
कमरेड लेनिनको मात्र सपना जलाएँन प्रचण्डले लेनिन जस्ता हजारौ गरिब दिनदुखी परिवारजनको दिनरात मन रुवायो बलिन्धर आसुँका मुलहरु फुटिरहे न सास पाए न लास पाए भन्नुस् ???
उनको नाम बुबा आमाले सानैमा लेनिन राखिदिए । माओवादी युद्धको राप र तापका बेला उनी किशोरवयमा प्रवेश गरे । सबैले उनलाई माओवादी ठान्थे । किनकी उनको नाम विश्व चर्चित कम्युनिष्ट नेता लेनिनसँग मिल्थ्यो । नामकै कारण उनले माओवादीका बारेमा चासो राख्न थाले ।
१२-१३ बर्षको कुत्कुते उमेर थियो । उनी भर्खर ६ कक्षा उक्लंदै थिए । बिदाको समय भएकाले उनी हेटौंडा मावली गएका थिए । घुम्दै जाँदा उनी माओवादीको कार्यक्रम भएको ठाउँमा पुगे । शरीरमा काँडा उमार्ने भाषण सुनेपछि उनको शरीरमा तातो रगत जोडले बग्न थाल्यो । उनले निधारमा रातो टिका लगाए । रातै कपन बाँधे र कसम खाए । काभ्रे घर भएका लेनिन मावली गाऊंबाटै माओवादीमा हानिए । उनिसँगै अरु ४ जनापनि माओवादीमा प्रवशे गरे ।
२०५९ सालदेखि माओबादीमा प्रवेश गरेका लेनिनले कहिल्यै नदेखेका बस्ती चहारे । जोखिमपूर्ण समयसँग लुकामारी गरे । मृत्युका सामुन्नमा पनि उनि भविश्य देख्ने भए । मर्दापनि मुक्ति पाइने क्रान्तिकारी जोशले उनी रोमाञ्चित हुन्थे । सँगैका साथी ढल्दापनि उनी निर्भय रहन्थे ।
माओवादीको जनमुक्ति सेनाका रुपमा उनले ४ बर्ष बिताए । २०६३ सालमा शान्ति सम्झौता भयो । माओवादीले बन्दुक बिसायो । लेनिन क्यान्टोनमेन्टमा थन्किए । लेनिनजस्तै कम्तिमा पनि ४ हजार ९ बालबालिका माओवादीले युद्धमा प्रयोग गरेको रेर्कडमा देखियो । २०६६ माघ १० गते उनि र उनीजस्तै बाल लडाकुलाई अयोग्य भनि क्यान्टोनमेन्टबाट बिदाइ गरियो । हातमा दश हजार र काँधमा झोला लिएर लेनिन फर्के । युद्धमा छँदा रोमाञ्चित भएको उनको मन घर फर्कदा भारी भएको थियो । हजार सपना देखाइएका उनलाई अयोग्यको बिल्ला भिराइएको थियो । मुक्ति या मृत्युको बाटो हिडाइएका उनको हातमा नत मृत्यु पर्यो नत मुक्ति नै भेटियो ।
युद्धमा लाग्दा कुमालेको काँचो माटो थिए लेनिन । जे भन्यो त्यही गर्थे । स्वविवेक भन्ने थिएन । कमाण्डरले गर्न भनेका कुरा धेरै गरे । मर्न र मार्नपनि पछि परेनन् । उनी भन्छन्, ‘ म जस्ता हजारौ लडाकुहरु सिद्धान्त नबुझिकन ज्यानको बाजी राखेर युद्धको मैदानमा होमिए, आफ्नो ज्यान दिए । अहिले नेताहरु परिवारमा केन्द्रीत भए । नेताको बचनमा भविश्य देख्ने हामी यता न उताका भयौं ।’
प्रेम र युद्धमा सबै कुरा जायज भन्ने अंग्रेजी युक्ति एभ्रिथिङ इज फयर इन लभ एण्ड वार धेरैले प्रयोग गर्ने गर्दछन् । यसो भन्दैमा प्रेम र युद्ध नियमरहित हुन्छन् भन्ने होइन । युद्धमा कम्तिमा पनि बालबालिकाको प्रयोग गर्न पाइदैन । युद्धको नियम विपरित लडाकु बनाइएका लेनिन अहिले बर्हिगमित लडाकुहरुको संगठनमार्फत हिसावकिताव खोजिरहेका छन् । उनी डरलाग्दो बोलि बोल्छन् । भन्छन्, ‘युद्धको बदला युद्ध । जीबनको बदला जीबन ।’ मैलै यस्तो नगरौला, तर पार्टीबाट म जस्ता हजारौलाई यस्तै सिकाएको छ, उनीहरुले बाकी छोड्नेछैनन् ।
समाजको उपेक्षा
लेनिन चितवनको शक्तिखोरस्थित माओवादी सेनाको शिविरमा तीन वर्ष बसे । त्यो समयमा उनी जनमुक्ति सेनाकै रुपमा ब्यारेकमा थिए । १३ वर्षकै उमेरमा माओबादीमा प्रवेश गरेका उनी लक्काजवान भईसकेका थिए । २०६६ माघ १० गते उनलाई ‘अयोग्य’ भनेर निकालियो ।
अयोग्य घोषित उनलाई समाजले राम्रो मानेन । अयोग्यका रुपमा हासिमजाकको पात्र बने । सँगै पढेका साथीभाइ क्याम्पस जान थालिसकेका थिए । ब्रुर्जुवा शिक्षाको के काम भन्दै युद्धमा हिडाइएका उनको शीर निहुंरिन थाल्यो । उनि भन्छन ‘ म जस्ता हजारौ साथीहरुले समाजको अवहेलना सहन नसकेर आत्महत्या गरे । मानसिक सन्तुलन गुमाए । ’
लेनिन नेताहरुसँग प्रश्न गर्छन । नेताहरु परिवारमा गुंड लगाएर बसेको देख्दा उनको मन पोल्ने गर्दछ । कैयौंको परिवार तहसनहस पारेका नेताहरु परिवार केन्द्रीत भएको देख्दा उनलाई असह्य हुने गर्दछ । लेनिन प्रश्न गर्छन ‘ प्रचण्ड, बादल, बैद्य, विप्लव, बाबुरामहरुले हाम्रो जिम्मा लिने पर्दैन ? म जस्ता हजारौको सपना प्रचण्डले जलाएका हुन । उनी दोहोरिएर प्रधानमन्त्री हुँदैछन् । हामीले के पायौं ?’
२०६८ सालमा लेनिनसहितका केही अयोग्य लडाकुले पेरिसडाँडामा धर्ना दिए । माओवादीभित्रैबाट माओवादी नेताहरुको खुलेयाम विरोध भएको सो घटनाले संचारमाध्यमको ध्यान खिच्यो । त्यसमाथि पूर्व लडाकुको विषय झनै संवेदनशील थियो । समुहको नेतृत्व गरेका लेनिन रातारात हिट भए । त्यसै मेसोमा जन्मियो ‘बर्हिगमित जनमुक्ति सेना’ ।
लेनिन भन्छन्, ‘कुनै बेला ‘कमान्डर’ को आदेश सुनेकै भरमा मर्न र मार्न तयार भइयो, आज हाम्रो मर्का सुनिदिने पनि यहाँ कोही छैन । हामी के गर्छौं हामीलाई नै थाहा छैन । हामीले जानेको बन्दुक चलाउन हो ।’
दुबै पक्ष असुरक्षित
पहिचान र रोजगार मागेकै कारणले आफुहरु आफ्नै पार्टीबाट असुरक्षित रहेको लेनिन बताउंछन् । पार्टीको तारो बनेको उनले अनुभव गरेका छन् । उनले एक बर्ष जेलमा बिताइसकेका छन् । लेनिन भन्छन् ‘कहिले फकाउँछन, कहिले धम्क्याउँछन, तर हामी हाम्रो मागमा प्रतिबद्ध छाैं, कसैको लोभलालचमा फस्दैनौं । धम्कीले पनि डराउंदैनौं ।’
लेनिन युद्धमा छँदा भनिएको थियो, ‘मागेर अधिकार पाइंदैन । खोसेर लिनुपर्छ । बन्दुकको भरमा चलेको राज्यसत्ता बदल्न बन्दुक नै उठाउन पर्छ ।’ उनले राज्यसत्ता परिवर्तन भएको महशुश गरेका छैनन् । नेतामात्रै परिवर्तन भएको देखेका छन् । अब के गर्ने ? उनको मनमा खेलिरहेको छ । लेनिन प्रश्न गर्छन्, ‘पूर्व लडाकुको यो साझा प्रश्न हो । नेता परिवर्तन हुने, कोही प्रधानमन्त्री हुने, कोही उपराष्ट्रपति हुने, कोही सभामुख हुने, कोही मन्त्री हुने तर हामी भने अयोग्य नै रहिरने ?’ खतरा दुबै तिर रहेको लेनिनको भनाइ छ, ‘हाम्रा नेता राज्यसत्तामा पुगे । हामीलाई राज्यसत्ताका विरुद्धमा लड्न सिकाएर छोडे । हामीलाई उहाँहरुको र उहाँहरुलाई हाम्रो खतरा छ ।