कोशी व्यारेजमा आतङ्कवादीहरुको हमलाको खतरा भनी भारतीय पक्षले नेपाललाई गरेको पत्राचारभित्र गंभीर प्रकृतिको आशय लुकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एक प्रेस विज्ञप्ति जारी गरेका छन् । यस पालीको सघन वर्षाको कारणले कोशी नदीमा पानीको मात्रा निकै बढेको र नेपाली भूभाग अर्थात् तराइका स्थानीय वासिन्दा लगायत भारतको विहारस्थित स्थानीय जनता सबै सन्त्रस्त रहेको बेला भारतीय पक्षबाट यस्तो प्रकारको गैर जिम्मेवार र खराब मनशाय लुकेको पत्राचार भएपछि किरणले यो विज्ञप्ति जारी गरी गंभीर आपत्ति प्रकट गरेका हुन् । यसबारेमा सरकार मौन रहनु अझ आश्चर्यको विषय रहेको उनको ठहर छ ।
प्रेस विज्ञप्तिको सुरुमा भनिएको छ– ‘भारतको विहार सरकार अन्तर्गतको एकजना जिल्ला अधिकारीले आफ्नो मातहतको एकजना कर्मचारीलाई ३ जुलाई २०१६ मा पठाएको आदेशात्मक पत्रका आधारमा उक्त कर्मचारीले नेपालको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई त्यसको भोलिपल्ट सिधै पत्राचार गरेर भारत सरकारले आतङ्ककारी भनेर घोषणा गरेका तीनवटा सङ्गठनहरुका साथै नेपालका माओवादी पार्टीलाई समेत लक्षित गरी पत्राचार गरिएको छ ।’
नेपाल एक सार्वभौम राष्ट्र हो । भारत र नेपालबीचमा कुटनीतिक सम्बन्धहरु कायम रहिआएका छन् । तर भारतीय मिचाहा प्रवृत्तिका कारण बेलाबेलामा यस्ता अपमानजनक व्यवहारहरु नेपालीहरुमाथि दोहरिइरहने गरेका छन् । नेपालको भूमिमाथि गिद्देदृष्टि लगाउंदै आएको भारत र यसका मातहतका कर्मचारीहरुको अभद्र र अमर्यादित व्यवहारको यो कुरुप अभिव्यक्ति पनि हो ।
भारतको विहार राज्यको एउटा जिल्ला अधिकारीको आदेशमा नेपालको एउटा जिल्लाको प्र.जि.अ. लाई यसप्रकारको पत्राचार गर्नु नेपालको आन्तरिक मामिलामा सिधै हस्तक्षेप हो । हाम्रो पार्टी यसको भत्र्सना गर्दछ ।’
भारतीय पक्षबाट पठाइएको पत्रलाई जस्ताको तस्तै उद्धृत गर्दै किरणद्वारा प्रेसित विज्ञप्तिमा लेखिएको छ – “लश्कर–ए–तोयबा, जैश–ए–मोहमद तथा पाकमूलका इण्डियन मुजाहिद्दिनद्वारा महत्वपूर्ण प्रतिष्ठानहरूलाई लक्षित गर्ने योजना बताइएको छ । छिमेकी देश नेपालमा राजनीतिक नेताहरूद्वारा भारतविरोधी गतिविधिलाई मध्यनजर गर्दै प्रमुख प्रतिष्ठानहरुको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनिक सतर्कतामूलक एवम् सुरक्षात्मक कारवाही आवश्यक छ ।”
यो भनाइको तात्पर्यलाई इंगित गर्दै किरणले विज्ञप्तिको मध्यपृष्ठमा लेख्छन्– ‘अस्थिरता एवम् माओवादी को कोशी ब्यारेजमा आतङ्कवादी हमलाको खतरा भनी भारतले गरेको पत्राचारसम्बन्धी विभिन्न सञ्चार माध्यममा आएको समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण गरेको छ । त्यसमा माओवादी शब्दको उल्लेख के र कुन आधारमा गरेको हो त्यो झनै जति भत्र्सना गरेपनि अपुग हुनेछ । भारतको विहार राज्यको एउटा जिल्ला अधिकारीको आदेशमा नेपालको एउटा जिल्लाको प्र.जि.अ. लाई यसप्रकारको पत्राचार गर्नु नेपालको आन्तरिक मामिलामा सिधै हस्तक्षेप हो । हाम्रो पार्टी यसको भत्र्सना गर्दछ ।’
छिमेकी सार्वभौम राष्ट्रहरु एकअर्काको सार्वभौमसत्तालाई सम्मान गर्दै गरिने द्वीपक्षीय व्यवहारलाई भारतले नबुझेको होइन होला । तथापि यसलाई स्मरण गराउंदै विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘भारत सरकाले नेपाल सरकारलाई यदि यसप्रकारको सुरक्षासम्बन्धी कुनै गोप्य सूचना दिनु थियो भने त्यो भारतको विदेश मन्त्रालयले कमसेकम पनि राज्य निकायमार्फत नेपालको परराष्ट्र मन्त्रालयमार्फत दिइनुपर्दथ्यो । तर भारतको एउटा राज्य सरकारको तल्लो निकायबाट यो कुरा आउनुले नेपालमाथि हस्तक्षेप गर्ने प्रवृत्ति कति तलैसम्म रहेछ र त्यसले कतिसम्म प्रोत्साहन पाइरहेको रहेछ भन्ने कुराको भने एउटा ठोस उदाहरण हो ।’
नेपालको राज्यसत्ता सम्हालेका र सम्हाल्न तयार भएकाहरुलाई एक गम्भीर प्रश्न गर्दै विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘भारतको विहार राज्यको एउटा तल्लो निकायमार्फत् नेपालका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा आफूले लिने मनसायले यसप्रकारको गम्भीर सुरक्षासम्बन्दधी हल्ला फिंजाएर नेपालमा एउटा त्रासको वातावरण सिर्जना गरिएको हुन सक्ने सम्भावनालाई नकार्न सकिंदैन । भारतबाट भएका यी सबै हरकतको उचित जबाफ फेर्दै आफ्ना भनाइसमेत सार्वजनिक गर्न हामी नेपाल सरकारसंग जोडदार माग गर्दछौं ।’