सुकुम्वासीमाथि बर्बरताको लाठी, पुलिसले बारीका बारी मकै फाँडे

सुकुम्वासीमाथि बर्बरताको लाठी, पुलिसले बारीका बारी मकै फाँडे

असार २२ गते सर्लाही,  जिल्लाको ढुङरेखोला गाविसको सुकुम्बासी बस्तीमा गएको रातीदेखि कफ्र्यू जारी छ । हिजो मंगलबार दिउँसो सुकुम्बासी र प्रहरीबीच झडप भएपछि पचासौं राउण्ड गोली चलाएर ४ जनाभन्दा बढिलाई गम्भीर घाइते बनाएको छ । भिडन्तमा अरु दर्जनौं स्थानीय घाइते भएका छन् । त्यहाँ अहिले सरकारी आतङ्क छाएको छ ।

ढुङ्रेखोला गाविस वडा नम्बर ७ र ८ मा रहेको सुकुम्बासी वस्तीमा यही असार २० र २१ गते त्यहाँकोे जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा प्रहरी परिचालन गरी मकैबाली नष्ट गरिन थालिएपछि स्थानीय र प्रहरीबीच भिडन्त भएको थियो ।
सर्लाही जिल्लामा बागमति, लखन्ती र फूल्जोर जस्ता तीनवटा खोलाबाट २०४९÷५० सालमा ती नदी वरपरका आवाद बस्तीहरु बगाएपछि सुकुम्वासी बनेका स्थानीय जनताहरु यो सार्वजनिक जग्गामा बस्दै आएका हुन् । विगतमा पनि पटक पटक सुकुम्बासी उठाउन गरिएको सरकारी प्रयासलाई स्थानीय जनताले कहिले सहमति त कहिले सङ्घर्ष गरेर स्थगित गर्न बाध्य गराएका थिए ।

तर सरकारी पक्षबाट कानुन बमोजिम सुकुम्वासी बस्तीहरु अन्यत्र सार्ने वा त्यहीँ बसाल्ने आश्वासन पाएपछि स्थानीय जनताले दशकौंदेखि खनजोत गर्दै आएको जग्गामा अहिले पनि बर्खेबाली मकै लगाएका थिए । विगतमा सरकारी पक्ष र सुकुम्बासी बीच पटकपटक भएका वार्ता र सहमतिमा पनि सरकारले सुकुम्बासीप्रति लचिलो नीति अपनाउने कुरा बारम्बार दोहर्याइएको थियो ।

तर हिजोको घटनापछि सरकारले विगतको सहमति तोडेको र स्थानीय जनतामाथि दमनमा उत्रिएको भनेर स्थानीयले आक्रोश पोखिरहेका छन् । आफ्नै नागरिकमाथि गरिएको बर्बतापूर्ण कार्यले जनतालाई निकै तर्साएको बताइएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारीको जनतालाई आश्वस्त पार्ने भन्दा पनि तर्साएर तह लगाउने भन्ने योजना रहेको उनका अभिव्यक्तिबाट सजिलै बुझ्न सकिन्छ ।
तर स्थानीय जनता भन्छन्– ‘विना विकल्प हाम्रो छाकबास खोस्न पाइँदैन’ ।