराँवादको भद्दा रुपमा आत्मसाथ गरी वर्गसमन्वयको बाटो अंगिकार गर्ने, माक्र्सवादले कहिं कतै प्रयोग नगरेको मन्त्रीमण्डलवादको नाङ्गो प्रयोगले मालेमावादको परित्याग गरेको कुरालाई स्पष्ट पारेको छ । नेकपा (माओवादी केन्द्र)ले अहिले यही प्रयोग गरिरहेको छ ।
लेनिनले फुटको स्रोतको रुपमा निम्नपुँजीवादी चिन्तन, अवसरवाद, साम्राज्यवादीहरुसँगको साँठगाँठ र विभिन्न प्रकारका निहीत स्वार्थप्रेरित सम्बन्ध, आर्थिक लेनदेनलाई बताउनु भएको छ । यसबारे लेनिन भन्नुहुन्छ, “जब कुनै पार्टी संशोधनवादको भासमा फसिसकेको हुन्छ, त्यो बेला त्यससितको सम्बन्ध विच्छेद् गर्नु अनिवार्य रुपमा आवश्यक हुन्छ । ….“जनसाधारणलाई अवसरवादसँग सम्बन्धविच्छेदको अपरिहार्यता तथा आवश्यकता सम्झाउनु, अवसरवादका विरुद्ध निर्मम संघर्ष चलाएर उनीहरुलाई क्रान्तिका लागि शिक्षित दीक्षित तुल्याउनु । यो हो विशुद्ध मजदुर आन्दोलनमा एकमात्र माक्र्सवादी लाइन ।”२ लेनिनको उपरोक्त उक्तिले दक्षिणपन्थी अवसरवादसँगको लडाईको महत्व र आवश्यकतालाई मालेमावादीहरुले कसरी लिनुपर्दोरहेछ भन्ने कुरालाई छर्लङ्ग पार्दछ ।
भर्खरै पार्टी परित्याग गरेर क्रान्तिबाट पलायन र विसर्जनवादी वादलगुटसँगको दुईलाइन संघर्ष पार्टी जीवनमा कहिंकतै देखिएन, भोगिएन र अन्तर्राष्ट्रिय रुपमा पनि इतिहासको कुनै अनुभव भेटिंदैन । यस गुटले पार्टी नीति, नेतृत्व र निर्णयहरुको ठाडो उलंघन मात्र गरेन, नाङ्गो रुपमा गुटबन्दीमा उत्रियो र आफै रहेको पार्टीलाई समाप्त पार्न विपक्षी पार्टीसँग साँठगाँठ गरी सबै प्रकारका छलछाम, षड्यन्त्र एवं सफेद झुठको साहरा लिएर माक्र्सवाद–लेनिनवाद–माओवादको विरोध गर्ने अर्थात् त्यसप्रति विश्वासघात गर्ने सर्वहारा एकतालाई हानी नोक्सानी पुर्याउने सबै दुष्चक्र गरे ।
वर्गीय र उत्पीडित समुदायको मुक्तिको लागि संघर्ष होइन कि आफ्नो दुनो कसरी सोझ्याउन सकिन्छ, त्यसैमा तल्लिन भई प्रचण्डसँग आफ्नो स्थिति सुनिश्चित गर्ने धन्दा नै एउटा मात्र सुत्र बन्न पुग्यो । यी र यसरी क्रान्तिकारी सिद्धान्त र पार्टीको परित्याग गरी संसदीय आहालमा डुबुल्की मार्न पुगे । पार्टीलाई क्रान्तिकारी दिशामा कसरी अगाडि बढाउने ? कार्यदिशालाई कसरी समृद्ध गर्न सकिन्छ ? पार्टीको आन्तरिक एकतालाई कसरी मजबुत बनाउने ? आदि विषयमा यो गुटले छलफल गर्न नै चाहेन । यसको समग्र ध्याउन्न कसरी प्रचण्डको नवसंशोधनवादी पार्टीमा कति छिटो विलय गराउन सकिन्छ भन्ने मात्रै रह्यो ।
अनि आफू र आफ्नो गुटलाई प्रचण्डको प्रतिक्रियावादन्मुख पार्टीमा बिसाए । संसारमा कहिं नभएको भिडतन्त्र दुईहजारको पार्टी केन्द्र बनाउन पुगे । बुर्जुवा पार्टीले नगरेको मूल्य मान्यताहीन काम उनीहरुले गरे । यसबाट उनीहरु साम्राज्यवाद र त्यसैको टट्टुको रुपमा राम्रो चाटुकार बने । जसले कुनै औचित्यपूर्ण हैसियत राख्न सक्ने कुरै भएन । प्रचण्डले संविधानसभाको नारालाई कार्यनीतिका नाममा रणनीति बनाएझै यस विसर्जनवादी गुटले पार्टीको निर्वाध आत्मसमर्पण गर्न पुगे ।
त्यसैमा चोबल्न अझै पनि विभिन्न पद, प्रतिष्ठा, सुविधाको प्रलोभन दिएर हाम्रो पार्टीका कार्यकर्ताहरुलाई घेराहाल्ने र क्रान्तिकारी धारको प्रतिनिधि संस्था नेकपा (क्रान्तिकारी माओवादी)लाई समाप्त पार्न न्वारनदेखिको वल लगाई प्रतिक्रियावादीको गोटीको रुपमा काम गरिरहेका छन् । यसले अवसरवाद कतिसम्म नाङ्गो र निर्मम हुँदै रहेछ, आफूभित्रको इगो र कुण्ठालाई कति तल्लो हदसम्म पुगेर प्रयोग गर्न सक्दोरहेछ, त्यो छर्लङ्ग भएको छ । महान लेनिनले भनेझैं अवसरवाद प्रतिक्रियावादकै अंग हो भन्ने कुराको यस सन्दर्भमा पुनर्पुष्टी भएको छ ।
राष्ट्रियताको दुहाई दिने यस गुटले साम्राज्यवाद र विस्तारवादको पनि सहमतिमा सरकार परिवर्तनको खेलमा पटक पटक गरेका विना श्रृङखला र तथ्यहीन केवल सत्तावादी लिप्साले उनीहरुको गन्तव्य स्पष्ट भएको छ । अहिलेको नेकपा (माके), जनता ठग्ने टे«ेडमार्कमा सबैले बुझ्ने गरी बदलिएको छ । यसले राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानको प्रश्नलाई झनै ठूलो संकट र दलदलमा परिणत गरिदिएको छ । संसदवाद कै मतियार ओली गुट जतिको पनि राष्ट्रवाद प्रचण्ड र उनको पार्टीमा रहेनछ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग भएको छ ।
यी माथिका घटनाक्रम र यथार्थतालाई नियाल्दा माके पार्टी यथास्थितिवादी मात्र नभएर प्रतिगमनको मात्रामा टाउको उठाएको अवस्थालाई प्रष्ट्याउँछ । अब नेकपा (माके) पार्टीभित्र क्रान्तिकारीहरुको अस्तित्वको प्रश्न प्रायः समाप्त हुँदै गएको छ । यदि त्यहाँ अझै पनि आफूलाई क्रान्तिकारी भन्ने साथीहरु छन् भने तिनीहरुले आफ्नो अस्तित्वको लडाईं लड्नेहरु र विद्रोहको आवाजलाई बुलन्द गर्नेहरु छन् । यति मात्र झिनो आशा गरौं ।
क्रान्तिकारी कार्ययोजनाको कार्यान्वयन र विकास
माथि हामीले दक्षिणपन्थी नवसंशोधनवादीहरुको हर्कतलाई वैचारिक र राजनैतिक रुपमा सार्वजनिक आलोचना र भण्डाफोर ग¥यौं । क्रान्तिकारीहरु आलोचनामा मात्र सीमित रहनु अर्को बिडम्वना र लफ्फाजी मात्र हुन पुग्दछ । त्यसकारण यसमा मात्र सीमित रहँदैनौं । तसर्थ हाम्रो तत्कालीन ठोस योजना र त्यसअनुसारको मूर्त कामको पनि पार्टी पंक्ति र समस्त क्रान्तिकारी जनसमुदायलाई विश्वस्त हुने किसिमले कार्यक्रमिक योजना पेस गर्नुपर्ने हुन्छ । यसै विषयमा सामान्य चर्चा गरिनेछ ।
भर्खरै सम्पन्न राष्ट्रिय भेलाले गरेका निर्णयहरु, नीति र कार्यक्रमहरुको आलोकमा पार्टी केन्द्रीय समितिले मूर्त कार्यक्रमिक योजनालाई अभियानात्मक रुपमा अगाडि बढाउन ठोस निर्णय लिन आवश्यक छ । अहिले वामपन्थी जनसमुदायले क्रान्ति र आमूल परिवर्तनको निशाना भुत्ते हुँदै गयो भनी व्यापक निराशा र कुण्ठा व्यक्त गरिरहेको अवस्था छ । प्रतिक्रियावादीहरुको संगठनात्मक दक्षिणपन्थी नवसंशोधनवादीहरु क्रमशः हाबी हुँदै जानुले पनि जनताको ठूलै तप्काले अब यो क्रान्तिकारी पार्टी र यसको धारले यी सबै चुनौतिहरुको सामना कसरी गर्लान् भन्ने विषय निकै नियालेर हेरिरहेका छन् ।
त्यसैले वस्तुगत रुपमा देखिएको अन्तरविरोध र आक्रोशलाई रणनीतिक उद्देश्यलाई ध्यान दिई दिशा किटानीका साथ कार्यनीतिक योजनाका साथ वैचारिक–राजनीतिक प्रशिक्षण आन्तरिक रुपमा परिचालन गर्न आवश्यक ठानिएको छ । त्यसैगरी बाह्य रुपमा भण्डाफोरको कार्यक्रम लैजान विभिन्न खालका अन्तरक्रिया, गोष्ठी, लेख–रचना प्रकाशन र वितरण तथा प्रचार–प्रसार, भित्ते लेखन, पर्चा आदिको माध्यमबाट जनसमुदायलाई क्रान्ति र परिवर्तनको आवश्यकता र त्यसको सम्भावना प्रष्ट्याएर आशावादी र उत्साहित गर्दै लैजानु आवश्यक ठानिएको छ ।
यो विषयमा हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले लिएको नीति, सिद्धान्त र योजनाले मात्र सर्वहारा आन्दोलनको तत्कालको कार्यभार नयाँ जनवादी क्रान्तिको कामलाई मूर्त र व्यवस्थित गर्दै लैजान सक्छ । पार्टीले यस दिशामा प्रकाशन, प्रचार–प्रसार र सञ्चारको क्षेत्रमा पहलकदमीका साथ कार्य सम्पादन गर्दै अघि बढेको छ । यसलाई अझै व्यापक र व्यवस्थित गरेर सिंगो पार्टी पंक्तिलाई एवम् क्रान्तिकारी जनसमुदायलाई सचेत र संगठित गर्न मद्दत गर्नेछ ।
नेपाल अहिले पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा रहेको र जनताका जनवादी अधिकार खोसिएको (प्रतिक्रियावादी संविधान जारी गरेको) जनजीविकाका समस्या झन्झन् विकराल बन्दै गएको आधारभूत समस्या समेत हल हुन नसकेको एवं राष्ट्रियता संकटग्रस्त बन्दै गएको अवस्थाबाट देशलाई मुक्त गर्न एवं यी समस्याहरु हल गर्न नयाँ जनवादी क्रान्ति गर्न अनिवार्य र अपरिहार्य भएको छ ।
नेपालमा पुँजीवादी जनवादी क्रान्ति पूरा भैसक्यो र अब समाजवादी क्रान्ति गर्नुपर्दछ भनेर हल्ला गर्नेहरुले पुँजीवादी जनवादी क्रान्ति त छोडे छोडे, साम्यवादकै दिशामा पनि अघि बढ्ने विषय झुठो आश्वासन बाँड्नेबाहेक केही छैन । जुन कुरा यिनीहरुको साम्राज्यवादी विश्व व्यवस्थाको अभिन्न अंगको रुपमा रहेको पुरानै संसदवादी विश्व व्यवस्थाको निर्वाचनमा भाग लिएर कहिल्यै नथाक्ने क्रियाकलापले प्रतिक्रियावादकै चाकर बनेको यथार्थतालाई प्रष्ट पारेको छ ।
त्यसैले नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई हाम्रो पार्टीले अंगिकार गरेको छ । नयाँ जनवादी क्रान्तिको आधारभूत कार्यक्रमबारे पार्टीको राजनीतिक प्रतिवेदनमा व्याख्या गरेअनुरुप मूल कार्यभार जनवादको स्थापना अर्थात् नयाँ जनवादी राज्यसत्ता प्राप्त गर्नु अर्को राष्ट्रिय स्वाधीनताको रक्षा अर्थात् साम्राज्यवाद–विस्तारवादबाट मुक्त गर्नु नै हो ।
त्यसलाई प्राप्त गर्न हाम्रो पाार्टीको भर्खर सम्पन्न राष्ट्रिय भेलाले पारित गरेको नेपाली मौलिक विशेषतासहितको जनविद्रोहको कार्यदिशालाई व्यापक बहस छलफलका साथ स्पष्ट गर्दै लगेको छ । यसलाई अझै समृद्ध गर्न पार्टीले राष्ट्रिय सम्मेलनको आयोजना पनि गर्दै आएको हो, परन्तु वाम खोल ओढेको विप्लव प्रवृत्ति र दक्षिणपन्थी नवसंशोधनवादी आत्मसमर्पणवादी बादल गुटले यसमा छलफल बहस नै गर्न चाहेनन् र पार्टीबाट अलग भइसकेका छन् ।
हामी यसलाई मेहनतका साथ अघि बढाउन चाहन्छौं । सो अनुरुप सम्मेलनबारे पार्टीले योजनावद्ध ठोस कार्यक्रमको निश्चित गरेको छ । नेपाली क्रान्तिको राजनीतिक र सामरिक कार्यदिशालाई थप समृद्ध गर्न राष्ट्रिय रुपमा नेपाली समाजको विकास तथा अन्तर्राष्ट्रिय परिस्थितिको व्यापक अध्ययनको पनि आवश्यकता महशुस गरी पार्टी र क्रान्तिको कामलाई समग्र क्षेत्रमा छलाङ्ग लिन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो । यसलाई त्यसै उचाईबाट ग्रहण गर्न आवश्यक छ ।
क्रान्तिको समग्र कामलाई अघि बढाउन माओले भनेझैं क्रान्तिका तीन जादुगरी हतियारको प्रयोग पार्टीले कसरी गर्न चाहन्छ भन्ने विषय महत्वपूर्ण हो । पार्टी खुला भएपछि मूल नेतृत्वले क्रान्तिप्रतिको धोकाधडीले क्रान्तिको दौरानमा निर्माण भएका संरचनाहरु, क्रान्तिकारी पार्टी जनमुक्ति सेना र स्थानीय सत्ता परित्याग वा भत्किसकेका छन् । त्यसको निर्माणमा पर्याप्त ध्यान केन्द्रित गर्न जरुरी छ ।
पार्टी चुस्त दुरुस्त र ठीक ठाक भएमा अन्य संगठनको निर्माण गर्न सकिन्छ । क्रान्तिको लागि क्रान्तिकारी पार्टी निर्माणको काम सबैभन्दा जटिल तर अनिवार्य शर्त हो । त्यो कसरी बन्छ त ? यसबारे पार्टीले गरेका अभ्यासहरु, वर्गसंघर्ष र अन्तरसंघर्षको दौरान प्राप्त गरेका अनुभवबाट शिक्षा लिंदै यसबारे ठोस नीतिसहित योजनावद्ध ढंगले लाग्न आवश्यक छ । पार्टी खुला भएपछि संसदीय कार्यशैलीमा फस्दै गएको छ । त्यसलाई मेहनतका साथ निश्चित मूल्य मान्यतामा परिचालन गर्न कठोर अनुशासनलाई सहज पालना गर्नसक्ने पंक्तिको रुपमा लैजान सकिन्छ वा सकिन्न त्यसमा भर पर्दछ । त्यसो गर्न सक्नुपर्दछ ।
पार्टी र क्रान्तिका लागि मुख्यतः सर्वहारा वर्गीय स्वेच्छिक अनुशासन र जिम्मेवारीवोध मुख्य हो, तरपनि त्यसबारे आवश्यक अनुगमन, आचारसंहिता निर्माण, त्यसको परिचालन, सहयोग, निर्देशनको पालना, निरन्तर क्रान्तिप्रतिको लगाव र जनवादी केन्द्रियता आदिबारे विशेष कडाईसाथ लाग्नै पर्दछ । अन्यथा पार्टी भजनेहरुको जत्थामा बदलिन सक्छ । जसले क्रान्तिका सबै कामलाई चौपट पारिदिन्छ । पार्टी निर्माणमा सबभन्दा पहिला विचार, राजनीति र कार्यशैलीप्रतिको स्पष्टता आवश्यक छ । पार्टीले निम्न समस्याहरुलाई पार्टी निर्माणको मुख्य विषय बनाएको छ ।
जसको बारेमा यथेष्ट ध्यान पुगेन भने बोल्सेभिक पार्टी बन्न सक्दैन । निम्न पुँजीवादी चिन्तन र प्रवृत्ति, विजातीय तत्व र प्रवृत्ति, जनवादी केन्द्रीयताको प्रयोग, केन्द्रिकृत नेतृत्व निर्माण, उदारवाद, मनोगतवाद, क्रियाशीलता र जिम्मेवारीबोध, आत्मालोचना आलोचना र आर्थिक व्यवस्थापनका समस्या आदिलाई जोड दिएको छ । यसबारेको बहस, छलफल र सबैप्रकारका समस्या विरुद्ध संघर्ष गरेर स्पष्टतासहित सही कार्यान्वयनको बाटोमा अघि बढ्न सकिन्छ । माओले भनेझैं जनशैली, सामूहिक र टिमवद्धताको विकासलाई कार्यशैलीको व्यवहारिकतामा उतार्न आवश्यक देखिन्छ । दोस्रो जुझारु टिमको निर्माण र त्यसको वर्गसंघर्षको योजनावद्ध विकाससँगै प्रारम्भदेखि नै लैजानु पर्दछ । यसबारे पार्टीले आवश्यक नीति निर्माण र सोअनुरुप परिचालन गर्दै जाँदा विकसित गर्दै लैजाने कुरा हो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरुलाई लिएर सामन्तवाद, साम्राज्यवाद र विस्तारवादविरोधी संयुक्त मोर्चा निर्माणको प्रश्नलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ । हाललाई यो मोर्चाले कति व्यापक क्षेत्र उत्पीडित जनसमुदाय जोड्छ वा समेट्छ त्यो भने संघर्षको विकासको मूर्त र व्यवस्थित उठानले निर्धारण गर्नेछ । तथापि संयुक्त मोर्चालाई संघर्ष र सत्ताको साधनको रुपमा बुझ्नु पर्दछ । यसले केन्द्रीय र स्थानीय सबै स्तरमा क्रमशः विकल्पको रुपमा आफ्नो कार्यलाई स्थापित गर्दै लैजाने छ ।
विगतमा महान् जनयुद्ध र उत्पीडित जनसमुदायले उठाएका एजेण्डाहरु संघर्षकै रुपमा प्राप्त गरेका उपलब्धिहरुको रक्षा र स्थापित गर्ने प्रश्नलाई जग मान्दै पछिल्लो चरणमा पैदा भएका संकटहरुलाई ख्याल गर्दै संयुक्त मोर्चाको माध्यमबाट जनआन्दोलन र जनपरिचालनलाई अगाडि बढाउनु पर्दछ । प्रतिक्रियावादी संविधानको विरोध र भण्डाफोर, सन् १९५० लगायतका सबै असमान सन्धि सम्झौताहरुको खारेजी, माथिल्लो कर्णाली परियोजना, अरुण–३ लगायतका जलस्रोत सम्बन्धी सम्झौताहरुको खारेजी, सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरीत नेपाल–भारत सीमा क्षेत्रमा भारतीय विस्तारवादी शासकद्वारा निर्माण र निर्माणाधीन बाँधहरुको खारेजी लगायतका राष्ट्रियतासम्बन्धी संघर्षको योजना पर्दछन् । यसका साथै जनताका सरोकारका विषयहरु– महंगी, भ्रष्टाचार, कालोबजारी, तस्करी सबै वेथितिको विरोध, यस्तै जनताका जनजीविकाका जल्दाबल्दा समस्यालाई लिएर संघर्ष सञ्चालन गर्ने स्थिति । आवश्यकतामाथि ध्यान दिंदै क्रमशः प्रतिरोध संघर्षमा विकसित गर्न ध्यान दिनु आवश्यक छ । यी सबै संघर्षहरु केन्द्रीय तथा स्थानीय आधारमा संयुक्त वा एकल संघर्षको रुपमा लैजानु पर्दछ ।
पार्टीले विचार संगठन र त्यसको सापेक्षतामा संघर्षका कार्यक्रमहरु तथा आर्थिक विषयलाई मुख्य जोड दिएको छ । माथि उल्लेखित विषयमा हामीले केही चर्चा ग¥यौं । त्यसलाई ठिक ढंगले सञ्चालन गर्न आर्थिक नीतिलाई जोडेर लैजान नसक्दा पार्टी र आन्दोलन संकटमा पर्ने गरेको छ । हामी यस्तै अवस्थाबाट गुज्रिरहेका छौं । आन्दोलनको क्रम सँगसँगै स्वतन्त्र अर्थतन्त्र निर्माणको प्रश्नमा स्वतन्त्र र आत्मनिर्भर अर्थनीति निर्धारण गर्न आवश्यक भएको छ ।
यस विषयमा पार्टीले आर्थिक व्यवस्थापन समिति बनाएको छ, त्यसले स्पष्ट अवधारणाको विकास गरी केन्द्रीय निकायमा पेस गर्नेछ । त्यसको आधारमा समग्र आर्थिक क्षेत्रको काम अगाडि बढाउने र आवश्यकता अनुसार यसलाई परिस्कृत गरेर समग्र अर्थनीतिको विकासमा टेवा पुर्याउनु पर्नेछ । जसले कार्यकर्ता व्यवस्थापन (मुख्यतः पूर्णकालीन) आन्दोलनलाई सहयोग एवं क्रान्तिकारी जनसमुदायलाई उत्साहित गर्ने दिशातिर लैजान मद्दत गर्नेछ ।
अन्त्यमा, संशोधनवाद र अवसरवादलाई पराजित नगरी क्रान्तिले विजय हासिल गर्न सक्दैन । त्यसको लागि पार्टीले नीति निर्णय र कार्यक्रमिक योजनालाई सबै तहका नेता कार्यकर्ता र क्रान्तिकारी जनसमुदायमा लागु गर्ने प्रतिबद्धतालाई सक्रियतापूर्वक व्यवहारमा उतार्न अत्यावश्यक छ । आन्तरिक रुपमा देखा पर्ने कमीकमजोरीलाई तत्काल समाधानमा ध्यान दिनुपर्दछ ।
बाह्य रुपमा वर्गसंघर्षको कामलाई श्रृङ्खलावद्ध माथि उठाउन सबै प्रकारका तयारीमा ध्यान केन्द्रित गर्न सके पार्टीले नयाँ जनवादी क्रान्तिको कार्यभारलाई सुनिश्चित गर्नसक्छ । वस्तुगत किसिमले त्यो सम्भावना बढेको छ । आत्मगत तयारीलाई सचेत ढंगले संकेन्द्रित गरौं । त्यसैगरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नमा मूर्त, व्यवहारिक र समसामयिक विषयलाई छनोट गरी यथासम्भव संयुक्त संघर्ष उठाउने वा एकल ढंगले भएपनि चोटिलो संघर्ष विकास गर्ने गरी लागौं । सर्वहारा र उत्पीडित समुदायले जितिछाड्नेछ ।
टिप्पणी
१.राजनीतिक प्रतिवेदन २०६९ पेज ३७
२.अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन कि एकता, पृ.२३ प्रगति प्रकाशन मस्को –१९६७