
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी भारत भ्रमणको एजेण्डामा केन्द्रित रहने बताएका छन् ।
विहीबार सिंहदरबारमे रिपोटर्स क्लवका अध्यक्ष धमलासहितका पत्रकारहरुसँगको भेटमा उनले केही समयदेखि नेपाल–भारतबीचको सम्बन्ध असहज भएकाले सम्बन्ध सुधारका भ्रमण महत्वपूर्ण हुने बताए । आफ्नो भारत भ्रमण भारतका राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको वातावरण बनाउन केन्द्रित हुने पनि जानकारी दिए ।
संविधान निर्माणपछि केही समय असहज देखिएको नेपाल–भारत सम्बन्ध सुधार गर्नसमेत आफ्नो भ्रमण केन्द्रित रहने उनले बताए ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निधिलाई भारत र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री महराको भ्रमण चीनका राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण र दुई देशको सम्बन्ध सुदृढीकरणमा केन्द्रित हुने उपप्रधानमन्त्री निधीले बताए ।
उपप्रधानमन्त्री निधिले आन्दोलनरत मधेसी, जनजाति, थारुको माग सम्बोधन गर्ने गरी सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको पनि जानकारी दिए ।