उखाने सरकारका सहकारी तथा गरिबको निवारण गर्ने उखानेमन्त्री उखानबहादुरसँग विभिन्न विषयमा झर्रोटर्रोका पत्रकार कैलुब्राहले मन्त्रीकै कार्यकक्षमा हतारहतारमा गरेको लामो अन्तरङ्ग गफगाफको सारसङ्क्षेप यहाँ पस्किएको छ । पढ्ने नपढ्ने तपाईहरूको खुसी ।
कैलुः नमस्कार मन्त्रीज्यू ।
उखानबहादुरः मन्त्री होइन चाइन्जो उपपर्धानमन्त्री ज्यू भन्नुस्, यसरी सानो दलको हो भन्दैमा मानहानी नगर्नुस् न । तपैँले हाइस्कुल पढ्दा नेपाली विषय त भढ्नु भओ होला । नेपालीमा उपसर्ग भन्ने हुन्च । हो, पर्धानमन्त्रीमा त्यै उप भन्ने उपसर्ग लागेर उपपर्धानमन्त्री भा’को हो । यो पर्धान भन्दा माथी हो । पश्चिमा संस्कृति भित्र्याएर चाइन्जो पर्धान भन्दा तल पारेका हुन् । ऐले हामी आएसी यसलाई उल्ट्यायौँ । त्यै भएर उपपर्धानमन्त्री पनि छ जना छौँ । म सरकाराँ बसेर पनि संविधानको विरोध गरेर आन्दोलनको नेतृत्व गरेको देख्नु भएन । पर्धान भन्दा तल भा’को भए पाइन्थ्यो त ? के कुरा सोध्न आउनु भओ थ्यो सोधिहाल्नुस्, मलाई सरकार विरुद्ध भाषण गर्न जान ढिला भओ छ ।
कैलुः तपाईको पार्टीले त सरकारलाई प्रतिक्रियावादी भन्ने गथ्र्यो, सङ्घीयताको विरोध गरिराख्नुभा’छ । फेरि सरकारमा पनि जानुभा’छ । सरकार त तपाइँहरूलाई पनि प्यारै लाग्दो रहेछ त हैन ?
उखानबहादुरः एकैचोटी यतिका प्रश्न गर्नुभओ, चाइन्जो मलाई ढिला भओ छ । तैपनि उत्तर त दिनै परो । लौ सुन्नुस् । कुन् पत्रिकाको पत्रकार रे तपैँ ?
कैलुः झर्रोटर्रो ।
उखानबाहादुरः हाहाहाहा कस्तो नाम । ठ्याक्कै मेरै स्वभाव जस्तो पो रैछ त । लौ कुरो मिलो । अँ अघि केकेजाती सोध्नुभा’थ्यो केरे, मेरा कुरा सबै छाप्नुहोला नि, काटकुट नपार्नुहोला । चाइन्जो सरकार त अहिले पनि हामी बाहेकका त प्रतिक्रियावादी नै हुन् । जहाँसम्म हाम्रो कुरा छ, यो के भओ भने जिन्दगीभर राजनीतिमा लागियो । लाग्दा लाग्दा चाइन्जो उमेरले पनि डाँडो काटेर पिण्ड खाने बेला हुन लाओ । राजनीति नगरेरै मन्त्री खाने गरेको देशाँ राजनीतिमा लागेर पनि मन्त्री नहुँदा माथी बैकुण्ठबासाँ बास नपाइएला भन्ने चिन्ता भओ । सरकार त मेरा लागि नखाउँ भने जिन्दगीभरको शिकार, खाउँ भने कान्छाबाउको अनुहार भओ छ ऐले ।
कैलुः किन त्यसो भयो, अलि खुलस्त पारिदिनुहोस् न ?
उखानबहादुरः अब हेर्नुस्, चाइन्जो उपपर्धानमन्त्री त भइयो तर मेरो मन्त्रालयमा बजेट नै छैन । कसरी काम गर्ने हेर्नुस् न । कति गारो भओ छ । मन्त्री भएर बिटालियो मात्रै ।
कैलुः किन यस्तो सहकारी र गरिबी निवारण मन्त्रालय लिनुभा’को त ?
उखानबहादुरः ठूला दलदेखि भाग लाउँदै जाँदा हामीलाई यहि परो के गर्ने । त्यै भएर त मैले भनेको, नखाउँ भने जिन्दगीभरको शिकार, खाउँ भने कान्छाबाउको अनुहार । मेरो राजनीति पनि गरिब सर्वहारा वर्गको प¥यो, त्यै भएर मलाई यहि मन्त्रालय पारेका हुनन् ।
कैलुः मन्त्रालयमा बजेट नै छैन भन्नुभो, कसरी गर्नुहुन्छ त गरिबी निवारण ?
उखानबहादुरः ठूला पार्टीहरूले भाग लाउँदै जाँदा हामी साना पार्टी र अझ चाइन्जो त्यसमा पनि यौटा मात्रै मन्त्री भएर नदेका हुनन् नि । हेइँका कर्मचारी सर्मचारी पाल्ने मात्रै बजेट दिए । बजेटलाई ठूला पार्टीहरूले आफ्ना बाउको सम्पतीझैँ बना’छन् । अब चाइन्जो के गर्नुन्च । सहकारी मन्त्रालय पनि भएकाले गाउँगाउँमा गरिबहरूलाई जम्मा पारेर सहकारी खोलेर भए पनि काम चलाउनु पर्ला ।
कैलुः प्रसङ्ग बदलौँ, तपाइँले पहिला माओवादीका सुप्रिमोलाई ‘आफ्ना केटाहरूलाई घाट छाम्न पठा’छन् पछि आफै जान्छन् सरकाराँ’ भनेर भन्नुभा’थ्यो, अहिले तपाइँ पनि घाट छाम्न जानुभा’ त हैन ? अर्को पटक आफ्ना माउपार्टीका जिएसलाई पठाउनका लागि ? आखिर सरकारमा जानै पर्ने रहेछ माओवादी सुप्रिमोकै पालामा गएको भए हुने थिएन र ?
उखानबहादुरः आखिरमा चाइन्जो मैले भनेकै त भयो नि । पहिला घाट छाम्न गा’थे, पछि सबै गए संसद र सरकाराँ । हामीले त उतिबेलै माओवादीलाई उग्रवामपन्थी भड्काउमा लाग्या छन् है भनेर भन्याथ्यौँ । उग्रवामको नतिजा उग्र दक्षिणमा जाने हुन्च । देख्नु भएन, उनीहरू कसरी भड्किँदै भड्किँदै हिँडिरा’छन् । सरकाराँ भएको बेला पनि भड्किएरै कट्वालेलाई कारबाही गरे । पशुपतिका पुजारीलाई हटाए । यो पनि भड्काउ थ्यो । हिजो युद्धका बेलाँ भारतमा बसेर मोजमस्ती गर्नी, उनीहरूलाई विन्तिभाउ हालेर शान्ति प्रकृयामा आउनी, अनि उनकै मान्छेलाई पुजारीबाट हटाउनी ? यो सबै उग्र वामपन्थी भड्काउको खेल थ्यो । अहिले पनि भड्किँदै भड्किँदै दक्षिणतिर हिँड्दा हिँड्दा समुन्द्रैमा पुग्या छन् । ‘ओहो लौ फसायो है सुप्रिमोले’ भनेर वैद्यजी पछि फर्किएर पुरानै ओक्तो थिच्न लाग्या छन् । डाक्टर पनि यो बाटो त हुन्न है भनेर अङ्ग्रेजी दबाइपानी गर्ने बाटो समाते । सुप्रिमोले अझै पनि धामी झाँक्रीहरूलाई लिएर समुन्द्रमा फालहाल्न खोज्या छन् । पैलापैला ‘कैँ नभा’को जात्रा हाँडीगाउँमा’ भन्थे ऐले कैँ नभा’को जात्रा पेरिसडाँडाँ भा’छ । हाहाहाहा । कम्निस्टको त ब्यैज्यतै गर्ने भए पन्ध्र सयको कन्द्रीय समिति बनाएर । चाइन्जो ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भनेको यै हो । ऐले आफैलाई पनि लाज लागे होलाकेरे यो त माधिवेसन आयोजक समिति पो हो भन्दै हिँड्या छन् । थोरै भए केन्द्रीय समिति हुने अरे, धेरै भए माधिवेशन समिति हुने अरे । आफ्नो सोरेक अनुसारको व्याख्या । थोरै भए पनि धेरै भए पनि कुरो त उही त हो ।
कैलुः अहिले त तपाइँहरू पनि उनीहरूसँगै मिलेर सरकारमा जानुभा’छ त ?
उखानबहादुरः चाइन्जो सुप्रिमो त छैनन् नि यतिखेर सरकाराँ । फेरि यो सरकार र हाम्रा बिचमा दुइतिन्टा कुरा मिल्चन् । चाइन्जो म उखानबहादुर परेँ, पर्धानमन्त्री पनि उखानप्रसाद परे । हामीले पनि सङ्घीयताको विरोध ग¥याछौँ, उखानप्रसादले पनि पहिला सङ्घीयताको विरोध गरेकै हुन् । उनले पनि उग्रवामपन्थी भड्काउको विरोध गर्नी, हाम्ले पनि गर्नी । त्यै भएर हाम्रो कुरा मिल्यो अनि सरकाराँ गैयो । जाहाँसम्म हाम्ले पनि घाट छाम्न गएको भन्नी तपाइँको जिज्ञासा छ त्यस्तो क्यै पनि हैन । हाम्ले घाट छामेको हैन खोलै तर्न खोजेको हो । जिन्दगीभर राजनीति गरेर त्यसै माथि जान त भएन । मर्नी बेला हरियो काँक्रै भए पनि खानु प¥यो भनेर सचेततापूर्वक गा’को हो । चाइन्जो अरू जस्तो छलछाम गरेको हैन । हाकाहाकी गएको हो । पछि माउनेता हाम्रा उहाँ (जिएस) जाने कुरा आउँदै । किनभनी एक त उहाँ भूमिगत हुनुहुन्च । दोस्रो कुरा उहाँ धेरै बुढो भैसक्नुभो । अर्को पटकको यस्तै अवसर आउँदासम्म सायद उहाँलाई पिण्डै दिनु पर्ने अवस्था पनि आउन सक्छ । तेस्रो कुरा उहाँको सट्टामा उहाँकी धर्मपत्नी सम्सदाँ त हुँदै हुनुहुन्च । चौथो कुरा उहाँका मान्छे जति सबै क्वै पेरिसडाँडातिर जन्तेबाख्रो खान गैसके । क्वै वैद्यजीको ओक्तो थिच्दै छन् । क्वै डाक्सावको कम्पाउण्डर बन्याछन् । ऐले त उहाँ आफ्ना मामा, छोरो र नातोदारहरूसँग एक्लै गुप्तबासाँ हुनुहुन्च ।
कैलुः अहिले तपाइँ सरकारमा बसेर सरकारकै विरोध गर्नुभा’छ किन ?
उखानबहादुरः चाइन्जो म पो सरकारमा छु त, हाम्रो पार्टी त छैन नि । पार्टीले त सङ्घीयताको विरोध गरेर आन्दोलन गरेओ छ । सङ्घीयता हाम्रो एजेण्डा’नि हैन । अर्को कुरा यो सरकारले मनपरी गरिराख्या छ । म सरकाराँ छु तर मलाई क्यै पनि नसोधेर आफ्नै मनमानी ढङ्बाट पर्धानमन्त्रीले सरकार चलाउनु भओछ । मेरो मन्त्रालयमा बजेट पनि हाल्दिनु भओ छैन । सँगै सरकाराँ बसेर कसैले बासमती चामलको भात खाने कसैले सिम्ठाराको कनिका चाहार्नुपर्ने । यो त अचाक्ली भओ भनेर विरोध गरेको । सरकार छोडौँ भने मर्नेबेलाको हरियो काँक्रो छोड्न’नि भएन । चाइन्जो अरूले मुख बाएर बस्या छन् । असाध्य अप्ठ्यारो निल्नु न ओकल्नु भओ छ ।