हिजो आज माओवादीबृत्तमा कार्यदीशाको समृद्धिकरणको कुरा विशेष चर्चामा छ । कोही मालेमाको रक्षा, प्रयोग र विकासको कुरा त गर्दछन् तर मालेमावादी विज्ञानलाई आक्रमण गर्न पनि पछि पर्दैनन् । २१ औं शताब्दीको चुनौतिको सामना गर्न नयाँ संश्लेषणसहित समग्र कार्यदीशाको अध्ययन र अन्वेषण गर्नु पर्दछ पनि भन्छन् र माक्र्सवाद–लेनिनवाद–माओवाद पुरानो भयो र अहिलेको दुनियाँलाई यसले न बुझ्न सक्दछ न बदल्न नै सक्दछ भन्ने निष्कर्ष पनि निकाल्दछ ।
यसै सन्दर्भमा केही समय अगाडि २०७२ चैत्र १२ मा ने.क.पा.(क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक आयोजना भयो । सो बैठकको एकमात्र कार्यसूचि पार्टी एकताको आधार निर्माण थियो । सो बैठकमा अभिब्यक्त दुई लाइन संघर्ष निकै गम्भीर र पेचिलो रह्यो । पार्टीले हालसम्म लिइदै आएको नयाँ जनवादी क्रान्तिको राजनैतिक कार्यदीशामा असहमति प्रकट गर्दै बरिष्ठ नेता रामबहादुर थापा(क.बादल)ले न्यूनतम कार्यक्रम राष्ट्रिय– जनवाद(National-Democracy) र अधिकतम कार्यक्रमको रुपमा राष्ट्रिय–समाजवाद (National– Socialism) को कार्यदीशा पेश गर्नुभयो, जुन के.स.को बैठकमा सुझावसहितको पूरक प्रस्तावको रुपमा प्रस्तुत भयो । यसले स्वाभाविक रुपमा बहसको माग गर्दथ्यो । यसको हल स्वभावत् राष्ट्रिय सम्मेलनद्धारा गर्नु पर्ने हुन्थ्यो । त्यसो भएन बरु उहाँहरु बहसबाट भाग्नु भयो । विचार, सिद्धान्त छाडेर एमाओवादीकै कार्यदीशामा पलायनको बाटो रोज्नु भयो । आखिर के हो त राष्ट्रिय जनवाद (National Democracy) र राष्ट्रिय समाजवाद (National Socialism) भन्ने बारे संक्षिप्त चर्चा गर्न खोजिएको छ ।
(क) राष्ट्रिय–जनवाद(National-Democracy)
क.बादल भन्नु हुन्छ “चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति कुसलता पूरक सम्पन्न भई जनवादी सत्ता त स्थापना भयो तर माओको निधनपछि चीनमा किन प्रतिक्रान्ति भयो र चीनियाँ मोडेलबाट क्रान्ति गर्छु भन्दा विश्वब्यापी रुपमा किन धक्का खायो ? जनयुद्ध किन पराजित भयो ? कम्यूनिस्टहरु झन् झन् किन प्रतिरक्षामा गयो ? किन माओवादीहरु गोलचक्करमा फस्दै गईरहेका छन् ? यसको मुख्य कारण कार्यदीशा हो । त्यसकारण नयाँ जनवादी क्रान्ति नै अब सम्भव छैन, यो गलत छ, यो पुरानो भयो ।” भन्दै उहाँले नयाँ जनवादको न्यूनतम कार्यक्रमको विरुद्ध राष्ट्रिय–जनवादको राजनैतिक कार्यदीशा पेश गर्नु भयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तन, सूचना प्रविधिमा भएको विकास, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुद्धारा क्रान्तिकारी शक्तिहरुका विरुद्ध अपनाएका रणनीति र कार्यनीतिका विषयमा हामी गम्भीर हुनै पर्दछ । उनीहरुको रणनीति र कार्यनीतिलाई बुझ्ने र परास्त गर्न क्रान्तिकारीहरुले पनि क्रान्तिकारी रणनीति तथा कार्यनीति विकास गर्ने कुरा सहि हो । पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकपछि कुपण्डोलमा बसेको के.स.को बैठकदेखि हामीले कार्यदीशा समृद्ध गर्नु पर्ने सर्वसम्मत निर्णय लिइदै आएकै हौं । यसका निम्ति राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेकै हो । तर क.बादलहरु किन यसका निम्ति तयार हुनु भएन ? बरु कार्यदीशा समृद्ध गर्न बहसमा हेलिनुभन्दा, एमाओवादीकै लाइनमा समाहित हुने श्रेयस्कर किन ठान्नु भयो ?
नयाँ जनवाद पुरानो भयो अब राष्ट्रिय–जनवादको नयाँ कायदीशाबाट अघि बढनु पर्छ भन्ने छ । के राष्ट्रिय– जनवाद(National-Democracy) नयाँ हो ? के यो कम्यूनिस्ट कार्यदीशा हुन सक्छ ? त्यो कदापि होइन र हुन सक्दैन पनि । राष्ट्रिय– जनवाद(National-Democracy) पनि सन १८८६ मा तत्कालिन सोभियत संघका परराष्ट्र मन्त्री र पोल्याण्डका वुर्जुवा अन्धराष्ट्रवादी नेता रोमन डोमोस्की(Roman Dmowski-National Democratic Party Of Poland) ले विकसित गरेको विज्ञान हो । यो सिद्धान्त शुरुको चरणमा जारशाही सरकारको दबदबा र रुसिकरणको सिद्धान्त(Russification Policy) का विरुद्ध राष्ट्रिय शक्तिहरुको एकत्रीकरण(Consolidation of National forces) का निम्ति प्रयोग गर्यो भने १९०५–०७ तिर पोल्याण्डमा सर्वहारा क्रान्तिकारी गतिविधि वृहतर विकास हुदै गयो । ठीक त्यहीबेला डोमोस्कीले जारशाहीसँगको मैत्रीसम्बन्धसहितको सहकार्यद्धारा यही सिद्धान्त कम्युनिस्टहरुलाई दमन गर्ने हतियारको रुपमा प्रयोग गरे । दोश्रो विश्वयुद्धको अन्ततिर सोभियत संघ र कम्युनिस्ट शासन पद्यतिको विकास र पोल्याण्ड कब्जापछि राष्ट्रिय–जनवादको सिद्धान्तको अस्तित्व समाप्त भयो । यही लाइन फेरि १९५६ मा पहिलो पटक सोभियत संघ कम्युनिष्ट पार्टीको बिसौं कँगेसमा निकिता खुश्चोभले बहसमा ल्याउने काम भयो । नेपालमै पनि राष्ट्रिय प्रजातन्त्र वा राष्ट्रिय–जनवाद वि.सं.२०१९ मा पुष्पलालको मूलबाटो (नयाँ जनवाद) को विरुद्ध तुलसीलालले ल्याएको प्रस्ताव होइन र ?
अब भन्नुस् कम्युनिस्ट विचारको प्रयोग र विकाससँगै विस्थापित भएको राष्ट्रिय–जनवादको कार्यदीशा नयाँ कि नयाँ जनवाद नयाँ ? माक्र्सवादको रक्षा, प्रयोग र विकास गर्दै लेनिनवाद हुदै नयाँ जनवादको व्यवहारिक पुष्टीसहित प्रमाणित माक्र्सवादकै विकसित रुप माओवाद गलत कि राष्ट्रिय–जनवाद ? त्यसो भए के राष्ट्रिय–जनवादको कार्यदीशाको प्रतिपादक रोमन डोमोस्की, बिश्व कम्युनिस्ट आन्दोलनमा प्रवेश गराउने निकिता खुश्चोभ र ने.क.आ.मा प्रवेश गराउने तुलसीलाल क्रान्तिकारी हुन् त ? के त्यसो भए नयाँ जनवादको प्रतिपादक माओ, नेपालमा पथ प्रदर्शन गर्ने पुष्पलाल र जनगणतन्त्र नेपालको सपना देख्नेहरु सबै जडसुत्रवादी हुन त ?
नयाँ जनवादी क्रान्ति गलत वा पुरानो भएर होइन ? बरु क्रान्ति सम्भव छैन, साम्राज्यवाद र विस्तारवादले खडा गरेको र विकास गरेको प्रविधिलाई अजङ्गको बाघ देख्नु पो समस्या हो । तसर्थ नेपाल जस्तो ह्रासोन्मूख सामन्तवादी तथा अर्ध÷नवऔपनिवेशिक मुलुकमा नयाँ जनवादको विकल्प राष्ट्रिय–जनवादको कार्यदीशा नेपाली क्रान्तिको अबको बाटो हुन्नै सक्दैन् ।
ख) राष्ट्रिय समाजवाद (National Socialism)
क.बादल भन्नुहुन्छ “कम्यूनिष्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भए र विश्वब्यापी रुपमा समाजवादी सत्ताहरु पनि स्थापना भए तर लेनिन र स्तालिनको निधनपछि समाजवादी सत्ताहरु पनि ढले । किन त्यसो भयो, आफैंलाई टिकाउन नसक्ने समाजवादको के अर्थ ? त्यसकारण २१ औं शताब्दीका कम्यूनिष्टहरुले राष्ट्रिय–समाजवाद(National–Socialism) को कार्यक्रम अनुसार अघि बढनु पर्दछ ।”
हामी कम्यूनिष्टहरुले बैज्ञानिक समाजवाद(Scientific Socialism)को अधिकतम कार्यक्रम अंगाल्दै आएका छौं । हामी यसबारे थोर बहुत जानकार नै छौं । क.बादलले अघि सार्नु भएको राष्ट्रिय–समाजवाद(National–Socialism)ले कम्यूनिष्ट आन्दोलनमा ठूलो भ्रम पैदा अवश्य गराएकै छ ।
२० औं शताब्दीको आसपासमा समग्र विश्व दूई ध्रुवमा विभक्त थियो । एउटा ध्रुव कम्युनिस्टको नेतृत्वमा त अर्को ध्रुव हिटलर(नाजिवादी)को नेतृत्वमा थियो । कम्युनिष्टहरु सर्वहारा अन्तर्राष्ट्रियतावादी दृष्टिकोणबाट अघि बढिरहेका थिए भने नाजिवादीहरु अन्धराष्ट्रवादी दृष्टिकोणबाट अघि बढिरहेका थिए । कम्युनिष्टहरु बैज्ञानिक समाजवाद(Scientific Socialism)को कार्यक्रम साथ अघि बढिरहेका थिए भने हिटलरहरु राष्ट्रिय समाजवाद (National Socialism or Nazism) को कार्यक्रम अनुसार अघि बढिरहेका थिए । त आखिर राष्ट्रिय समाजवाद(National–Socialism) के हो ? यसबारे संक्षिप्त रुपमा उल्लेख गर्न खोजिएको छ ।
राष्ट्रिय समाजवादको विचार(Ideology) Adolf Hitler-National Socialist German Workers” Paaty-NSDAP_ ले सन १९३३ मा विकास र ब्यवहारिक रुपमा प्रयोग गरेका थिए । यो विचार यहूदी विरोधी(antisemitism) तथा बंशवाद(racism)मा आधारित विज्ञान हो । उनीहरुले आर्यन वा नरोदनिकको सेवा गर्ने उद्येश्यमा आधारित सजातीय समाज(Homogeneous society) लाई स्थापित गर्न राष्ट्रिय एकताको नारा तय गरे । नाजिहरुले रगत र भूमि (Blood & Soil)को सिद्धान्त अनुसार जर्मन भुगोलको विस्तारका लागि प्रयोग गर्यो । यसका निम्ति हिटलरले One blood, One Nation को slogan नै तयार गरे । माक्र्सवादी अवधारणामा विकास भएको समाजवाद तथा विश्व नागरिक अन्तर्राष्ट्रियतावाद(Cosmopolitan internationalism)का साथै स्वतन्त्र बजार पूँजीवादका विरुद्ध नीजि सम्पत्ति र आर्यन नीजि व्यापार स्वामित्वको रक्षाका निम्ति राष्ट्रिय समाजवादको विचारलाई आधारको रुपमा प्रयोग गरेका थिए । यिनीहरुले माक्र्सवादीहरुले अघि सारेको अन्तर्राष्ट्रिय वर्गसंघर्षको विरुद्धमा राष्ट्रहरुबीच वर्गसंघर्ष(class struggle between nations) को नीति लिए । सम्पन्न र विकसित राष्ट्र(plutocratic nation) र जर्मनबीचको संघर्षले मात्र जर्मन जस्तो सर्वहारा राष्ट्रले आफ्नो देशको वर्गसंघर्षको समाधान निकाल्छ भने अबधारणामा आधारित विचार नै राष्ट्रिय समाजवाद हो ।
अन्तमा, माओवादी आन्दोलनमा कार्यदीशा समृद्धिकरण तथा विकास गर्नु पर्ने बहससँगै मालेमावादी मूल्य मान्यता र सिद्धान्तमाथि साम्राज्यवाद, विस्तारवादले चौतर्फी हमला गरिरहेको छ । त्यसरी नै दक्षिणपन्थी अवसरवाद र नवसंशोधनवादी धाराद्धारा पनि हमला हुदै आईरहेको छ । यसको पछिल्लो कडिको रुपमा नवसंशोधनवादकोे पुच्छर प्रवृत्तिको हमला पनि यसैसँग सन्निहित हुन पुगेको छ । नयाँ जनवादी क्रान्ति र बैज्ञानिक समाजवादको विकल्पमा अघि सारिएको राष्ट्रिय जनवाद(National Democracy) र राष्ट्रिय समाजवाद(National Socialism)को विषय पनि दक्षिणपन्थी नवसंशोधनवादी विचलन कै निरन्तरता हो । कार्यदीशाको समृद्धिकरण वा विकासको अर्थ मालेमावादी विज्ञानको विस्थापन वा खारेजी होइन बरु यसको आधारभूत सिद्धान्तलाई दृढतापूर्वक आत्मसात गर्दै विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुसार अध्ययन र अन्वेषणको माध्यमबाट क्रान्ति र वर्गसंघर्षमा सहि ढंगबाट प्रयोग हो ।
समाप्त
लेखक
सुरेश श्रेष्ठ(क.प्रवेश)
२०७३ असार २२