एजेन्सी । अमेरिका नेतृत्वको सेनाले इराकमाथि आक्रमण गरेको करिब १३ वर्षपछि इराक युद्ध अनावश्यक भएको रिपोर्ट सार्वजनिक भएको छ ।
बेलायतमा सार्वजनिक गरिएको एक रिपोर्टमा बेलायतले युद्धमा उत्रिनुअघि शान्ति स्थापनाका लागि उल्लेख्य भूमिका खेल्न नसकेको औल्याइएको छ ।
सन् २००३ मा इराकमा अमेरिका नेतृत्वको गठनबन्धनले घातक हतियार राखेको आरोपमा गरिएको आक्रमणमा बेलायत मुख्य सहयोगी देश थियो ।
बेलायतको आधिकारिक छानविन आयोगका अध्यक्ष सर जोन चिलकटले इराकमाथि सैन्य आक्रमण अन्तिम विकल्प नभएको भन्दै अन्य विकल्पलाई विचार नगरेको बताएका छन् ।
इराकमा आमविनाशकारी हतियार रहेको आरोपमा आक्रमण गरिएको भएपनि घटनाक्रममले यसलाई पुष्टि नगर्ने भन्दै त्यो तर्कसंगत र न्यायोचित नरहेको उनको भनाई छ ।
यसका साथै युद्धपछि इराकको पुनर्निमाणका लागि बनाएको योजना अपर्याप्त र अनुचित रहेको समेत औल्याएको छ । चिलकट आयोगले विभिन्न १२ भागमा रिपोर्ट सार्वजनिक गरेको छ । करिब ७ वर्षको जाँचपछि यो रिपोर्टं सार्वजनिक गरिएको हो । चिलकटको रिपोर्टमा व्यक्ति र संस्था दुवैको आलोचना गरिएको छ ।
यस्तो रिपोर्ट सार्वजनिक भएलगत्तै अब युद्धमा मारिएका सैनिकका परिवारले पूर्वप्रधानमन्त्री तथा लेबर पार्टीका नेता टोनी ब्लेयरसँग प्रश्न उठाउन सक्ने भएका छन् । इराक युद्धका क्रममा करिब १७९ जना बेलायती सेना मारिएका थिए ।
यता बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले भने त्यो निर्णय अलोकप्रिय भएपनि तत्कालीन आवश्यकता भएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् ।
उनले तत्कालीन समयमा युद्धको विकल्प नरहेको भन्दै इराक आक्रमणको बचाउ गरेका हुन् । इराक र तत्कालीन शासक सद्दाम हुसेनले आम विनाशकारी हतियार राखेको भन्दै आक्रमण गरिएपनि त्यसप्रकारका कुनै हतियार भेटिएको थिएन ।
चिलकट प्रतिवेदनमा पनि बेलायतले इराकमाथिको आफ्नो नीति कमजोर र अपुष्ट गुप्त सूचनाको आधारमा तयार गरेको भन्दै यसलाई परीक्षण गरेर मात्रै कार्यन्वयनमा जानुपर्नेमा त्यसो नगरिएको उल्लेख गरिएको छ ।
बेलायती पूर्व प्रधानमन्त्री ब्लेयरले भने इराकमा आम विनाशकारी हतियार नभेटिएपनि तत्कालीन शासक सद्दाम हुसेनलाई हटाउनु सहि कदम भएको दावी गरेका छन् ।
अमेरिका नेतृत्वको सेनाले आक्रमण गरी सत्ताच्युत गरेपछि तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई ३० डिसेम्बर २००६ मा फाँसी दिइएको थियो । सद्दामलाई फाँसीको सजाय सुनाउने न्यायाधीस रउफ अब्दुल रहमानलाई पनि आईएस आतंकवादीले फाँसी दिएका थिए ।