नेकपा क्रान्तिकारी माओवादीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्को यस घडीमा राहत र उद्धारका लागि शीघ्रातिशीघ्र पहल गर्न सरकारसित विशेष आग्रह गरेको छ । ओली सरकार कामचलाउ सरकारको रुपमा रहेको र नयां सरकार गठन नभइसकेको यो संक्रमणकालीन अवस्थामा आइलागेको प्राकृतिक विपद्को सामना र त्यसको यथाशक्य व्यवस्थापनका लागि क्रान्तिकारी माओवादीले यस्तो आग्रह गरेको हो । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोेहन वैद्य किरणद्वारा हस्ताक्षरित वक्तब्यमा उक्त कुरा जनाइएको छ ।
नेपाल मनसुनी वर्षाको घर नै हो । यो नेपालको भूगोल, माटो, भूधरातल, जनजीवन यी सबै तदनुकूलको रहिआएको छ । तर बेलाबखतमा आवश्यकताभन्दा बढि पानी पर्नाले ठूलो धनजनको क्षति हुने पनि गरेको पनि छ । उसै त बारम्बार भूकम्पले जर्जर बनाएको कच्चो भूधरातल त्यसमा अझ यो सालको अधिक वर्षा । यसले अनपेक्षित क्षति पुर्याएको छ ।
यहाँ चाहे निरङ्कुश शासक होऊन् वा आफूलाई प्रजातन्त्रका मसिहा वा खांटी कम्युनिस्ट बताउनेहरु, सत्ता र सरकारमा जोसुकै रहेपनि उनीहरूद्वारा देश र जनतालाई बाढी, पहिरो, भूक्षय, डुबान, नदी कटान लगायतका प्राकृतिक प्रकोपबाट बचाउनेतर्फ सचेत र योजनाबद्ध रुपमा कुनै ठोस पहल भएको पाइदैन ।’
यसलाई सम्बोधन गर्दै वक्तब्यमा भनिएको छ– ‘नेपाल अनुकूल मौसम र मनसुनको प्रतीक्षामा भरपर्दै आएको देश हो । यहाँ चाहे निरङ्कुश शासक होऊन् वा आफूलाई प्रजातन्त्रका मसिहा वा खांटी कम्युनिस्ट बताउनेहरु, सत्ता र सरकारमा जोसुकै रहेपनि उनीहरूद्वारा देश र जनतालाई बाढी, पहिरो, भूक्षय, डुबान, नदी कटान लगायतका प्राकृतिक प्रकोपबाट बचाउनेतर्फ सचेत र योजनाबद्ध रुपमा कुनै ठोस पहल भएको पाइंदैन ।’
नेपालमा बारम्बार सरकार परिवर्तन गरिन्छन् । तर देश र जनताका इच्छा र आकांक्षाहरुलाई संबोधन गर्न होइन, विदेशीका स्वार्थसिद्धिका लागि र नेपालका व्यक्तिवादी नेताहरुलाई प्रधानमन्त्री बनाउनका लागि मात्र । त्यसैलाई इंगित गर्दै वक्तब्यमा भनिएको छ– ‘तराई-मधेसमा भारततिर दशगजा क्षेत्रमा नदीमा बाँध बाधिनुको कारण वस्तीका वस्ती डुबान र जलमग्न अवस्थामा रहेका छन् । अन्यत्र पनि डुबानका समस्या गम्भीर बनेका छन् । नेपाली जनताले यसप्रकारका प्राकृतिक विपत्ति र प्रकोपबाट समेत पीडित बन्दै आउनु परेको छ । यो वर्ष पनि बाढी, पहिरो, भूक्षय, डुवान र नदी कटानबाट नेपालमा जनधनको ठूलो क्षति हुन गएको छ । हालै मात्र देशमा बाढी, पहिरोबाट झण्डै तीन दर्जनभन्दा बढीको मृत्यु र २ दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।’
वक्तव्यको अन्त्यमा भनिएको छ– ‘यस स्थितिमा पार्टी अपार जनधनको ठूलो क्षति भएकोमा सम्बन्धित सबैप्रति हार्दिक श्रद्धाञ्जली, समवेदना तथा सहानुभूति व्यक्त गर्दछ । र, यस प्रकारको विपद्को घडीमा राहत र उद्धारका लागि शीघ्रातिशीघ्र पहल गर्न सरकारसित विशेष आग्रह गर्दछ ।’