कथित दोस्रो संविधानसभाबाट निभ्दो हैसियत उकास्नका लागि प्रचण्डले ओली, बिजुक्छे, मैनालीसँग मिलेर सरकार बनाए । त्यसबेला प्रतिपक्षमा बसेको नेपाली कांग्रेसले कम्युनिष्टहरुको सरकार पनि भन्यो । तर सरकारमा बस्ने वामपन्थी र कम्युनिष्ट पार्टीले भने कम्युनिष्ट सरकार नभई राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सरकार हो भनेर जनतामा भ्रम छरे ।
सरकारमा सामेल नभएका देव गुरुङले त राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय आत्मसमर्पणवादीका नाइके प्रचण्डसँग एकता गर्नुपर्छ भन्ने विषयमा अन्तरवार्ता, लेख, कार्यकर्तालाई कोच गर्दा राष्ट्रिय स्वाधीनतालाई थेगो नै बनाउन पुगे ।
नेपालका कम्युनिष्ट पार्टीमा व्यक्तिवाद हावी छ । कुनबेला कुन शब्द प्रयोग गर्दा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न सकिन्छ, त्यही शब्द प्रयोग गर्ने चाकडी र अवसरवादी तरिका प्रयोग गर्ने गरेका छन् । त्यस्ता शब्दहरु प्रयोग गरेर अरुलाई मुर्ख बनाउन खोज्दा आफै मुर्ख भएको भने ती स्वाँठहरुले थाहा पाउँदैनन् ।
वामपन्थी, राप्रपालगायतका पार्टीहरुको गठबन्धन सरकार बनेपछि पुष्पकमल दाहाल र प्रम केपी ओलीबीचमा को बढी कथित राष्ट्रवादी हुने भनेर होडबाजी नै चल्यो । कसले के भन्छ भन्ने कुरामा भन्दा कसले के गर्छ भन्ने सवाललाई जनताले प्रमुखता दिन्छन् ।
कांग्रेस र मधेसीलाई भारतपरस्त भन्ने माके आफ्नै हालीमुहालीको सरकार ढालेर मधेसी र कांग्रेससँग गठबन्धन गरेर के गर्न खोज्दैछ भन्ने विषयले अवश्य पनि चर्चा पाएको छ, चासो बढाएको छ । यसले प्रष्ट पारेको छ– माओवादी केन्द्र र नेका वा मधेसीबीचमा विचार र राजनीतिमा त्यति धेरै दुरी छैन । उनीहरुका रणनीति र कार्यनीति मिलेका छन् ।
वर्तमान अवस्था असाधारण छ । एकातिर देशमा प्राकृतिक प्रकोपले गर्दा बाढीपीडित र भूकम्प पीडितका समस्या ज्युँका त्यँु छन् । राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालहरु झन्झन् जटिल हुँदै गइराखेका छन् । महंगी, कालोबजारी, कमिसनखोर, भ्रष्टाचार क्यान्सरजस्तै फैलिएर गएका छन् ।
नीति निर्माण गर्ने तहका माके सभासद्समेत मानव तस्करीमा संलग्न भएको खबरले माकेभित्रको मात्र होइन, सबै संसदवादी पार्टीहरुको यथार्थलाई बुझ्न सजिलो बनाएको छ । यसबारे संसदवादी दलहरु खासै संवेदनशील छैनन् । उनीहरुको लागि यी सामान्य र स्वभाविक घटना भइसके ।
संसदका तीन ठूला दलीय सिण्डिकेटले विशीको इशारामा दोस्रो संविधानसभाबाट संविधान घोषणा गरेपनि मधेसी, थारु, जनजाति, दलित, महिलालगायत तल्लो वर्गका हक अधिकार सुनिश्चित गर्न नसकेको भनेर आधाभन्दा बढी जनता यो एक थान संविधानको विरोधमा छन् । तर सत्ताको लुँचाचुँडीमा लागेका दलहरु यो सवालमा उदासिन छन् । उनीहरु समस्या सुल्झाउनभन्दा बल्झाउन लागिपरेका छन् । यसरी समस्या बल्झाउन ठूला दलका दलाल नेताहरु सक्रिए छन् । उनीहरु विदेशीको डिजाइनमा मुलुकलाई निरन्तर अस्थीरतातर्फ धकेल्न चाहन्छन् ।
जबसम्म यो देशका ठूला दल भन्नेहरु देश र जनतालाई मुख्य मानेर देशमा भएका समस्याहरु आफ्नै देशभित्रकै छलफलबाट सुल्झाउने संस्कारको विकास गर्दैनन्, त्योबेलासम्म नेपाल स्वतन्त्र हुन सक्दैन । हामीले हाम्रो परनिर्भरता आफैले बढाएका हौं । हामीसँग भएका साधनस्रोतको आफैले विकास गरेर देशभित्रै उत्पादन बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा देशका साधन स्रोत कमिशन खाएर जनतालाई रोजगारी दिने नाममा र विप्रेषण संकलन गर्ने नाममा म्यानपावर खोलेर देशका युवायुवतीलाई २१ औं शताब्दीको डिङ हाक्दै भेडाबाख्रा जस्तै बिक्री गर्न पुग्यौं ।
अब देश नराम्रोसँग दलदलमा फँसिसकेको छ । मधेसको वास्तविक जनता धेरै पीडित छन् । मधेसी जनताको नामबाट देशलाई विखण्डन गर्ने तत्वदेखि हामी सावधान हुनै पर्दछ । कहिले सडकबाट देश विखण्डनको प्रयास हुन्छ भने अब सरकारमा गएर पनि त्यस्तो प्रयास जारी रहन सक्छ ।
नेपाल आज यस्तो कठिन अवस्थाबाट गुज्रिरहेको छ । त्यसको सही अवतरण खाँचो छ । अगाडिबाट ब्वाँसो धपाउँदा पछाडिबाट बाघ पस्ने खतरा छ । त्यसको एकमात्र समाधान भनेकै प्रगतिशील देशभक्त शक्तिको गठबन्धन खाँचो छ । अहिलेको सत्ता परिवर्तनको सवाललाई हेर्दा विदेशीको इशाराबाट यसको योजना बनाइरहेको हो भन्ने सहजै आँकलन गर्न सकिन्छ । भारतीय विस्तारवादले दक्षिण एसियामै बितण्डा मच्चाइरहेको छ ।
विषेश गरेर नेपालको वर्तमान अवस्थामा भारतीय हस्तक्षेप धेरै बढ्न गएको देखिन्छ । मुख्यतः भारतीयहरुको चासो भनेकै नेपालको जलस्रोत माथि छ । सकभर नेपाललाई भारतमा नै बिलय गराउने उसको मुख्य योजना हो । त्यसो हुन नसके नेपाल तराईको २२ जिल्ला फुटाएर तराई अलग देश बनाएर पाकिस्तानलाई फुटाएर बंगलादेश बनाएजस्तै त्यहाँ आफ्ना प्रतिनिधि मात्र बनाउने उसको उद्देश्य छ । त्यो पूरा हुन नसकेपछि सरकारमा गएर नेपालको जलस्रोतमाथि पीडीए/पीटीए लागु गर्ने उदेश्यबाट यो पछिल्लो गठबन्धन प्रेरित छ । हरेक पार्टीमा रहेका देशभक्त, वामपन्थी, प्रगतिशील व्यक्तिहरुको गठबन्धनले मात्र नेपाल र नेपालीको गौरव, राष्ट्रिय स्वाधीनता जोगाउन सक्छ ।
हामीले माओवादी केन्द्रको विगत र वर्तमानका बारेमा नेतृत्वको विचार, राजनीतिका बारेमा घामजत्तिकै छर्लङ्ग छ । परिवर्तनकामी विचारबाट यो विचलित भइसकेको छ । यसले पहिला त क्रान्तिकारी विचारलाई निमिट्यान्न पार्न खोज्दैछ । कम्युनिष्ट विचारलाई भ्रष्टीकरण गर्ने प्रयासतिर अघि बढिरहेको छ । काउत्स्की र वर्नस्टीन मध्यपन्थी बाटोतिर यिनीहरु डोहो¥ियएका छन् । प्रजातान्त्रिक समाजवाद नीतिसँग पनि यसको वैचारिक मेल खान्छ ।
तर कार्यशैली पद्धतिगत हिसाबले यसको कतै पनि मेल खाँदैन । यसले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा विश्वास गुमाइसकेको छ । एक जना साथीले प्रचण्डको कार्यशैलीको आलोचना गर्दा ‘सैतानले जिउँदोमा पनि सुख दिँदैन, मरेपछि पनि सुख दिँदैन’ भन्नुहुन्थ्यो र पछि त उहाँपनि त्यही सैतानको घरभित्र पस्न पुग्नुभयो । उहाँकै शब्द सापटी लिएर भन्नुपर्दा सैतानकै घरभित्र पस्दा उहाँलाई कति तर्साउँदो हो ? एकपटक सोध्न मन लागेको छ ।
नेपालका कम्युनिष्ट नामधारी पार्टीलाई संसदवादको लत लागि सकेको छ । त्यो संसदीय फोहोरी खेलमा फँसेर देश र जनतालाई धोका दिनु, शक्ति राष्ट्रको दलाली गरेर सत्तामा जान खोज्नु उनीहरुको खेती नै भएको छ । तर पनि खाक्रो राष्ट्रवादको अभिमान गरिरहेका हुन्छन् । केपी ओलीले त्यही गरे, गरिरहेका छन् ।
यतिखेरको अवस्थामा जनविश्वासलाई व्यवहारबाटै जित्नसक्ने क्रान्तिकारी राष्ट्रवादी र अन्तर्राष्ट्रियवादी नेतृत्वको आवश्यकता खट्किएको छ । त्यसको साहस, हिम्मत क्रान्तिकारी नेतृत्व, विचार, संगठनको सेटको आवश्यकता परिसकेको छ । लाखौं जनतालाई साथ लिएर देशलाई मुक्त गर्नु वीरहरुको काम हो । अब नेपाली जनता र राष्ट्रको बारेमा को बलभद्र, अम्मरसिंह थापा, भिमदत्त बन्ने र को लेण्डुप दोर्जे बन्ने भन्ने परीक्षाको घडी आइपुगेको छ ।
देशको सार्वभौम सत्ता, क्षेत्रीय अखण्डता, स्वाधीनता, स्वतन्त्रताका लागि खुट्टा कमाउन हुँदैन नेपाली जनता साथ दिन तयार छन् । नेपाली जनता राष्ट्रवादी भएको ज्वलन्त उदाहरण सप्तरी जिल्लाको तिलाठीमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले एकलौटी रुपमा स्वेच्छाचारी तरिकाले बनाएको बाँध नेपाली तराईबासी वीर जनताले भत्काई दिएकालाई लिन सकिन्छ ।
राष्ट्रवादी ओठेभक्तिको औकात तिलाठी घटना उजागर गरिदिएको छ । अब नेपाली राष्ट्रवादी जनता भारतीय विस्तारवादविरुद्ध आफैं उठ्नेछन् । नेपालका सरकारमा बस्नेहरुले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधीनताका लागि चुँसम्म पनि बोल्न कहिल्यै सकेन । अब जनता सरकारको मुख ताकेर बस्ने छैनन् । तिलाठीबाट थालनी भएको राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको आन्दोलन देशभरि फैलिने छ ।
नेपालको माथिल्लो पहाडी क्षेत्रमा जलाशययुक्त परियोजना बनाउन नदिने र सीमा क्षेत्रमा बाँध बनाउने र पर्खाल लगाउने भारतीय विस्तारवादको ज्यादतीविरुद्ध नेपाली राष्ट्रवादी देशभक्त जनताले तिलाठीका जनताबाट स्वाधीनता र स्वाभिमानको पाठ सिकौं ! तिलाठीबासी वीर नेपालीलाई मेरो पनि सलाम !