वैद्यद्वारा कार्यकर्तालाई उद्धार तथा राहतमा जुट्न निर्देशन

वैद्यद्वारा कार्यकर्तालाई उद्धार तथा राहतमा जुट्न निर्देशन

Kiran

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले देशैभरका आफ्ना कार्यकर्ताहरुलाई बाढीपहिरो जस्ता प्राकृतिक विपद्को यस घडीमा जनताका साथमा रहन र जनसेवामा जुट्न निर्देशन गरेको छ । नेता तथा कार्यकर्ताहरुलाई पहिले जतिसक्यो उद्धारका कामहरुलाई प्राथमिकतामा राखेर अघि बढ्न र त्यसपछि राहतका कामा जुट्न भनेको छ ।

पार्टी अध्यक्ष वैद्यले आन्तरिक सर्कुलर गरी यस्तो खाले निर्देशन दिएको केन्द्रीय कार्यालयका सचिव कृष्णभक्त महर्जन कगेन्द्रले बताएका छन् । उनका अनुसार अध्यक्ष वैद्यले देशभरका नेता तथा कार्यकर्तालाई फोन मार्फत् संपर्क गरी घटेका घटनाहरुको सत्यतथ्यबारे जानकारी समेत लिएका थिए । बुधवार बुद्धनगर कार्यालयमा उनी सबैसंगको भेटघाट र संपर्कमा व्यस्त थिए ।

देशभारबाट लिएको सूचना र पत्रपत्रिकामार्फत् पाएको जानकारीका आधारमा कार्यालयमा उपस्थित सहयोद्धाहरुसंग समेत निकै गम्भीरताका साथ छलफल गरेका थिए । त्यसपछि कार्यकर्ता परिचालनका लागि तुरन्त एक आन्तरिक सर्कुलर जारी गरिएको थियो । सोअनुरुप आम जानकारीका लागि प्रेषित विज्ञप्तिमा समेत यसलाई दोहर्याउंदै भनिएको छ– ‘यस अवस्थामा आफ्नो क्षमताले भ्याएसम्म पीडित जनताको सेवा तथा उद्धार गर्न सबै पङ्क्तिका कमरेडहरूलाई पनि निर्देशित गरिन्छ ।’